रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
रसुवा : जिल्ला अस्पताल रसुवाले आइतबारदेखि स्वास्थ्य बिमा सुरु गरेको छ।
सबै नागरिकलाई स्वास्थ्य बिमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बिमासम्बन्धी काम अघि बढाएको हो।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरे। बिमासम्बन्धी काम गर्न छुट्टै कार्यालय स्थापना भइसकेको छ।
बिमाले यथेष्ठ उपचार सेवा प्रदान गर्ने भएकाले सबै जनालाई कार्यक्रममा सहभागी हुन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले आग्रह गरे।
एउटा घरका पाँच जनासम्म परिवारका लागि एकमुष्ठ तीन हजार पाँच सय रुपैयाँ प्रिमियम बुझाएर बिमा गर्न सकिन्छ।
एक वर्षसम्म बहाल रहने बिमा कार्डले एक लाखसम्म रुपैयाँको औषधिसहित सबै प्रकारका उपचार एवं परीक्षण गर्न सकिन्छ।