मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : भोलि हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आचारसंहिता, २०७९, निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ आदिमा भएका कानुनी व्यवस्थाको पालना गरी-गराई देहायबमोजिम हुन सम्बन्धित मुख्य निर्वाचन अधिकृतमार्फत मतदान कार्यमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत सम्बद्ध कर्मचारीलाई आयोगले विशेष निर्देशन दिएको छ ।

आयोगले मतदातालाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाइ मतदान केन्द्रमा जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामान लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गरिएको जनाएको छ । 

निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारका प्रतिनिधिलाई अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने-गराउने, अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ । 

मतदान अधिकृतले दृष्टिविहीन वा शारीरिकरुपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफैँ मत सङ्केत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत सङ्केत गर्ने उपयुक्त व्यवस्था मिलाइने जनाइएको छ । 

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भइ मत सङ्केत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्ने निर्देशन गरिएको छ ।

यस्तै कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत सङ्केत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, सङ्केत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्रबाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्त व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गरिने आयोगले जनाएको छ । 

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई निरन्तरता दिने, मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कूल सङ्ख्या, खसेको मत तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने जनाइएको छ । 

मतदान प्रारम्भ भई सम्पन्न नभएसम्म कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउन पनि निर्देशन दिइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.