धरहरासँगै उम्रँदै सपना

धरहरासँगै उम्रँदै सपना
सुन्नुहोस्

२०७२ साल वैशाखमा धरहरा ढलेपछि सुन्धारा धरहरापरिसरमै खाजा नास्ता होटल चलाएर बसेका श्याम महर्जनले अब गरी खाने व्यापार व्यवसाय सकियो भन्ने ठाने। उनलाई धरहरा फेरि ठडिएला र आजको दिन देख्न पाइएला भन्ने कत्ति पनि विश्वास थिएन। 

अब फेरि निराश भइसकेको सुन्धारा परिसरमा नयाँ बनाइएको धरहराले निकै आशा देखाएको उनै महर्जन भन्छन्, ‘सरकारले धेरै समय लगायो यो धरहरा बनाउन। तर पनि अब त बनिसक्न लाग्यो। बनेपछि यहाँ घुम्न आउनेका कारण पनि यो क्षेत्रको व्यापार व्यवसाय फस्टाउँछ कि भन्ने आशा लागेको छ।’ 

धरहरा ढल्दा सुन्धाराको फेन्सी पसल खोलेर बसेका केशव बरालको पसल धरहराको ढुंगा र माटोले सबै तोडफोड भएको थियो। यकिन क्षति कति भयो भन्ने उनलाई पत्तो भएन तर अब फेरि धरहरा बनेर पहिलाको भन्दा चहलपहल बढ्ने भएपछि उनि निकै दंग देखिन्छन्। 

उनी भन्छन्, ‘धरहराको अन्डरग्राउडमा पनि टन्नै सटर बन्दैछन्। अब बाहिर भित्र जता भए पनि व्यापार राम्रो होला भन्ने आशा छ।’

सुन्धाराको धरहरा परिसर यसै पनि होटल व्यवसायका लागि राम्रै क्षेत्रका रूपमा मानिन्छन्। भूकम्पपश्चात् उक्त क्षेत्रमा पनि निकै धक्का लागेको थियो। धरहरा ढलेकै कारण पनि सो क्षेत्रका होटलमा बस्न एकदमै कम पुग्थे एक किसिमले व्यवसाय पूरै सुनसान थियो। 

होटल देउरालीका सञ्चालक शर्मिला पाठक अब भने धरहरा छिट्टै खुल्दैछ भन्ने सुनेपछि निकै खुसी छन्। ‘धरहरा सञ्चालनमा आएसँगै पक्कै हाम्रो व्यवसायमा पनि राम्रै होला। सबै नेपालीलाई धरहरा हेर्ने र चढ्ने रहर सबैलाई छ। यही बहानामा यहाँको व्यवसाय चल्ला भन्ने आशा छ,’ उनी भन्छिन्। २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको  धरहरा २०७८ मा ठडियो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको २०७८ वैशाख ११ गते उद्घाटन गरे। तर, २०७८ वैशाखदेखि २०८० वैशाखसम्म आइपुग्दा धरहराका फेदका संरचना अन्तिम चरणमा छन्। धरहराको पार्किङ बनिसकेको छ फिनिसिङको चरणमा छ। बगैंचा पनि बन्दै छ।

सहरी विकास तथा भवन निर्माण विभागका धरहरा पुनर्निर्माण आयोजना प्रमुख पोषनाथ अधिकारी धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायतका संरचना बनाउने काम ९० प्रतिशत काम सकिएको बताउँछन्। 

‘काम अब करिब सकिएको छ। अहिले म्युजियम निर्माणको चरणमा छ। डबल बेसमेन्टको काम भइरहेको छ। समग्रमा भन्दा फिनिसिङको काम बाँकी हो।’ 
करिब सबै काम सम्पन्न भएर पनि धरहरा सञ्चालनमा आउन नसक्नु प्रमुख कारण भने सुन्धारामा भूकम्प अगाडिको जस्तै प्राकृतिक रूपमा पानी आउनुपर्‍यो र प्राकृतिक रूपमा नै पानी जानुपर्‍यो कृत्रिम पानी चाहिँदैन भन्ने माग त्यहाँका स्थानीयको छ। 

काठमाडौंको कोर एरियाको प्राकृतिक पानी बगेर सुन्धारा हुँदै टुँडिखेलमा जान्छ भन्ने मान्यता छ। टुँडिखेलमा प्राकृतिक रूपमा बगेको पानी सुन्धारामा कसरी ल्याउन सकिन्छ भन्नेमा उनीहरू पनि चिन्तित छन्।

निर्माण कम्पनीले टुँडिखेलको पानी सुन्धारा लाने तेस्रो विकल्पमा काम पनि गरेका छन्। तर, खन्न हतार गरेको स्थानीय बासिन्दाको आरोप छ। स्थानीयवासीका अनुसार विज्ञसँग छलफल नै नगरेर ठेकेदारले जसरी हुन्छ धरहरा निर्माण सकाउने भन्नेमा लागेको स्थानीयवासीको आरोप छ। 

सुन्धारामा पानी ल्याउने कुरासँगै त्यो पानीको निकास कसरी गर्ने भन्ने अर्को चुनौती छ। स्थानीयवासीका अनुसार सुन्धाराको पानी भोटेबहालतिर जान्छ। तर, ठेकेदार कम्पनी पानी निकासीबारे अन्योलमा छन्। 

अधिकारी भन्छन्, ‘हामीले स्थानीयलाई भनेका छौं। भित्र पानी कहाँ छ खोज्नुहोस् हामी त्यहाँ पाइप लैजान्छौं भनेका छौं। पानी खोज्ने काम तपाईंहरूको जिम्मा त्यसको लागि लाग्ने खर्च पाँच लाखको कोटेसन दिन्छौं त्योबाहेक बढी लाग्ने भए वडाले दिन्छ। भनेका छौं वडाध्यक्ष पनि मान्नु भएको छ।’ अधिकारीका अनुसार पानी आउने कुरा र निकासको कुरा छोड्ने हो भने असोज महिनाभित्रमा धरहरा चढ्नका लागि तयार छ। 

धरहरा रहेको वडा नम्बर २२ बाट धरहरा बनाउने विषयमा पूर्ण सहयोग गर्दै आएका उक्त वडाका वडाध्यक्ष चिनिकाजी महर्जन धरहरा खुलिसकेपछि उक्त क्षेत्रको पर्यटकीय, धार्मिक र प्राकृतिक सबै रूपमा विकास हुने कुरामा विश्वस्त छन्। ‘धरहरा हाम्रो वडाको मात्र नभई देशकै गहना हो। यत्रो संरचना बनेर तयार हुँदा हामी खुसीनै छौं। यसले यहाँको पर्यटनमा पक्कै सहयोग गर्छ। धरहरा बनिसक्दा वडाले पूर्ण सहयोग गरेको छ,’ महर्जनले भने। 

सुन्धाराका विषयमा भने वडाध्यक्षले विज्ञसँग सल्लाह गरेर उनीहरूका अनुसार पानीको विषयमा नलाग्दाको कारण समस्या आएको बताउँछन्। 

‘प्राकृतिक रूपमा आउने पानीलाई पनि रोक्न मिल्दैन। र धरहरा पूर्ण निर्माण भइसकेपछि खुलाउनबाट पनि रोक्न मिल्दैन। हामीले सरकारलाई गर्ने सहयोग पनि गरेका छौं। स्थानीयरूपमा पनि सुन्धाराजस्तो महत्त्वपूर्ण स्थानलाई मेट्न हुन्न भन्ने कुरामा हामी स्पष्ट छौं। जति धरहरा महत्त्वपूर्ण छ त्यत्तिकै सुन्धारा पनि महत्त्वपूर्ण छ। यसलाई सबैले गम्भीरताका साथ हेरिनुपर्छ,’ महर्जन भन्छन्।

अहिलेको धरहरा नेपालको औंलामा गन्न सकिने इन्जिनियर मनोहर राज भण्डारीले डिजाइन गरेको धरहरा हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.