पर्यटक नै लागिपरे पर्यटन प्रबर्द्धनमा

पर्यटक नै लागिपरे पर्यटन प्रबर्द्धनमा
हिमालपारीको जिल्ला मनाङको चामेस्थित चट्टानी पहाडमा रक क्लाइम्बिङ गर्दै। तस्बिर सौजन्य : लुडोभिक जियाम्बियासी
सुन्नुहोस्

पोखरा : फ्रान्सका लुडोभिक जियाम्बियासी नेपाल निकै मन पराउँछन्। यहाँका उच्च हिमाल, चट्टानी पहाडले उनलाई निकै तानेको छ। यसैले त उनी २५ पटक नेपाल आउजाउ गरिसकेका छन्। 

सन् २००७ मा पहिलोपटक नेपाल आएका ४२ वर्षीय लुडोभिक त्यसपछि पटक–पटक नेपाल आए। यहाँका चट्टानी पहाडमा नेपालको पर्यटन विकास गर्ने सोच बनाए। विश्वकै उच्च हिमाल सगरमाथाको देशमा हिमालमात्र होइन चट्टानी पहाडका माध्यमबाट पनि पर्यटकलाई आकर्षित गर्न उनले योजना बनाए। 

सन् २००७ मा पहिलोपटक नेपाल आएर खुम्बु क्षेत्रका पदायात्रा गरेका लुडोभिकले मनास्लु, धौलागिरि, अन्नपूर्णलगायत धेरै हिमाली र पहाडी क्षेत्रको पदयात्रा गरेका छन्। फ्रान्सको क्याप सहरका लोडोभिकले आफ्नो देशका विभिन्न स्थानमा रहेका अग्ला चट्टानमा बोल्ट कसेर रक क्लाइम्बिङ गर्न मिल्ने गरी तयार पारेको अनुभव थियो। नेपालका निकै सुन्दर र रक क्लाइम्बिङका लागि उपयुक्त अग्ला चट्टानमा त्यस्तो कुनै गतिविधि नभएको देखेपछि उनलाई पर्यटक आकर्षण गर्ने गरी रक क्लाइम्बिङका लागि आवश्यक पूर्वाधार बनाउने रहर जाग्यो। 

यो उनको नेपालप्रतिका मायालाई फ्रान्सको एउटा संस्थाले सघायो। त्यसपछि उनी आफ्नो साथी लुडोभाइनसँगै नेपाल आएर हिमालपारिको जिल्ला मनाङका चामेबजारमा रहेको चट्टानी पहाडलाई पहिलो रोजाइमा पारेर हालै पूर्वाधार तयार पारेका छन्। १५० मिटर अग्लो चट्टानी पहाडमा डोरीको सहायताले चढ्ने गरी पूर्वाधार तयार पारिएको हो। 

विश्वकै उत्कृष्ट पदायत्रा क्षेत्रअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्रको चामे बजारमा बनाइएको रक क्लाइम्बिङ पूर्वाधार बनाउन तीन हप्ता लागेको उनले सुनाए। यस अभियानमा उनकी साथी लुडोभाइन र नेपाली चेली पञ्चमाया तामाङले पनि साथ दिए। रक क्लाइम्बिङको पूर्वाधार बनाउन नेपाल पर्यटन बोर्डले पनि आर्थिक सहयोग गरेको छ। नेपाल पर्वातारोहण संघ गण्डकीले पनि सघाएको बताइएको छ। 

नेपालमा रक क्लाइम्बिङ पर्यटनको भविष्य राम्रो देखेका लुडोभिक यत्तिमै रोकिँदैनन्। उनी अर्को वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रकै फु गाउँमा रहेका चट्टानी पहाडमा पर्यटकलाई लक्षित गरी पूर्वाधार तयार गर्दै छन्। यस क्षेत्रमा भने बिजुलीको सुविधा नभएको र अलि टाढा भएकोले खर्च बढी लाग्ने उनले सुनाए। योजना बनाइसकेका उनले अर्को वर्ष फेरि नेपाल आएर तयार पारी छाड्ने सुनाए। 

पोखरामा मंगलबार आयोजित कार्यक्रममा लुडोभिकले रक क्लाइम्बिङका लागि पूर्वाधार तयार पार्ने मात्र होइन चढ्न मन पराउने पर्यटकसमेत ल्याउने गरी प्रवर्द्धन पनि गर्ने सुनाए। रक क्लाइम्बिङ गर्न रुचाउने विश्वका १ सय ५० भन्दा बढी मुलुकका नागरिक रहेको उनले सुनाए। करोडौं मान्छे रक क्लाइम्बिङ गर्न रुचाउँछन्। उनीहरू फरक–फरक देश र ठाउँमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकोले पनि पर्यटक आकर्षित गर्न सकिने उनको बुझाइ छ। 

गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले प्रदेश सरकारले पर्यटन विकासका लागि यस्ता पूर्वाधार निर्माणमा सघाउने बताए। नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले यस वर्ष पर्यटन बोर्डले पनि सघाएको र आगामी वर्ष पनि यस्ता पर्यटकीय पूर्वाधार निर्माण र प्रबर्द्धन सघाउने सुनाए। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्वतारोहण गण्डकीका अध्यक्ष विकास गुरुङलगायतले पदयात्रा पर्यटनको साथसाथै रक क्लाइम्बिङ पर्यटनको विकासले पर्यटको बसाइँ थप लम्बिने बताए। यसका लागि पूर्वाधार निर्माणमा सरकारले सघाउनु पर्ने पर्यटन व्यावसायीको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.