आँखा उपचारमा चमत्कार

आँखा उपचारमा चमत्कार

तीन दशक अघिसम्म मोतीबिन्दु पीडितलाई उपचारमा सकस थियो। आँखामा हाल्ने लेन्सकै मूल्य डेढ सयदेखि दुई सय डलरसम्म पर्थ्यो। जुन आम सर्वसाधारणको लागि महँगो थियो। लेन्सको महँगो मूल्यकै कारण अप्रेसन गर्न जो कोही हिचकिचाउँथे। धमिलो दृष्टि भए पनि घरमै बस्थे। 

क्रान्तिकारी सपना

मोतीबिन्दु आँखाको नानी पछाडिको पारदर्शी लेन्समा लाग्ने एक प्रकारको जालो हो। यसले विस्तारै प्राकृतिक लेन्सलाई धमिलो पार्दै लैजान्छ। मोतीबिन्दुका लक्षणहरू प्रायः ६० वर्ष उमेर नाघेपछि विस्तारै देखिन थाल्छ। 

कुनै बेला मोतीबिन्दुको शल्यक्रिया पछि धनी व्यक्तिले मात्र लेन्स राख्ने हैसियत राख्थे। तर, अहिले सर्वसाधारणको पहुँचमा पुगेको छ। यसरी चामत्कारिक परिवर्तन ल्याउने श्रेय पाउने व्यक्ति हुन्, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत।

अस्ट्रेलियाका आँखा रोग विशेषज्ञ डा. फ्रेड हलोजसँगको छलफल गरे। त्यस पछि उनी अस्ट्रेलिया पुगे। त्यहाँ डा. रुइतले प्रिन्स अफ वेल्स अस्पतालको नेत्र चिकित्सा विभागमा केही समय इन्ट्राअक्युलर लेन्स सर्जरीको अभ्यास गरे। स्वदेश फर्केर उनले आँखा उपचार पद्धतिमा स्वदेशी मोडल अपनाए। सन् १९९४ मा अन्तर्राष्ट्रिय बजारमा लेन्सलाई स्वदेशमा उत्पादन सम्भव भयो।

सन् २००१ मा नेपालमा ९० हजारभन्दा बढी मोतीबिन्दुको शल्यक्रिया भयो। डा. रुइतका अनुसार, यस्तो शल्यक्रिया गराएका ९५ प्रतिशत आँखाका बिरामी इन्ट्राअक्युलर लेन्स पाएर सामान्य व्यक्तिले जत्तिकै देख्न सक्ने भएका थिए। मोतीबिन्दुका कारण अन्धो भएका नेपालीहरू खोज्दै डा. रुइत मुलुकका कुनाकाप्चा पुगेका छन्। 

हालसम्म व्यक्तिगत रूपमा १ लाख ३० हजार जतिलाई दृष्टि दिन सफल भएका छन्। संस्थागत र सामूहिक रूपमा त्योभन्दा धेरैलाई दृष्टि पुनस्र्थापना गरिएको छ। उनको आँखा उपचार पद्धति (रुइतेक्टोमी र इन्ट्राअक्युलर लेन्स) हो। उनको यो ‘नेपाल टेक्निक’ले विश्वमा चर्चा पाइरहेको छ।
तीन दशकअघि स्वदेशमै सुलभ मूल्यमा गुणस्तरीय लेन्स उत्पादनको सोच राख्नु नै क्रान्तिकारी थियो। डा. रुइतको योजना सुनेरै त्यतिबेला धेरैले उडाए। मुस्कुराउँदै डा. रुइत भन्छन्, ‘त्यो लेन्सलाई नेपालमै कसरी बनाउने त ? यो सोच राख्नु नै त्यतिबेला साँच्चिकै क्रान्तिकारी थियो।’  डा. रुइत ‘दृश्यका देवता’ (गड अफ साइट)का रूपमा परिचित छन्। 

तीन दशकमै ग्लोबल ब्रान्ड 

मोतीबिन्दुको शल्यक्रिया पछि लगाइने मोटो लेन्सलाई इन्ट्राअक्युलर लेन्स (आईओएल) ले विस्थापित गरेको छ। प्रतिष्ठानबाट उत्पादित इन्ट्रोअक्युलर लेन्सको स्वदेश/ विदेशमा माग बढ्दै गएको छ। 

तिलगंगा सुरु भएदेखि लेन्स उत्पादन पनि सुरु भएको हो। १९९४ मा पहिलो कमर्सियल प्रोडक्सन भयो। लेन्स आँखाभित्र जाने चिज भएकोले यसको गुणस्तरमा निकै ध्यान दिइएको छ। 

दक्षिण एसियाको पहिलो आईएसओ सर्टिफाइड ल्याबबाट उत्पादित लेन्सको लोकप्रियता बढ्दै गएको छ। ल्याब प्रमुख सुजन रञ्जितकारका अनुसार, हालसम्म झन्डै ६५ लाख लेन्स उत्पादन भइसकेको छ। जसमध्ये आधा स्वदेशमै खपत भएको छ। आधा जति एसिया र युरोपमा निर्यात भएको छ। 

चीन, भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, इन्डोनेसिया, मंगोलिया, क्याम्बोडिया, भियतनाम, अफ्रिकाको पाँच/छ वटा मुलुक र युरोपमा समेत नेपाली लेन्स प्रयोग भइरहेको छ। 

‘नेपाली लेन्स विदेश निर्यात गरेर विदेशी मुद्रा स्वदेश भित्र्याउन सफल भएका छौं,’ प्रयोगशाला (एफएचआईओएल ल्याब) प्रमुख रञ्जितकारले भने, ‘झन्डै ७० वटा मुलुकमा निर्यात गरिसकेका छौं। विस्तारै अन्य मुलुकमा पनि निर्यात गर्न लागिपरेका छौं।’

झन्डै २५ वर्षको अवधिमा इन्ट्राअकुलर लेन्स ग्लोबल ब्रान्ड बन्न सफल भएको छ। प्रयोगशाला प्रमुख रञ्जितकारका अनुसार, अहिले वार्षिक झन्डै ४ लाख लेन्स उत्पादन भइरहेको छ। दीर्घकालीन लक्ष्य वार्षिक १० लाखभन्दा बढी उत्पादन गर्ने रहेको छ। त्यसका लागि मेसिन, जनशक्ति तथा पूर्वाधारको चुनौती छ। प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पीताम्बर अधिकारीका अनुसार, तत्कालै पनि झन्डै १० लाख लेन्स उत्पादन गर्न सकिने बताउँछन्।

‘कच्चा पदार्थको आपूर्ति र पूर्वाधारको व्यवस्था हुने हो भने अहिले नै १० लाख उत्पादन गर्न सकिन्छ।’ उनले भने। 

आँखा विश्वविद्यालय

रुइत संस्थापक रहेको तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको आँखा अस्पतालहरूमा दैनिक सयौं बिरामीको भीड लाग्छ। तिलगंगा आँखा अस्पतालको बहिरंग विभागमा मात्रै दैनिक झन्डै १५ सय बिरामीहरू सेवा लिन आउँछन्। 

एक सयभन्दा बढी बिरामीको सर्जरी हुने गरेको छ। आँखाका नानी संकलन तथा प्रत्यारोपण गर्ने लक्ष्यका साथ सन् १९९४ मै तिलगंगाले ‘नेपाल आँखा बैंक’ स्थापना गरेको थियो। तर, स्थापनाको वर्ष दुई वटा मात्र नानी संकलन भएको थियो। मरणोपरान्त आँखा दान गर्नेहरूको बढ्दो संख्यासँगै अहिले आँखाको नानी (कोर्निया) निकालेर प्रत्यारोपण गर्ने काम भइरहेको छ। 

प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पीताम्बर अधिकारीका अनुसार, तिलगंगाले उपचारका साथै लेन्स उत्पादन, अध्ययन अनुसन्धान र विशेषज्ञ डाक्टरसमेत उत्पादन गर्दै आएको छ। ‘विदेशबाट आएका चिकित्सकहरूलाई पनि छोटो अवधिको फेलोसिप दिन्छौं। स्वदेशी/विदेशी चिकित्सकलाई विभिन्न तालिम पनि दिइरहेका छौं,’ उनले भने,‘ आँखासम्बन्धी रोगहरूको बारेमा पनि अध्ययन अनुसन्धान भइरहेको छ।’ प्रतिष्ठानअन्तर्गत विभिन्न जिल्लामा रहेका आँखा अस्पताल एवं सामुदायिक आँखा केन्द्रहरूमार्फत आँखा सेवा प्रवाह भइरहेको छ। 

काठमाडौं उपत्यका बाहिर पनि शिविर सञ्चालन गरी अप्रेसन भइरहेको अधिकारीले जानकारी दिए।
 विश्व स्वास्थ्य संगठनले कोलाबोरेटिङ सेन्टरका रूपमा प्रतिष्ठानलाई मान्यता दिएको छ। आँखा उपचार क्षेत्रमा यस्तो मान्यता पाउने तिलगंगा नेपालको पहिलो संस्था हो। डब्ल्यूएचओको मान्यतासँगै तिलगंगा अन्तर्राष्ट्रिय रेफरल सेन्टरको ख्याति पाएको छ। 

प्रमुख सञ्चालन अधिकृत अधिकारी भन्छन्, ‘तिलगंगालाई अझैं उचाइमा लैजान सकिन्छ। राज्यले सहयोग गर्नुपर्छ। आँखा स्वास्थ्यमा मात्रै केन्द्रित रहेर मानक विश्वविद्यालयमा परिणत गर्न सकिन्छ। आँखा विश्वविद्यालय बनाउन सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.