रानीमहलको रौनक
हिमालको काख, कन्दरा छिचोल्दै, हिन्दू र बौद्ध धर्मको केन्द्र बिन्दु मुक्तिनाथको १०८ धाराको पवित्र जल मिसिँदै कालीगण्डकी नदी पुनः उत्तरतर्फ बगेको छ। उत्तरबाहिनी कालीगण्डकी बगेको दिशा छनोट गरेर नदीकिनारमै निर्माण भएको छ, प्रेमको प्रतीक रानीमहल।
तानसेन नगरपालिका वडा नम्बर १३ मा रहेको रानीमहल दरबारलाई नेपालको ताजमहलको रूपमा परिचित रहेको छ। रानीमहल दरबार राणा खड्गशमशेरले पाँच वर्ष लगाएर विसं १९५५ सालमा रानी तेजकुमारीको सम्झनामा निर्माण गरेकोले यसलाई परम्परागत भाषामा तेजमहल पनि भन्ने गरिन्छ।
आफ्नो प्रेमिकाको सम्झनामा स्वच्छ प्रेमभाव झल्काउन राणा खड्गशमशेरले गरेको मिहिनेत र लगानीकै कारण आम मानिसको बुझाइमा रानीमहल दरबारले एउटा प्रेमको प्रतीकको रूप लिएको छ।
रानीमहल दरबार नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ। पछिल्लो एक दशकदेखि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइ बन्दै आएको छ प्रेमको प्रतीक रानीमहल दरबार।
नेपाल सरकारले देशका घुम्नै पर्ने सूचीमा रानीमहल दरबारलाई राखेको छ। रानीमहल दरबारले घुम्न जाने पर्यटकहरूलाई आनन्द प्रदान गरेको छ। प्रेमीप्रेमिकाहरूको प्रेमसम्बन्ध अझ कसिलो गाढा बनाइदिएको छ। वातावरणविद्हरूको लागि चारैतिर जंगल, नदीको किनारमा निर्माण भएको विशाल दरबारले जिज्ञासु बनाइदिएको छ।
इन्जिनियरिङ तथा प्राविधिक क्षेत्रका व्यक्तिहरूलाई १२५ वर्षअगाडि यस्तो डिजाइन कसरी गरियो, भौगोलिक विकटता भएको स्थानमा कसरी निर्माण गरियो, निर्माण भएका सरसमान आजसम्म कसरी कुन प्रविधिमा आधारित भएर टिकेका छन्, के आजका पुस्ताले यस्तो प्रकारको, डिजाइन तथा भवन निर्माण गर्न सक्छन् भन्ने सयौं प्रश्न रानीमहल दरबारले जन्माइदिएको छ।
सबै पक्षको लागि रानीमहल दरबार आकर्षणको केन्द्रसँगै अध्ययन अनुसन्धानको रूपमा विकास भएको छ। रानीमहलमा स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमनबाटै राज्यले प्रशस्त आम्दानी लिँदै आएको छ।
१६ वर्ष अगाडिसम्म रानीमहलमा पैदलयात्राबाट पुग्ने अवस्था थियो। रानीमहल दरबारलाई केन्द्र बिन्दु बनाएर अहिले चारैतिरबाट सडक सञ्जाल खुलेका छन्। पाल्पाको सदरमुकाम तानसेनबाट रानीमहलसम्मको सडक पक्की भएको छ। गुल्मी अर्घाखाँची क्षेत्रबाट आउने पर्यटकहरूको लागि रिडीदेखि रानीमहलसम्मको सडक हालै कालीगण्डकी करिडोर कालोपत्रे गरेको छ।
स्याङ्जा, कास्की क्षेत्रबाट आउने पर्यटकहरूलाई लक्षित गरी राम्दीदेखि रानीमहलसम्मको सडक निर्माणको काम अन्तिमको चरणमा रहेको छ। खानी गाउँ क्षेत्रबाट रानीमहल प्रवेश गर्ने स्तरीय सडकसहित पुल निर्माणको काम भइरहेको छ।
रानीमहलकै छेउमा कालीगण्डकी वारपारको लागि चार लेनको पक्की पुल निर्माण भई पाल्पा र स्याङ्जामा नियमित रूपमा सवारीसाधन सञ्चालन भएका छन्।
नेपाललाई जोगाउन पाल्पाको भूमिका महत्त्वपूर्ण देखिन्छ, वि.सं १८७१ मा अंग्रेजसँग नेपाल युद्धमा पराजित भएको भए बुटवलदेखि पश्चिमका अधिकांश भूभागहरू गुमाउनु पर्दथ्यो। तत्कालीन पाल्पाका कमान्डर कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाको कमान्डले जितगढी युद्धमा अंग्रेज पराजित गरी नेपालको भूमि जोगाउन सफल भएका थिए।
पाल्पालाई विभिन्न कालखण्डदेखि नै युद्ध रणभूमिको रूपमा चिनिन्छ अर्कोतर्फ प्रेमबाट संसार जित्न सकिन्छ भन्ने सन्देश पनि रानीमहल दरबारले दिएको छ।
युद्ध कस्तो हो ? प्रेम कस्तो हो ? दुवै अनुभव पाल्पामा गर्न पाइन्छ। रानीमहलकै आज त्यहाँ पुग्ने पूर्वाधारको रूपमा पक्की सडक निर्माण भएका छन्। कहिल्यै सवारीसाधन नपुग्ने स्थानमा रानीमहलकै कारण स्थानीय जनताले पक्की सडक पाएका छन्।
रानीमहलकै कारण आज कालीगण्डकीमा पक्की पुल निर्माण भएको छ। २० वर्ष अगाडि रानीमहल क्षेत्रमा खाजा खाने एक दुईवटा होटल पनि नभएको स्थानमा आज सयौं होटलहरू खोलिएका छन्। सयौंले रोजगारी पाएका छन्। स्थानीय उत्पादनको बिक्री भएको छ। रानीमहललाई लक्षित गरी कालीगण्डकीमा र्याफ्टिङ सुरु भएको छ। दिनहुँ पर्यटकीय चाहना र आवश्यकतालाई पूरा गर्न विभिन्न किसिमका थप पर्यटकीय पूर्वाधारहरू निर्माणका कामहरू भइरहेका छन्।
अहिले रानीमहल दरबार अवलोकनको लागि दैनिक पाँच सयभन्दा बढी पर्यटकहरू पुग्ने गरेको छ। तानसेन नगरपालिकाले रानीमहल दरबार अवलोकनबाट मात्र ९ महिनाको अवधिमा ४० लाख रुपैयाँ आम्दानी गरेको छ। पर्यटकहरूको चलपहलसँगै सवारीसाधन आवतजावतमा वृद्धि भएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यको प्रेममय भ्रमणले रानीमहलमा पर्यटक आगमनमा वृद्धि भएको छ।
बुटवलबाट दैनिक रूपमा रानीमहल दरबारसम्म आवतजावत गर्ने गरी सवारीसाधन सञ्चालन हुँदै आएको छ। तानसेन नगरपालिकाले रानीमहलको अन्तरर्राष्ट्रिय ब्रान्डिङ अभियान गर्दै आएको छ।
रानीमहल दरबारकै कारण सदरमुकाम तानसेनसँगै बाटोघाटोमा दर्जनौं होटर रेस्टुराहरू सञ्चालनमा रहेका छन् भने सयौंले रोजगारी पाएका छन्। रानीमहललाई केन्द्रबिन्दु बनाएर चारैतिरका बाटोघाटोमा होटल व्यवसाय दिनहुँ बढ्दै गएका छन्।
अहिले दरबारको बाहिरी भागमा तानसेन नगरपालिकाले रंगरोगनको काम गरेको छ। लुम्बिनी प्रदेश सरकारको रानीमहलसम्म सडक पक्की गरेको छ। रानीमहल दरबार उत्तर दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरसँग जोडिएको छ।
रानीमहल दरबार पुरातत्त्व विभागको मुख्य संरक्षणमा रहेको छ। दरबारलाई विभागले १० वर्षको लागि संरचना नबिग्रिने गरी तानसेन नगरपालिकालाई रेखदेखको जिम्मेवारी दिएको छ। रानीमहल दरबारको महत्त्वअनुसार सो क्षेत्रमा काम भएको छैन।
राणा खड्गशमशरेले उत्तरबाहिनी कालीगण्डकी रोजेर दरबार बनाएकोले रानीको नुहाउने उत्तरबाहिनी स्थान निर्माण गरी सबै सर्वसाधारणको लागि खुला गर्नुपर्ने संस्कृति अभियन्ता निर्मल श्रेष्ठको भनाइ रहेको छ।
हिन्दूधर्ममा उत्तरबाहिनी गंगामा नुहाएमा मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास बढी रहेकोले यो काम तत्काल गर्नु पर्दछ। पछिल्लो समयमा भारतीय हिन्दू धार्मिक पर्यटकहरू रानीमहल दरबारमा अवलोकनको क्रममा बढेको पाइन्छ।
रानीमहलको फूलबारी क्षेत्र अतिक्रमण भई अहिले व्यक्तिको नाममा भोगचलन भइरहेको छ। पुरानो नापी नक्सा हेरी पुरातत्त्व विभाग र स्थानीय सरकारको सहयोगमा अतिक्रमित फूलबारी रानीमहल दरवारको स्वामित्वमा नाममा ल्याउनु पर्दछ।
राणा खड्गशमशेर रानी तेजकुमारीसँग सम्बन्धित सबै सरसमान खोजबिन गरी संग्रहालयम राख्नु पर्दछ। तानसेन नगरपालिकाले रानीमहलको सहज रूपमा पर्चा पम्पलेट, किताब, ब्रोसरहरू निकाली व्यापक रूपमा प्रचारप्रसार गर्नु पर्दछ। रानीमहलको प्रचारप्रसारको लागि पर्यटक गाइडहरूको व्यवस्था गर्नुपर्ने संस्कृतिकर्मी
श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !