सुनखानीमा कफी
दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका-८ सुनखानीका कृषक चित्रप्रसाद पाठक व्यवसायिक कफी खेतीमा व्यस्त छन्।
७० पार गरेका उनी आफू अहिले कफी, सुन्तला लगायतका कृषि उत्पादनमा व्यस्त बनेको बताउँछन्।
विगत आठ वर्षदेखि कफी खेती गर्दै आएका पाठक आफूले अहिले वार्षिक तीन सय केजीसम्म कफी उत्पादन गर्दै आएको बताउँछन्।
उत्पादित कफी विगतमा आफैंले काठमाडौं लगेर बिक्री गर्दै आएकोमा अहिले घर छेउकै निलकमल सहकारीले संकलन केन्द्र स्थापना गरी खरिदको व्यवस्था गरेपछि सजिलो भएको उनले बताए।
सहकारीले नै उत्पादित कफी खरिद गर्ने भएपछि आफूले उत्पादन क्षेत्र विस्तार गरी झण्डै आठ रोपनी जमिनमा अरेविका जातको पाँच सयभन्दा बढी कफी लगाएको पाठकले बताए।
आफूले उत्पादन गरेको कफी प्रतिकेजी पाँच सयदेखि पाँच सय ५० रुपैयाँसम्ममा बिक्री हुँदै आएको उनको भनाइ छ।
सहकारीले द लेप्रोसी मिसन नेपालको आर्थिक सहयोग तथा द फ्रेसको हिमालय कम्पनीको सहकार्यमा ४० जना कृषकलाई कफी उत्पादन सम्बन्धी तालिम समेत दिएको छ।
तालिम लिएका कृषकलाई प्रतिकृषक दुई सय बोटको दरले झण्डै आठ हजार कफीको विरुवा समेत सहयोग गर्न लागेको सहकारीका व्यवस्थापक टहल आचार्यले बताए।
२०७० सालमा स्थापना भएको सहकारीले गत वर्षबाट कृषकले उत्पादन गर्ने कफी, गुन्द्रुक, सिमी, भटमास, बेसार, अदुवा, मास, मस्याङ जस्ता नकुहीने कृषि उत्पादन संकलन गरी काठमाडौं लगायतका ठाउँमा बिक्रीका लागि व्यवस्थापन सुरु गरेको व्यवस्थापक आचार्यको भनाइ छ।
सहकारीको अभियानमा वडाको समेत साथ र सहयोग रहने वडाध्यक्ष बालकृष्ण आचार्यले बताए। कृषकहरुले ल्याउने विभिन्न प्रकारका नकुहीने कृषि उत्पादन संकलनका लागि लुथरन वल्ड फेडेरेसनले मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखा मार्फत संकलन केन्द्र निर्माण गर्न दुई लाख रुपैयाँ सहयोग गरेको सहकारीका संस्थापक अध्यक्ष एवं व्यवस्थापक आचार्यले बताए।
अहिले २० जना स्थानीय कृषकले सहकारीको संकलन केन्द्रमा कफी बिक्रीका लागि ल्याउने गरेको सहकारीले जनाएको छ।