विद्रोही फूलमाया किन बनिन् सकम्बरी ?

समाज

विद्रोही फूलमाया किन बनिन् सकम्बरी ?

सकम्बरी यस्ती पात्र हुन् जो सुयोगवीर भन्ने पुरुषले एकपटक चुम्बन गरेकै कारण संसारबाट बिदा हुन्छिन्। सपुतले फूलमायालाई आधुनिक सकम्बरी भनेका छन्। जो पारिजातकी सकम्बरीभन्दा विपरीत धारमा छन्।

प्रकाश सपुतको नयाँ म्युजिक भिडियोले केही दिनमै करोड दर्शक पाई रेकर्ड कायम गरेको छ। यो गीत छोटै समयमा हिट भयो। साथै यसको विरोध पनि धेरै छ। सपुतको ‘सकम्बरी’ बोलको म्युजिक भिडियो सांगीतिक क्षेत्रमा आएको एकमात्र विवादित गीत भने होइन। पछिल्लो समय आएका धेरै गीत पितृसत्ता र बजारीकरणलाई नै मलजल गर्ने खालका छन्। ती गीतमा महिलाको शरीर, अंगहरूको आकार, रंगमा टिप्पणी गरिएका हुन्छन्।

महिला सुन्दर वस्तु र पुरुष त्यसको उपभोगकर्ताजस्ता देखिन्छन्। गीत तथा अभिनयबाट प्रस्तुत गरिएको शिक्षा समाजमा छिटो फैलिन्छ। संगीतमार्फत सही शिक्षा दिन सके समाजको विकृति विभेद कम गर्न कति सहज हुने थियो।

‘फूलमाया’का विभिन्न कुरामा विवाद हुनु सपुत सकिनु हैन। उनले सुधारिन बाटो पहिल्याउनु हो। सकम्बरी तथा उनका अन्य गीतलाई हेर्दा सपुत र अन्य गीतकारमा सानो फरक देखिन्छ। सपुत समाजमा सतही आँखाले हेर्दा छर्लंग देखिने महिलाको समस्या गीतमा उतार्छन्।

सपुत यस गीतमा राम्रा महँगा कपडा र गहना लगाउन सहज नपाएकी गाउँकी गरिब केटी वा एउटी महिला आफ्नो शरीर अगाडि आउने वा उपभोग गर्न चाहनेलाई सहजै सुम्पिएरै भए पनि प्राप्त गर्न बाध्य भएकी छे भनेर देखाउँछन्। उनी सहज तरिकाले एक युवती बजारले दिनदिनै बनाएका नयाँ र ब्रान्डेड टीभी, मोबाइल, घडी चलाउनमात्रै भए पनि मन नलागी–नलागी जो–जोसँग पैसा र पावर छ उसलाई शरीर सुम्पिन्छे भनेर देखाउँछन्।

म्युजिक भिडियोको अन्तिमतिर इज्जत र पापको प्रश्न उठाएर पाप लागे महिला पुरुष सबैका लागि बराबर लाग्छ भन्ने देखाएकै भरमा वाहवाही पाएका छन्। आम मानिसमा भएको यो भाष्य नेपाली गीतमा कम प्रयोग भएको भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय संगीत तथा कला क्षेत्रका लागि नौलो कुरा भने होइन। सपुत आफ्नो म्युजिक भिडियोमा यस्ता धेरै ठाउँमा चिप्लिएका छन्। उनका केही कमजोरी यस्ता छन्।

भावनाको व्यापार

भावुकता बेचेर चर्चा बटुल्न जानेका कलाकारको रूपमा सपुत पहिलादेखि नै चिनिए। उनलाई मान्छेको घाउँ कहाँ छ भन्ने ज्ञान छ। उनी घाउमै निसाना साँधेर ट्याक्कै लाग्ने गरी आफ्नो संगीतरूपी लौरो बर्साउँछन्।

सपुत सर, कमसेकम लौरोले घाउमा हान्दा दुखाइ सञ्चो हुँदैन अर्काको पीडामा रमाएर रमिता हेर्नेको संख्या बढ्ने मात्र हो भन्ने त बुझ्नुस्। पीडितलाई त यसले झन् पीडा थप्छ। तपाईको संगीतले पीडाका कारणलाई हान्न सके कति बेस हुन्थ्यो।

विद्रोही फूलमाया यसरी सकम्बरी
फूलमायाका बाबु मादक पदार्थ सेवन गर्छन्। उनकी आमाले छोरीछोरी मात्र जन्माएकीले बाबुले अर्को विवाह गर्छन्। उनीहरूलाई बेवास्ता गर्छन्। खान लाउन धौधौ परिरहेको समयमा बेलाबेलामा आएर ती बाउले आमालाई कुट्ने र झगडा गर्ने गर्छन्। यो सहन नसकेर फूलमाया बाउसँग जुध्न जान्छे। ऊ बाउले नगरे पनि आफ्नो परिवार पाल्न र बहिनीहरू पढाउन आफू सक्षम छु भन्ने अठोट गरेर सहर पस्छे। तर सहर नै नपुगी उसमा एकाएक लाचारपन भरिन्छ।

महिला संघर्ष गरेर पुरुषसरह आउन सक्छन्। पुरुषको प्रतिनिधि बन्ने ल्याकत राख्छन् भन्ने पचाउन सपुतलाई गाह्रै परेको जस्तो देखिन्छ।

आफ्नो जिम्मा लिएर आएको गाउँका दाइले गाडीमा नै दुव्र्यवहार गर्छन्। ऊ एक शब्द पनि विरोधको आवाज निकाल्दिन। सहर पुगेर डान्सबारमा काम गर्न थालेपछि फूलमायालाई सकम्बरी बनाइएको छ। सकम्बरी भन्ने पात्रलाई यति लाचार बनाइएको छ कि ऊ आफूलाई मन नलागीनलागी पनि विभिन्न पुरुषको आलिंगनमा बाँधिन्छे।

कानमा झुम्कना, गलामा महँगो माला, राम्रा लुगा, पाउजु लगाउन मात्र पनि जोबन साटेको देखाइएको छ। म्युजिक भिडियोमा खेलेर सेलिब्रेटी बन्न ऊ निर्देशकसँग यौनसम्बन्ध राख्न तयार भइहाल्छे। उसमा कुनै प्रकारको विद्रोह नै छैन। एकाएक एउटा विद्रोही पात्रलाई यति लाचार किन देखाइयो होला ? फूलमायालाई फूलमाया नै राखेर उसलाई गाउँमा संघर्ष गर्दा देखिएका समस्यासँग अडिग भएर उभ्याएको भए सपुतको गीतले ठूलो समूहमा आत्मबल र हौसला भर्ने काम गर्न सक्थ्यो। गीतमा विभिन्न क्षेत्रमा काम गर्ने धेरै महिला सहकर्मी तथा हाकिमहरूबाटै शोषण भइरहेको पाइन्छ।

पाइलापाइलामा यस्ता समस्याले पिरोलिरहेको समयमा महिला साँच्चै सपना पूरा गर्न जे पनि गर्न तयार हुन्छन् भन्ने यो भिडियोको आशयले पुर्‍याएको ठेसको भर्पाइ कसले गर्ने होला ? पाइलापाइलामा शोषण सहँदै अघि बढेकी छोरी मान्छेलाई फेरि घरभित्रै बस्न र घर–समाजको साङ्लो अझै बलियो बनाउनुपर्छ भन्ने शिक्षा यो गीतमा छ।

प्रश्न किन महिलालाई नै ?

महिला प्रश्नभन्दा माथि छन् भन्न खोजेको होइन तर प्रश्न सधैं महिलालाई नै किन गरिन्छ ? प्रश्न गरेपछि नै समस्या पहिल्याइन्छ। समस्याको जड पत्ता लागे समाधान गर्न सजिलो हुन्छ तर हरेकपटक महिलालाई सोधिने प्रश्न यति सतही हुन्छन् कि त्यसबाट मुख्य समस्याको वरिपरि पनि पुग्न सकिन्नँ।

म्युजिक भिडियोको अन्तिमतिर इज्जत र पापको प्रश्न उठाएर पाप लागे महिला पुरुष सबैका लागि बराबर लाग्छ भन्ने देखाएकै भरमा वाहवाही पाएका छन्। 

सपुतले सकम्बरीलाई झुम्कना कसले किन्दियो ? भनेर गरेको प्रश्नको जताजताबाट उत्तर दिए पनि मुख्य समस्याको छेउ टुप्पो नै पत्ता लाग्न सक्दैन। यहाँ सपुतले उठाउनुपर्ने प्रश्न अरू नै प्रकृतिको हुनु पथ्र्यो। प्रश्न गर्ने पात्र पनि अर्कै हुनुपथ्र्यो।

फूलमायाको गाउँमा घर छ। खेती किसानी गरेर खान बस्न नै नपुग्ने कसरी हुन्छ कृषि प्रधान देशमा ? त्यसमा प्रश्न कसले गर्ने ? गाउँमै बसेर सपना पूरा गर्न नसकिने सहरतिरै धाउनुपर्ने केन्द्रलक्षित विकास रोक्न प्रश्न गर्न पर्दैन ? बेरोजगार युवाले काम पाउन किन यति कठिन छ ? कामै नपाएर जे नि गरेर पैसा कमाउने बाध्यता सिर्जना गर्ने राजनीतिज्ञहरूलाई प्रश्न गर्ने साहस सपुतमा नभएकै हो त ?

महिलाका संरक्षक को ?

२० वर्षकी दिदीको बडिगार्ड ५/ ६ वर्षको भाइ हुन सक्छ तर दिदी एक्लै घरबाहिर जानु हुँदैन। पुरुषको जिम्मा लाइदिएरै छोरी मान्छेलाई घर बाहिर पठाउनुपर्छ भन्ने मान्यताले हाम्रो दिमागमा कहिलेसम्म बास माग्ला ? देशको दुर्भाग्य नै हो तर पनि दैनिक सयौं युवती सपना बोकेर जहाजमा कोही आफन्तबिना नै विश्वका कयौं देशमा पुग्छन्।

काठमाडौंमा नै सपना पूरा गर्न एक्लै आउजाउ गर्ने युवतीको कमी छैन। सपुत सर सपना पूरा गर्न महिला कसैको टाँसो लागेर नै जान पर्दैन। भिडियोको सुरुमा फूलमायाकी आमाले आफ्नो छोरीको जिम्मा गाउँका एक मान्छेलाई लगाएर पठाउनु महिलाको संरक्षक वा अभिभावकत्व लिन एक पुरुष हुनैपर्छ भन्ने देखाउनु हो।

राजनीतिमा भएका महिलाको कुनै क्षमता छैन ? साँच्चै राजनीतिमा महिला कति छन् ? कला क्षेत्रबाट गएका महिला कति छन् ? महिला राजनीतिज्ञहरू तपाईंहरू बिनासंघर्ष बिनाल्याकत राजनीतिमा आउनुभएको हो ? अझ विशेष त कलाकार महिला जो राजनीतिमा हुनुहुन्छ वा जाने विचारमा हुनुहुन्छ तपाईंहरू चर्चित अनुहार बिकाउन मात्र राजनीति रोज्नुभएको हो ? चलिरहेको उनको म्युजिक भिडियोको अन्तिममा सकम्बरी भन्ने पात्रलाई कुनै मन्त्रालयबाट एक व्यक्तिले फोनमार्फत राजनीतिमा आउन प्रस्ताव गर्छन्। त्यसमा सहायक भूमिकामा रहेका पुरुष पात्र (सपुत स्वयं) व्यंग्यमिश्रित हाँस्छन्। उनको त्यो हाँसोले महिला कलाकार यसरी नै राजनीतिमा लाग्ने त हो नि भन्ने आशय व्यक्त गरेको छ। महिला संघर्ष गरेर पुरुषसरह आउन सक्छन्। पुरुषको प्रतिनिधि बन्ने ल्याकत राख्छन् भन्ने पचाउन सपुतलाई गाह्रै परेको जस्तो देखिन्छ।

को हुन् सकम्बरी ?

पारिजातको ‘शिरीषको फूल’ नामक उपन्यासकी मुख्य पात्र हुन् सकम्बरी। सकम्बरी यस्ती पात्र हुन् जो सुयोगवीर भन्ने पुरुषले एकपटक चुम्बन गरेकै कारण संसारबाट बिदा हुन्छिन्। सपुतले फूलमायालाई आधुनिक सकम्बरी भनेका छन्। जो पारिजातकी सकम्बरीभन्दा विपरीत धारमा छन्।

जो रहर पूरा गर्ने पैसा कमाउन जोसँग पनि चुम्बन गर्न र शरीर साट्न तयार देखिन्छिन्। शिरीषको फूलकी सकम्बरीलाई ‘फूलमाया’ भिडियोमा राख्दा सपुतले महत्त्ववाकांक्षाका अघि महिला हदैसम्म झुक्न र आत्मसम्मानलाई दाउमा राख्न सक्छन् भन्ने कुरा समाजलाई बुझाउन खोज्दै छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.