विश्वप्रख्यात हाते कागज
जापानी मुद्रा छाप्न नेपाली हाते कागजको माग भइरहेको व्यवसायी बताउँछन्।
जापानमा बसोबास गरिरहेका उत्तम बज्राचार्य ट्विटरमा लेख्छन्, ‘जापानी १० हजारको नोटमा ३० प्रतिशत नेपालको लोक्ता प्रयोग हुन्छ। यसले धनी देशको नोट जोगाएको छ। तर नेपाली नेतृत्वले बुझ्दैन।’ नेपाली लोक्ताबाट बन्ने हाते कागजको महत्त्व निकै छ। तर, सरकारले बुझाइ कमजोर भएको सरोकारवालाहरू औंल्याउँछन्।
नेपाल हाते कागज संघकी कोषाध्यक्ष जुनू जोशी जापानका लागि यस्ता कागज विगतदेखि प्रशस्तै निर्यात हुने गरेको बताउँछिन्। भक्तपुर क्राफ्ट पेपरमा काम गरेदेखिको अनुभव सुनाउँदै उनले अन्नपूर्णसँग भनिन् ‘जापानी मुद्रा प्रकाशन गर्ने प्रयोजनले नेपालबाट यस्तो कागजको माग गर्ने गर्छन्। यसका लागि लोक्ताबाट बनेको २० ग्रामको एकदम सेतो कागज लिने गर्छन्। जापानिज ऐन बनाउनको लागि फिट हुने एकदम गुणस्तरको कागज चाहिन्छ। सोही प्रयोजनका लागि माग गर्छ।’
नेपालको परम्परागत वस्तु नेपाली हाते कागज लोक्ता वनस्पतिबाट उत्पादित बलियो, राम्रो र टिकाउ हुने भएकाले महत्त्वपूर्ण दस्तावेजहरूमा पहिलादेखि नै प्रयोग हुँदै आएको हो। हाते कागजबाट उत्पादन हुने वस्तुहरूलाई विविधीकरण गर्ने प्रयास भइरहेको छ। किनभने कागजसँगै खाम, डायरी, सजावटका सामानलगायतका वस्तु बनाउन थालिएको छ। यसैले यो नेपालको युनिक प्रडक्ट भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा बताउँछन्।
यसैले नेपालको ह्यान्डिग्राफ्टमध्येको राम्रो आइटममा पर्छ। यसको फाइदा दूरदराजमा मान्छेहरूले पनि हाते कागज उत्पादनमा सामेल हुने भएकाले गरिबी निवारणमा पनि सघाउ पुर्याउन हाते कागजको महत्त्वपूर्ण भूमिका रहने उनले बताए। साथै अन्तर्राष्ट्रिय व्यापारलाई समावेशी बनाउँछ। त्यसैले हाते कागजको विकास र संवर्द्धनका लागि सरकारले कच्चा पदार्थको उपलब्धताको व्यवस्था गर्न जरुरी भएको ओझा सुझाव दिन्छन्। किनभने अहिलेसम्म जंगलमा गएर मात्रै ती कच्चा पदार्थ ल्याई प्रयोग गर्ने गरिएकोले यसको विकल्पमा सरकारले सोच्नुपर्ने उनको भनाइ छ।
उनी भन्छन्, ‘अब लोक्तालाई प्रशोधन गर्नेमात्र नभई खेती गरेर उब्जाउनेतर्फ पनि ध्यान दिन जरुरी छ। होइन भने सधैं जंगलमा उम्रेका लोक्ता र अरू किसिमका बिरुवा काट्ने र मास्ने काममात्रै भए एकदिन सकिन्छ। यसलाई त रिजेनेरेट गर्ने काम गर्नुपर्यो। सरकारले यसमा ध्यान दिन जरुरी छ।’ यस्तै नेपाल हाते कागजको राम्रो बजार युरोपियन मुलुक, बेलायत छ। तर बजार विविधीकरण गरे लैजान सकिनेमा ध्यान पुर्याउनुपर्ने पूर्व उद्योग सचिव ओझाले सुझाव दिए।
यससँगै यस्ता वस्तु निकासीकर्तालाई निर्यातमा कर प्रोत्साहनमा नगद अनुदान दिनेमा पनि सरकारले ध्यान दिनुपर्ने बताए। यसको मुल्य अन्तर्राष्ट्रिय बजारमा महँगो छ अझै प्रशोधन गरेर पठाउन सके यसले थप बजार लिन मद्दत पुग्ने उनले बताए।
नेपालभर करिब ५०–५६ जिल्लामा हाते कागजहरूको उत्पादन हुन्छ। त्यहाँबाट उत्पादन भएका धेरैजसो कागजहरू काठमाडौंमा आउँछन्। नेपाली हाते कागज उद्योग संघका अध्यक्ष किरण डंगोलका अनुसार राजधानीमा ३ सय देखि ३ सय ५० ओटा हाते कागज र यसका सामग्री निर्यात गर्ने उद्योगहरू छन्।
उत्पादित कागजहरू जिल्लाबाट राजधानी ल्याएर ती कम्पनीहरूले विदेशमा निर्यात गर्दै आएको उनले बताए। नेपाली कागजबाट करिब ५० हजार जति निर्भर रहेको उनले जानकारी दिए। उनका अनुसार यसमा उत्पादन गर्नेदेखि निर्यात गर्ने उद्योगसम्म उक्त संख्याको हाराहारीमा रोजगारी पाएका छन्।
नेपाली कागजको वार्षिक निर्यात साढे १ अर्बदेखी २ अर्बसम्म रुपैयाँ हाराहारीमा हुने गरेको उनले बताए। तर यस्तो कागज नेपालभित्रै पनि थुप्रै खपत हुन्छ। तर यसको तथ्यांक नराखिने भएकाले थाहा नभएको हो। यद्यपि निर्यातकै हाराहारीमा देशभित्र पनि व्यवसाय हुने गरेको संघका अध्यक्ष डंगोलको अनुमान छ। दुवै गरेर करिब वार्षिक ४ अर्बको कारोबार हुने गरेको उनले अनुमान गरे। यद्यपि संघमा दर्ता भएका कागज उद्योग भने करिब १ सय २५ ओटा रहेको जनाइएको छ।
लोक्ताबाट बन्ने नेपाली कागजको विशेषता
लोक्ताबाट बन्ने कागजलाई नेपाली कागज अर्थात् हाते कागज भनिन्छ। नेपाली कागज निर्माणको मुख्य कच्चा पदार्थ अर्गेली (लोक्ता) हो। यो उच्च पहाडी भेग अर्थात् ४ हजार फिटदेखि १० हजार मिटरसम्मको सेपिलो ठाउँमा पाइन्छ। खास अर्गेली लोक्ताको एक प्रकार हो।
यसलाई बोक्रा तासेर केमिकल प्रयोग गरी कागज बनाइन्छ। नेपाली कागज उत्पादनका लागि बाहिरबाट ल्याउने भनेको केमिकल (प्लास्टिक सोडा) मात्रै हो। जंगली झार (लोक्ता), बाबियोको प्रयोग गरी नेपालको पहाडीसँगै अन्य क्षेत्रमा पनि परम्परागत तरिकाले तयार गरिने कागज हो। यो धेरै टिक्ने भएकाले नेपालमा अझै पनि सरकारी कामकाजमा यसको अत्यधिक प्रयोग हुन्छ।
लोक्ताबाट बनेको कागज गुणस्तरयुक्त हुने भएकाले नेपालमा पनि अड्डा अदालत, कार्यालयलगायतमा प्रयोग हुन्छ। विशेषगरी सरकारी कार्यालय, अदालत, लेखा, मालपोत कार्यालयमा अभिलेखको लागि नेपाली कागजको प्रयोग गरिन्छ। लालपुर्जाजस्ता मूल्यवान् डकुमेन्ट बनाउनसमेत यो बहुउपयोगी छ।
यस्तो कागजको प्रयोग अन्य निजी संस्थाहरूले लेटर हेडमा पनि गर्छन्। यसबाहेक विवाह तथा व्रतबन्धको कार्ड छपाउन, भिजिटिङ कार्डमा, गिफ्ट प्याकिङमा प्रयोग गरिन्छ।