४१औं ओभरमा नेपाल अल आउट, कतारलाई १५८ रनको लक्ष्य
दोस्रो ओभरमा ओपनर कुशल भुर्तेललाई दुई रनमा गुमाएको नेपालले चौथो ओभरमा दोस्रो विकेट गुमाएको थियो।
काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’को अन्तिम खेलमा नेपालले बिहीबार कतारलाई एक सय ५८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टिम क्रिजमा उत्रिएको थियो। खराब सुरुआत गरेको नेपालले अन्तिमसम्म सम्हालिन नसक्दा ४०.३ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ५७ रन मात्रै बनाउन सक्यो।
दोस्रो ओभरमा ओपनर कुशल भुर्तेललाई दुई रनमा गुमाएको नेपालले चौथो ओभरमा दोस्रो विकेट गुमाएको थियो।
वान् डाउनमा क्रिजमा उत्रिएका भीम सार्की ६ रन जोडेर पभिलियन फर्किएका थिए। यस्तै, अर्का ओपनर आसिफ शेख २७ बलमा १९ रन जोडेर आउट भएका थिए।
चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेल ३७ बलमा २७ रन जोडेर पभिलियन फर्के।
ललित राजवंशीसँग १०औं विकेटका लागि ४६ रनको साभेदारी गर्दै सन्दीप लामिछनेले नेपालका लागि सर्वाधिक ४२ रन जोडे। सन्दीपले ५८ बलमा ६ चौका प्रहार गर्दै जोड्दै नेपाललाई सम्मानजनक योगफलर्त डोर्याएका थिए।
त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालले ठूलो योगफल बनाउन सकेन।
कतारका लागि अमिर फारुकले सर्वाधिक चार तथा ओवाइस अहमदले तीन विकेट लिए। यस्तै, गयान मुनाविराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिए।
नेपाल सुरुआती चारमध्ये तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ। आजको खेलमा विजयी भए नेपाल समूह विजेता पनि बन्ने छ। सेमिफाइनलमा समूह एको विजेताले समूह बीको उपविजेता सँग खेल्ने छ।
प्रतिक्रिया दिनुहोस !