डा. स्वर्णिम वाग्लेको फराकिलो अन्तर

डा. स्वर्णिम वाग्लेको फराकिलो अन्तर
तनहुँ–१ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले मंगलबार दमौलीमा आयोजित धन्यवाद र्या‍लीमा सहभागी हुँदै । तस्बिर : रासस
सुन्नुहोस्

पोखरा : रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। गत मंसिरको निर्वाचनमा जितेका कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि भएको उपचुनावमा मतदाताले पाँच महिनामै मत परिवर्तन गरी वाग्लेलाई रोजेका हुन्। 

जुन निर्वाचन क्षेत्र कांग्रेसको गढ मानिन्थ्यो। तर, कांग्रेस छाडेर रास्वपामा प्रवेश गरी टिकट पाएका वाग्लेले जित हासिल गरेका छन्। वाग्लेले ३४ हजार ९ सय १९ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत पाएका छन्। यो भनेको १४ हजार ७ सय ९७ मतको अन्तर हो। एमाले उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४ सय ८८ मत पाएर तेस्रो स्थानमा आए। 

कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल आफ्नो पार्टीको हारलाई नेतृत्व तहमा गठबन्धन भए पनि कार्यकर्तामा नहुँदाको परिणाम ठान्छन्। पुराना पार्टीका भद्दा शैली र पुरानो ब्याज मात्र खान खोज्दाको परिणामका रूपमा पनि यसलाई आफूले लिएको उनको भनाइ छ। भने, ‘पार्टीमा समीक्षा हुन बाँकी नै छ।’ 

जनताको सेवामा दैनिक खटिँदै आएको, खानेपानी, सडक निर्माणमा काम गर्दै आएको योग्य उम्मेदवार कांग्रेसले उठाउँदा पनि मतदाताले पार्टी र नेतृत्वको शैलीको विरुद्धमा मतदान गर्दा यो नतिजा आएको उनको बुझाइ छ। 

उपनिर्वाचनको सन्देश अब पुराना पार्टीहरू सचिनुपर्छ भन्ने रहेको तनहुँ–१ का मतदाता कृष्णचन्द्र पाण्डेको भनाइ छ। जनताका समस्या बुझेर सम्बोधनमा लाग्नेभन्दा पनि नेताले दूरी बढाउँदै लगेका कारण पनि यो नतिजा आएको उनी बताउँछन्। 

‘लोकतन्त्र, गणतन्त्र पुराना दल र नेताकै कारण सम्भव भए पनि भ्रष्टाचार नियन्त्रण हुन सकेन। भ्रष्टाचारमा संलग्न जोसुकै होस् कारबाही हुनुपर्ने हो त्यो हुन सकेन’, उनले भने, ‘सुशासन र विकास जुन गतिमा हुनुपर्ने हो त्यो रूपमा नहुँदाको जनआक्रोश पनि हो।’ 
सबै पार्टीले जिल्लादेखि केन्द्रसम्मै जनताको आक्रोशअनुसार आफूलाई सुधारेर लग्नुपर्ने उनले बताए। रोजगारका अवसर नहुँदा विदेश पलायन हुने क्रम बढ्नु पनि जनआक्रोश रहेको उनले सुनाए। 

अहिलेको नतिजा कांग्रेस, एमाले, माओवादीले २०४६ सालको शैली अहिलेसम्म परिवर्तन गर्न नसक्नुको आक्रोश मान्छन् चूडामणि दाहाल। दाहाल स्थानीय निर्वाचनमा कांग्रेसबाट व्यास नगरपालिका–१ मा वडाध्यक्ष उठेर पराजित भएका थिए। उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्। 
कांग्रेसका उम्मेदवार जनतासँग भिजेका, जनताकै काममा निरन्तर लागिरहेका हुँदा हुँदै पनि पार्टीप्रतिको चरम असन्तुष्टिका कारण वाग्लेको जित सम्भव भएको उनले सुनाए। बेरोजगारी, भ्रष्टचार, महँगीले जनता उकुसमुकुस भएको अवस्थाको परिणाम पनि हो उनले बताए। क्षमतावान र योग्य कांग्रेस र एमालेका कार्यकता पार्टीभित्रैबाट सधैं पेलानमा पर्ने र उठ्नै नसक्ने अवस्था रहेकोले पनि कांग्रेस र एमालेकै कार्यकताको पनि विद्रोह पनि यो नतिजा आएको उनले सुनाए। आफूले ३० वर्षसम्म केही गर्न नसक्ने तर रवि लामिछानेले एक महिनामै केही गरेन भन्ने भनाइप्रति पनि जनताको आक्रोशका रूपमा पनि मतदाताले रास्वपालाई मतदान गरेको उनले बताए। 

माओवादी जिल्ला अध्यक्ष मदन आलेले उपनिर्वाचनको परिणाम अस्वाभाविक लागेको बताए। भने, ‘यस्तो परिणामको अपेक्षा गरेका थिएनौं।’ रास्वपाप्रतिको आकर्षणभन्दा पनि पुराना दलले गर्दैनन् भन्ने आक्रोश मतदानमार्फत पोखेको उनले सुनाए। उपनिर्वाचनको परिणामले पार्टीहरूले आफ्नो आचरण सुधार्नुपर्ने सन्देश दिएको उनले सुनाए। लोकतान्त्रिक पार्टीका विकल्प रास्वपा हो भन्ने अझै स्थिापित नभएको उनले बताए। जनतालाई आश्वासन मात्र होइन डेलिभरी दिनेतर्फ नेतृत्व लाग्नुपर्ने उनको भनाइ छ। ‘जनताले चाहेको सुशासन हो त्यसतर्फ नेतृत्वले ध्यान दिनुपर्छ’, उनले भने।  

उनका अनुसार अन्तर्राष्ट्रिय रूपमा चिनिएका, अर्थतन्त्र बुझेका आशालाग्दा युवा उम्मेदवार रास्वपाले उठाएकाले पनि पुराना पार्टीको कार्यशैली मन नपराई रहेका मतदाताले वाग्लेलाई रोजेका हुन्। नेपालको बिग्रिँदो सामाजिक र आर्थिक अवस्थालाई उनीजस्ता युवाले केही योगदान दिन सक्छन कि भन्ने आशा र भरोसा पनि मतदाताको रहेको नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारी बताउँछन्। जितपछि अब वाग्ले र लामिछानेको परिक्षा सुरु भएको पनि उनले सुनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.