पर्यटनमा सम्भावनै सम्भावना

पर्यटनमा सम्भावनै सम्भावना

सरकारले योजना र नीति, पर्यटन क्षेत्रमा काम गर्ने संघ–संस्थाले त्यसमा सहकार्य र नागरिकले साथ दिनुपर्छ।

'अतिथि देवो भवः’ अर्थात् पाहुना देवताका रूप हुन्। नेपालीको संस्कार नै हो पाहुनाको न्यानो सत्कार र सेवा गर्ने। यही संस्कारले नेपाललाई विश्वमा फरक स्वरूपमा चिनाएको छ। अझै गौतम बुद्ध जन्मिएको देश, सीता र भृकुटीको जन्मस्थल भएकाले नेपाललाई हेर्ने दृष्टिकोण भिन्न छ नै। विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमशृंखलाले भरिएको र फरक जातजाति र भाषाभाषीको मिश्रण एकै मुलुकमा हेर्न पाइन्छ। त्यसैले विश्वका पर्यटक पाहुना बनेर नेपाल आइरहेका छन्-आउन रुचाउँछन्। यो नेपाल र नेपालीका लागि गर्व गर्ने विषय हो। नेपालको मुख्य सम्पत्ति नै पर्यटन हो।

नेपाललाई चाँडो विकास गर्नुपर्छ भने पर्यटन क्षेत्रको विकास गर्नुपर्छ। जसका लागि ठूला–ठूला नीतिनियम परिवर्तन गर्नेदेखि अर्बौंका योजना बनाइराख्नु पर्दैन। भएका कुराको सदुपयोग र त्यसको व्यवस्थापनलाई मात्रै ध्यान दिए पनि पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ। बर्सेनि लाखौं पर्यटक नेपाल भिœयाउन सकिन्छ। त्यसका लागि नागरिक, सरकार र पर्यटन क्षेत्रमा सक्रिय संघ–संस्था र व्यक्तिको एउटै लय भएमात्र पुग्छ।

सरकारले योजना र नीति, पर्यटन क्षेत्रमा काम गर्ने संघ–संस्थाले त्यसमा सहकार्य र नागरिकले साथ दिए नेपालले अर्थतन्त्र उकास्न राजस्व उठ्ने ठाउँमा मात्रै कडा गरेर सरकार बस्नु पर्दैन। पर्यटकबाट आउने रकमकै सदुपयोग गर्न भ्याइनभ्याइ हुन्छ। कोभिड महामारीपछि अहिले नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्कंदै छ। पर्यटकको रोजाइ नेपाल परिरहेको छ। अब यो सुनौलो अवसरको सदुपयोग गर्ने मुख्य समय आएको छ। तर, त्यसका लागि केही सुधार भने आवश्यक छ। त्यस विषयमा केही बुँदागत चर्चा गरौं।

पर्यटक प्रहरी : नेपाल हिमाल, पहाड र तराई तीनै क्षेत्रको भूगोल र हावापानी भएको देश हो। पहाडी र अझ हिमाली क्षेत्रका पर्यटकीय ठाउँमा यातायातको सुविधा छैन। ट्रेकिङ गाइडको भरमा पर्यटकले ती क्षेत्र पुग्नुपर्छ। सरकारले अझै पनि पर्यटकको सुरक्षाका लागि सबै स्थानमा पर्यटक प्रहरीको व्यवस्था गरेको छैन। यो मुख्य आवश्यकता हो। सबैभन्दा बढी पर्यटक आवतजावत गर्ने पूर्व–पश्चिम राजमार्गको कुनै पनि ठाउँमा पर्यटक प्रहरी नहुँदा पर्यटकलाई केही समस्या परे समयमा उद्धार हुन सक्दैन। चोकचोकमा राखिएका प्रहरी बिटले उनीहरूको भाषा नबुझ्ने हुँदा समस्या परिरहेको देखिन्छ। हिमाली र पहाडी क्षेत्रमा त यो विषय झनै जटिल छ। कम्तीमा प्रत्येक प्रहरी चौकी÷विटमा एक पर्यटक प्रहरीको व्यवस्था भए पर्यटकले सुरक्षित महसुस गर्छन्।

एकीकृत पर्यटन शुल्क : अहिले एक पर्यटकले नेपालका फरक–फरक स्थानको अवलोकन गर्दा करिब ७३ देखि ७५ डलरसम्म राजस्व बुझाउनुपर्छ। विकसित मुलुकमा राज्यले एक स्थानमा लिएको शुल्कले नै पर्यटकले मुलुकभरका पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्छन्। नेपालमा पनि एकमुष्ट शुल्क एक स्थानमा लिए मुलुकको अर्थतन्त्रमा फाइदा पुग्छ। जस्तै अहिलेको अवस्थामा कुनै पर्यटक काठमाडौंको दरबार क्षेत्र अवलोकन गर्दा त्यहाँ केही डलर राजस्व बुझाउँछ। त्यो पर्यटक भक्तपुर र ललितपुर जाँदा पनि बुझाउनुपर्छ। त्यसैले त्यो पर्यटक एक ठाउँ गए पनि अन्यत्र नजान सक्छ। तर, एक स्थानमा राजस्व एकैपटक लिए ‘सबै स्थानमा घुम्ने राजस्व तिरेको छु’ भन्ने सोचले पनि पर्यटक सबै स्थानमा पुग्न सक्छन्। त्यहाँ चिया, खाजामात्र खाइदिँदा पनि स्थानीयको जीवनस्तर उकास्न मद्दत पुग्छ। त्यसैले एकै स्थानमा अहिलेको अवस्थामा एकमुस्ट १५० डलर राजस्वको व्यवस्था गरे त्यसले अप्रत्यक्ष रूपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।

होटल तथा रेस्टुरेन्टको वर्गीकरण : मुलुकका पर्यटकीय क्षेत्रमा हजारौं होटल र रेस्टुरेन्ट खुलेका छन्। तर, व्यवस्थित छैनन्। पर्यटकको मनैदेखिको रोजाइमा पर्ने कमै छन्। कुनै पनि मुलुकको पर्यटक नेपाल आउँदा उसले खोज्ने भनेकै नेपालीपन हो। नेपाली खाना हो। अनि खानासँगै दिइने सत्कार र त्यहाँ रहँदाको व्यवस्थापन हो। अझै पनि पर्यटक भनेका ‘दुहुना गाई’ जस्तो ठान्ने चलन छ। त्यो विल्कुलै गलत कार्य हो। पुनः आउने या नआउने ? साथीलाई कस्तो सन्देश दिने ? त्यो हामीले गर्ने सत्कार र सेवामा भर पर्ने कुरा हो।

अहिले हाम्रो मुलुकमा होटल रेस्टुरेन्टको गुणस्तर मापन छैन। कुन होटल कस्तो भन्ने छुट्ट्याउन सहजै सकिँदैन। पर्यटकलाई खाना खुवाउन लैजानुपर्दा संघीय राजधानी काठमााडौंमै ‘यहाँ लैजाऔं, यो ठीक छ’ भने ठाउँ छैन। नेपाली परिकार मिठो कहाँ पाउँछ ? थाहा छैन। देशैभर यस्ता ठाउँका लागि सरकार गम्भीर बन्नुपर्छ। कम्तीमा पनि होटल, रेस्टुरेन्टको वर्गीकरण गरेर तथ्यांक राखेमा यसले पर्यटन क्षेत्रको विकासमा फड्को मार्न सहयोग पुर्‍याउँछ। ७० प्रतिशत पर्यटकले नेपालमा दैनिक सरदर ४० डलरभन्दा कम खर्च गर्छन्। यो अत्यन्तै न्यून हो। गुणस्तरीय होटेल, रेस्टुरेन्ट स्थापना गर्दै सेवा दिन सकेमा एक पर्यटकले सयदेखि १५० सम्म खर्च गर्ने वातावरण बन्छ।

निवृत्तिभरण भिसा : विदेशी नागरिक जो नेपाललाई धेरै माया गर्ने पनि छन्। उनीहरू आफ्नो सेवानिवृत्त समय नेपालमा बिताउन पनि चाहन्छन्। ५०–६० वर्षको उमेरमै सेवानिवृत्त हुने मुलुक धेरै छन्। यसरी सेवानिवृत्तको समय नेपालमा बिताउन निवृत्तिभरण भिसाको व्यवस्थापन गर्न सके उनीहरूको ज्ञान र सीपलाई यहाँ प्रयोग गर्न सकिन्छ। नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ। विदेशका बौद्धिक, सीप र ज्ञान भएका सेवानिवृत्त व्यक्ति यहाँ भिœयाएर त्यसको लाभ लिन सक्नुपर्छ। यस्तो भिसा विभिन्न मुलुकले दिइरहेका छन् र फाइदा लिइरहेका छन्।

पर्यटन क्षेत्रको प्रचार : ३० वर्षअघिको जस्तो प्रचार गरेर अब पर्यटक आउँदैनन्। कुनै पनि मुलुकका नागरिकलाई त्यहाँको स्थानीय सञ्चारमाध्यममा प्रचार गर्न सके त्यसको प्रभाव चाँडो पर्ने रहेछ। नेपाल आउने पर्यटकले उतैको स्थानीय पत्रिकामा मात्रै अनुभव लेख्यो भने पनि त्यसको प्रभाव पर्छ। सरकारले त्यहाँका नागरिकले कस्ता सञ्चारमाध्यम बढी हेर्छन्-पढ्छन् ?

ती कुरा ख्याल गरेर प्रचार गर्नुपर्छ। दुई सरकारबीच नेपाल भ्रमणमा नागरिक पठाउने विषयमा सम्झौता आदन–प्रदान गरे यसको प्रभाव अझै बढी पर्छ।
पर्यटन क्षेत्रका विषयमा जानकार भण्डारी गाइंग नेपालका प्रबन्ध निर्देशक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.