सिङ्गापुरले कुवेतलाई दियो ११४ रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो।
काठमाडौं : राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको हो।
सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए। उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन्। त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
सिङ्गापुरलाई सहजै समेट्नेक्रममा कुवेतका कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले तीन विकेट झारे। त्यस्तै यासिन पटेल र अद्नान इड्रिसले समान एक एक विकेट लिए।
समूह बी मा रहेको सिङ्गापुर तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। कुवेत भने दुई खेलमा एकमा जित र एक खेलमा हार बेहोर्दै दुईअङ्कका साथ अङ्कतालिकाको चौँथो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस !