शिकार पर्यटन अर्थात् ढोरपाटन

शिकार पर्यटन अर्थात् ढोरपाटन
फाइल तस्बिर।

मुलुकको एकमात्र सिकार आरक्ष हो ‘ढोरपाटन शिकार आरक्ष’। बागलुङ, म्याग्दी र रुकुममा फैलिएको शिकार आरक्षको उपत्यका र धेरै क्षेत्रफल बागलुङ जिल्लामा पर्छ। 

चाफेरो अग्लाअग्ला पहाड। बीचमा समथर उपत्यका। उपत्यकामा चरण गर्दै गरेका घोडा र खच्चर। उपत्यकाको आसपासमा उत्तरतर्फ कलकल बग्ने उत्तरगंगा नदी। उपत्यका छेउछाउमा रहेको बाक्लो बस्ती र काठ मात्र प्रयोग गरेर निर्माण गरेका पुरानो शैलीका घरहरू। यो सुन्दर दृश्य ढोरपाटन सिकार आरक्षको उपत्यकाको हो। यहाँ पुग्ने जो कोही पनि यहाँको प्राकृतिक सुन्दरता देखेर मोहित हुने गर्छन् । 

ढोरपाटनमा आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ। विदेशी पर्यटक वर्षको दुईपटक शिकार गर्न पुग्ने गर्छन् भने आन्तरिक पर्यटकहरू बाह्रै महिना। ढोरपाटनमा वर्षमा दुईपटक शिकार याम चल्छ। असोज–मंसिर पहिलो याम र फागुन–वैशाख दोस्रो याम शिकार हुँदा ढोरपाटनमा विदेशी पर्यटकहरू सिकार खेल्नका लागि मात्रै आउने गर्छन्। 

गर्मी समयमा शीतलता हुने र हिउँदको समयमा हिउँले सेताम्मे हुने ढोरपाटनमा गर्मी छल्न र हिउँ खेल्नको लागि आन्तरिक पर्यटकहरूको रोजाइको केन्द्र बन्दै आएको छ। बागलुङ जिल्ला सरमुकामदेखि करिव १ सय २२ किलोमिटरको दुरीमा रहेको ढोरपाटन उपत्यकामा पुग्नको लागि पक्की र कच्ची सडकको यात्रा गर्नुपर्छ। बागलुङ बजारदेखि बुर्तिबाङसम्मको करिब ९० किलोमिटर सडक (पुष्पलाल मध्यपहाडी लोकमार्ग)को यात्रा र बुर्तिबाङदेखि करिव ३२ किलोमिटर कच्ची सडक पार गरेपछि ढोरपाटन उपत्यकामा पुग्न सकिन्छ। 

ढोरपाटनमा सिकारी पर्यटक, पदयात्रा गर्ने पर्यटक, भ्रमण गर्ने पर्यटक र धार्मिक पर्यटकहरू आउने गरेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए। उनले पहिले पहिले पोखरा, म्याग्दी, ढोरपाटन हुँदै रोल्पा पदयात्रा (टे«किङ्ग) जाने पर्यटकहरू आउने गरेपनि पछिल्लो समय कमी आएको बताए। ‘पहिले हाई अल्टिचियुट पदयात्रा गर्ने पर्यटकहरू पनि आउने गर्दथे अहिले त्यसमा कमी आएको छ,’ अधिकृत कँडेलले भने, ‘अहिले सिकार गर्न आउने विदेशी पर्यटक, अध्ययन र अनुसन्धानको लागि समुह, विद्यार्थीहरू र ढोरबाराहीमा पुजा गर्न धार्मिक पर्यटकहरू आउने गर्नुहुन्छ। ’ ढोरपाटनमा रहेको ढोर बाराही मन्दिरमा बैशाख पूर्णिमा र जनै पूर्णिमामा विशेष पूजा हुने हुँदा उक्त समय धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। 

ढोरपाटनमा सडक सञ्जालको पहुँच पुगेपछि पर्यटकहरूको संख्यामा पनि वृद्धि भएको छ। पोखराबाट ९, १० घण्टा, बागलुङबाट ६, ७ घण्टा  र बुर्तिबाङबाट ३ घण्टाको सडक यात्रा गरेपछि अहिले ढोरपाटनमा पुग्न सकिन्छ। २९  सय मिटरको उचाइमा रहेको ढोरपाटन उपत्यकामा हाइ अल्टिच्युटको हावापानी पाइने भएकोले पनि पहुँचको हिसावले सहज र कम लगानीमा पुग्न सकिने भएकाले आन्तरिक पर्यटकहरूको रोजाइमा ढोरपाटन पर्दै आएको अधिकृत कँडेलले बताए। अधिकृत कँडेलका अनुसार यात्रामा जति नै दुःख भए पनि गन्तव्यमा पुगेपछि सबै भुलिन्छ। 

ढोरपाटनमा सदरमुकाम तथा जिल्ला धेरै ग्रामीण भेगबाट विस्थापित भएका घोडाहरू चरिरहेको देख्दा आहा ! नभन्ने कोही हुँदैनन्। ढोरपाटन घुम्न आउने अधिकांश पर्यटकहरू एकपटक मात्रै भए पनि घोडा सवार गर्न खोज्ने स्थानीय दीपक विकले बताए। ढोरपाटन पुग्ने पर्यटकहरूले घोडा सवार गरी उपत्यकाको सुन्दर दृश्य हेर्ने, फोटो खिच्ने र भिडियो गराउने गर्छन्। घोडा चढेबापत घोडाका मालिकहरूले ५० रुपैयाँदेखि माथि लिने गरेका छन्। उनीहरूले घोडामा चढेर फोटो खिचेको मात्र र केही टाढासम्म घुमेको फरक–फरक शुल्क लिने गरेका हुन्। ‘घोडा चढेर फोटो खिचेको ५० रुपैयाँ र केहि समय यत्रा गरेमा २ सय रुपैयाँदेखि दुरीअनुसार बढी शुल्क लिने गरेका छौं,’ विकले भने। 

ढोरपाटन उपत्यकामा घोडा दौडाएर भिडियो, टिकटक बनाउने, फोटो लिने पर्यटक धेरै हुन्छन्। छिटफुट रूपमा सिकार गर्ने पर्यटकहरू पुग्ने ढोरपाटनमा पछिल्ला केही बर्षयता प्रकृतिप्रेमी पर्यटक पुग्न थालेको स्थानीय मीना पुनले बताए। गोठालाहरू भैंसी, गाई, गोरु, भेँडा, बाख्रा लिएर बेसी झरेपछि सुनसान जस्तै हुने ढोरपाटन क्षेत्र पछिल्लो समय पर्यटकले खचाखच हुने गरेको छ। ‘पहिले पहिले हिउँदमा बस्ती सुनसान हुन्थ्यो,’ पुनले भनिन् ‘पर्यटक आउन थालेपछि अहिले वर्षभरि नै चहलपहल हुन्छ। ’ आन्तरिक पर्यटक बास बस्ने गरी जान थालेपछि ढोरपाटन क्षेत्रमा होमस्टे, सामुदायिक लज तथा होटल खुलेका छन्। ’

ढोरपाटन सिकार आरक्ष कार्यालयले सो क्षेत्रमा प्रवेश गर्ने सवारीको लागत राख्ने गरेको छ। नेपाली, सार्क राष्ट्र र विदेशी नागरिकलाई छुट्टाछुटै प्रवेश शुल्कको तोकिएको अधिकृत कंडेलले बताए। कँडेलका अनुसार नेपालीलाई १ सय, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय र विदेशी पर्यटकलाई ३ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ। ढोरपाटनमा गतवर्ष ९ हजार बढी पर्यटक भित्रिएका थिए। 

पक्की र कच्ची सडकको यात्रा गरेर थकानका साथ ढोरपाटन पुगेपछि सवै दुःखहरू भुलिने गरेको आन्तरिक पर्यटक सम्झना कार्की खड्काले बताइन। सामाजिक सञ्जाल र ढोरपाटन पुगेर फर्किएका साथीहरूको भनाइले आफूलाई पनि एकपटक ढोरपाटन पुग्न मन लागेपछि ढोरपाटन घुम्न गएको बताउने खड्काले आफ्नो आँखाले ढोरपाटन उपत्यका हेर्दा सुन्दर र रमणिय लागेको बताइन्। ‘ढोरपाटन उपत्यकामा चरण गर्दै गरेका र दौडिरहेका घोडाहरू, रमणिय सुन्दर उपत्यका र त्यहाँका स्थानीयहरूको रहनसहनले मलाई मोहित तुल्यायो,’ बागलुङ बजारमा कपडा व्यवसाय गर्ने खड्काले भनिन्, ‘बाह्य जिल्लाका पर्यटकहरूलाई एक दिन बागलुङ बजार बस्ने र अर्को दिन ढोरपाटन बस्न जाने गरेमा जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउछ। ’

ढोरपाटनमा पर्यटकको संख्या बढेसँगै राजश्वमा समेत वृद्धि भएको छ। ढोरपाटनमा शिकारबाट प्रत्येक वर्ष १ करोडदेखि ३ करोडसम्म राजस्व संकलन हुने गरेको छभने पर्यटक, नदीजन्य वस्तु र काठ विक्रीबाट गत वर्ष २० लाख रुपैयाँ राजस्व भएको अधिकृत कँडेलले बताए। 

ढोरपाटन उपत्यका पुग्ने पर्यटकहरूलाई ढोरपाटनको जलजला पुर्‍याउनको लागि सिकार आरक्षले सडक सञ्जाल जोडे पनि कम मात्र उक्त क्षेत्रमा पुग्ने गरेका छन्। जलजलाबाट गुर्जा, माछापुच्छ«े हिमाल सहित धौलागिरी र अन्नपूर्ण हिमश्रृखलाह आँखै अगाडी देख्न सकिने अधिकृत कँडेलले बताए। ‘ढोरपाटन पुग्ने पर्यटकहरूले सुन्दर दृश्य हेर्नाको लागि जलजला पुग्नुपर्छ,’ अधिकृत कँडेलले भने,‘जंगल सफारी गर्दैै पर्यटकहरूलाई जलजला पुर्‍याउन हामीले सडक सञ्जाल जोडेका छौं। ’ हाइ अल्टिच्युट पदयात्रा गर्न चाहने पर्यटकहरूलाई ४ हजार उचाइमा रहेको गर्पा धुरी (टीकाधारा क्षेत्र) रहेको छ। उक्त स्थानबाट हिमश्रृखला सहित जंगली जनवारहरू देख्न सकिन्छ। 

ढोरपाटनमा पर्यटकहरू बढाउनका लागि राज्य, स्थानीय तह र स्थानीय बासीहरूले जंगलसफारी, बासस्थानको लागि सुविधासम्पन्न होटलहरू निर्माण गरिनुपर्ने देखिन्छ। स्थानीय तहले केही सहयोग गरेपनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि काम गरे पनि जति गर्नुपर्ने हो त्यती नगरेको अधिकृत कँडेलले बताए। ढोरपाटन आउने पर्यटकहरूलाई जंगलसफारी गराउने र केही दिन ढोरपाटनमै राख्नको लागि स्थानीय बासीहरूले योजना बनाउनुपर्ने कँडेलको भनाइ छ। 

ढोरपाटन सिकार  आरक्षमा नाउर, झारल, थार र हिमाली भालुलगायतका जंगली जनवार पाइन्छ भने डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका दुर्लभ एवं संरक्षित पन्छी चराहरू पाइन्छन्। वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले वि.सं. २०४४ सालमा ढोरपाटन क्षेत्रलाई शिकार आरक्ष बनाइएको थियो। पेशेवर विदेशी शिकारीहरूका लागि प्रमुख गन्तव्य रहेको आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गर्छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.