गिट्ठा खोज्न जाने कि भोट हाल्न ?
भोट हाल्नेभन्दा पनि परिवारमा छाक टार्ने पिरलो छ उनीहरूलाई। दुःख गरेर भोट हाले पनि आफूहरूको भोकमरी नटरेको उनीहरूको गुनासो छ।
चितवन : ‘ऊ त्यो पारिको स्कुलमा हो भोट हाल्न जाने ठाउँ। यहाँबाट त्यहाँ पुग्न दुई घण्टा हिँड्नु पर्छ। गरिबको छोरो, सधैं भोट हाल्यो सधैं भोको बस्नुपर्छ। सरकारै देखेको छैन’, ९० वर्षका भोटेबहादुर प्रजा चेपाङले डाँडामा बसेर आफ्नो दुःखेसो यसरी सुनाए।
डाँडापारिको स्कुल देखाउँदै त्यहाँसम्म पुग्नै अप्ठ्यारो भएको बताए। इच्छाकामना गाउँपालिका–१ साप्रेनीको पारिपट्टिको गाउँ कोलभन्ज्याङ पुग्न दुई घण्टा लाग्छ। गत मंसिरमा भोट हाले। फेरि भोट हाल्न जाने कुराले उनी रिसाए पनि।
इच्छाकामना गाउँपालिका–१ स्थित साप्रेनीका चेपाङलाई भोट हाल्न दुई घण्टा हिँड्नु पर्छ। भोट हाल्नेभन्दा पनि परिवारमा छाक टार्ने पिरलो छ उनीहरूलाई। दुःख गरेर भोट हाले पनि आफूहरूको भोकमरी नटरेको उनीहरूको गुनासो छ। ‘भोट दिने भन्यो सधैं भोको पेट बस्नुपर्छ। सरकारले गर्ने होला भन्यो सरकारै देखेको छैन,’ उनले भने, ‘भोट हाल्न मन छ, तर खानेकुरा छैन। जंगलमा गिठ्ठा खोज्न जाने कि भोट हाल्न जाने ?’ उनी सधैं भोट हाल्छन् तर केही परिवर्तन नभएको गुनासो गर्छन्।
चेपाङ गाउँमा खाद्यान्न अभाव छ। उनीहरू अहिले मकै गोड्न थालेका छन्। जेनतेन फलेको मकैले तीन महिना पनि पुग्दैन। अहिले छाक टार्ने पिरलो छ। जंगलमा गिट्ठा भ्याकुर खोज्ने कि भोट हाल्न जाने पिरलो छ। ‘६ महिना अनिकाल ६, महिना सहकाल छ। कुटो, कोदालो गर्ने हामीलाई चुनाव आएर के हुन्छ र ?’ ४० वर्षीय काजीमाया चेपाङले भनिन्, ‘चुनाव हुन्छ भनेको सुनेको हो, नेताहरू आएको छैन। भोट खसाएर केही हुन्न झंै लाग्छ। एक छाक खान, एक सरो लाउन पनि सपना जस्तै हुन्छ हामीलाई।’
कतिपयले उम्मेदवार चिनेकै छैनन्। चुनावभन्दा पनि खाद्यान्नको जोहो गर्न चटारो छ। दुई छाक पेटभरि खान उनीहरूको क्षमताले भ्याउँदैन। ‘चुनाव हुन्छ भन्ने सुनेको हो, भोट ठूलै होला तर हामीलाई त जसरी पनि बाँच्नु ठूलो हो’, उनले भनिन्। काजीमायाका श्रीमान् नरबहादुर चेपाङ ५२ वर्षका भए।
उनी हरेक पटक भोट हाल्छन्। तर, उनले आफूले खसालेको भोटले ल्याएको परिवर्तन कहिले अनुभूति गर्न पाएनन्। चेपाङका लागि छाक टार्नु नै ठूलो कुरा भएको छ। ‘जित्नेले गरिबलाई राम्रो गर्छन् कि भन्ने आशाले भोट लगाउने हो, हामीलाई के गर्छन् होला भन्ने सोचेको छु। भोट सधैं हाले पनि केही भएको छैन’, उनले भनिन्। उनलाई रोजगार पाए आम्दानी हुन्थ्यो भन्ने लागेको छ।
चुनावै पिच्छे भोट हाल्दै आएका उनीजस्ता कैयौं चेपाङहरूको जीवनशैली कहिल्यै फेरिएन। चैत लागेपछि चेपाङको घरमा खाद्यान्न संकट सुरु भइसकेको चेपाङ अभियन्ता केपी किरण शर्माले बताए। ‘उनीहरूका लागि पेट भर्ने ठूलो कुरा हो,’ उनले भने, ‘चुनाव आउँछ जान्छ तर यिनीहरूका लागि कहिल्यै सुख आएन।’