क्रिकेटमा फड्को
घरेलु भूमिमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा पनि हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। ब्याटिङ र बलिङ दुवैमा हरेकले आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। उनीहरूको जोस, जाँगर र उत्साह अनि समर्थकको साथ, सहयोगले नै पछिल्ला १४ मध्ये १३ खेलमा जित हासिल भएको छ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा भएको शृंखलामा नेपालले पराजय बेहोरेपछि नेपाली क्रिकेट समर्थकमा निराशा छाएको थियो। खेलाडीमा पनि आफ्नो भविष्यलाई लिएर चिन्ता देखिएको थियो। एक किसिम नेपाली क्रिकेटको भविष्य नै अनिश्चयतर्फ उन्मुख थियो। हामीले त्यही बेला मोन्टी देसाईलाई नयाँ प्रशिक्षक ल्यायौं। उहाँ आएपछि लगातार सफलता मिलिरहेको छ। अझ भनौं अपेक्षा गरेभन्दा नगरेका बेला प्राप्त सफलताले अपार खुसी दिने रहेछ। यस्तै खुसी क्रिकेटले दिइरहेको छ।
लिग २ का २४ खेल खेलिसक्दा नेपालले आठ खेलमा मात्रै जित हात पारेको थियो। नेपाल छैटौं स्थानबाट माथि उक्लिन सकेको थिएन। तत्कालीन कप्तान सन्दीप लामिछाने पक्राउ परेपछि त मैदानभित्र र बाहिर नेपाली क्रिकेटले साख नै गुमाउन पुगेको थियो। त्यस्तो अवस्थामा नेपालले शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउला भन्नेमा सबैलाई शंका थियो। शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा चयन होला भन्ने कसैले सोचेकै थिएनन्।
नेपालले एकदिवसीय मान्यता जोगाउन बाँकी १२ खेलमध्ये नौवटा जित्नै पर्ने थियो। शीर्ष तीनमा रहन ११ खेल जित्नुपर्ने थियो। त्यस्तो अवस्थामा प्रशिक्षक देसाई उद्धारकर्ता बनेर आउनुभयो। खेलाडीलाई उत्साहको जादु नै भरिदिनुभयो। उहाँकै नेतृत्वमा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्रै जोगाएन, विश्वकप क्वालिफायरमा पनि स्वतः छनोट भयो।
नेपालले उत्कृष्ट नतिजा ल्याइरहेको छ। हरेक खेलमा नयाँ–नयाँ खेलाडी नायक बनिरहेका छन्।
त्यसपछि नेपाली क्रिकेटको चर्चा संसारभर भयो। लिग २ अन्तर्गत घरेलु मैदानमा भएको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको अन्तिम खेलमा नेपालले २० हजारभन्दा बढी समर्थकमाझ ऐतिहासिक जितको खुसी साटेको थियो। यूएईलाई डकबर्थ–लेविस मेथडमा पराजित गर्दै नेपालले आगामी जुन–जुलाईमा जिम्बावेमा हुने ग्लोबल छनोटको यात्रा तय गरेको थियो। तर, त्योभन्दा पनि बढी समर्थकको भीड र रूखको टुप्पामा बसेर खेल हेरेको समाचारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा कमायो। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको विषयले पनि उत्तिकै चर्चा पायो।
देसाईंले खेलाडीलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँको ‘ह्यापी ड्रेसिङ रुम’कै कारण लगातार सफलता हात परेको हो। उहाँको अठोट, आँट, भरोसा र विश्वासलाई खेलाडीले पनि कुशलतापूर्वक निर्वाह गरेका छन्। हामीले प्रशिक्षकका मागलाई सकेसम्म कार्यान्वयन गरेका छौं। खेलाडी र प्रशिक्षक खुसी भएकै कारण लगातार राम्रो नतिजा आइरहेको छ। हाम्रा खेलाडीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए पनि ओपनिङ ब्याटिङ चिन्ताको विषय बनेको छ। पछिल्ला १४ खेलमा ओपनिङ जोडी दुई खेलमा मात्रै चल्न सकेको छ। यस्तै मध्यमक्रम पनि राम्रोसँग चल्न सकेको छैन। यो कुरालाई प्रशिक्षकले पनि राम्रोसँग नियालिरहनुभएको छ। तर, यस्तो अवस्थामा पनि नेपालले उत्कृष्ट नतिजा ल्याइरहेको छ।
हरेक खेलमा नयाँ–नयाँ खेलाडी नायक बनिरहेका छन्। घरेलु भूमिमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा पनि हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। ब्याटिङ र बलिङ दुवैमा हरेकले आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। अधिकांश खेलाडी युवा छन्। उनीहरूको जोस, जाँगर र उत्साह अनि समर्थकको साथ, सहयोगले नै पछिल्ला १४ मध्ये १३ खेलमा जित हासिल भएको छ। आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले पनि सम्मान गरेको छ। यस्ता सम्मान र पुरस्कारले नै खेलाडीको मनोबल उच्च बनाउन मद्दत गर्दछ।
एसीसी प्रिमियर कपमा उत्कृष्ट नतिजा निकाल्दै उच्च मनोबल लिएर नेपाली टोलीले आगामी कार्यदिशा निर्धारण गर्न सक्नुपर्छ। विश्वकप छनोट खेल पनि नजिकै आइसकेको छ। एसीसी प्रिमियर कपको प्रदर्शन र नतिजाले पनि विश्वकप छनोट खेलमा ठूलो मान्यता राख्दछ। एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सक्यौं भने विश्वकप छनोटमा पनि उच्च मनोबलका साथ उत्रन सक्नेछौं।
(चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष हुन्।)
प्रतिक्रिया दिनुहोस !