पर्या-पर्यटन

पर्या-पर्यटन

नेपाल जैविक विविधता र सांस्कृतिक सम्पदाले सम्पन्न राष्ट्र हो। नेपालको पर्यटन क्षेत्र विकासको मुख्य आधार नै यहाँका संरक्षित क्षेत्रहरू हुन्। पर्या पर्यटनको प्रचुर सम्भावना बोकेका १२ वटा राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ सिकार आरक्ष, ६ संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्रहरूले देशको २३.३९ प्रतिशत भूभाग ओगटेको छ। 

चितवन राष्ट्रिय निकुञ्ज

नेपालमा सबैभन्दा बढी बाघ र एकसिंगे गैंडा पाउने निकुञ्जका रूपमा यस राष्ट्रिय निकुञ्ज परिचित छ। नेपालमा ३ सय ५५ वटा बाघ रहेकोमा यस निकुञ्जमा मात्र १ सय २८ वटा रहेको छ। त्यसैगरी नेपालभर पाइने ७ सय ५२ वटा गैंडामध्ये यस निकुञ्जमा मात्र ६ सय ९४ गैंडा रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए। 

२०३० सालमा स्थापित चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो। विश्वमै दुर्लभ एकसिंगे गैंडालाई निकुञ्जले संरक्षण गर्न सफल भएको छ। यहाँ ५ सय ४६ भन्दा बढी जातका चराचुरुंगी पाइन्छन्। विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्ज भ्रमणका लागि कोभिडपछिका वर्षहरूमा पर्यटकको संख्यामा वृद्धि हुँदै गएको तिवारीको भनाइ छ। 

उनका अनुसार गत आर्थिक वर्षमा १ लाख ९० हजार पर्यटकको आगमनले साँढे ११ करोड राजस्व संकलन गरिएकोमा यस वर्ष चैत्र मसान्तसम्ममा २ लाख २० हजार पर्यटकको आगमनसहित १९ करोड ८ लाख राजस्व संकलन भएको छ। 

खप्तड राष्ट्रिय निकुञ्ज

खप्तड राष्ट्रिय निकुञ्ज २०४२ सालमा स्थापना भएको हो। यसको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर छ। २०६३ सालमा स्थापना भएको यसको मध्यवर्ती क्षेत्रको क्षेत्रफल २ सय १६ वर्ग किलोमिटर छ। बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको यस निकुञ्जले मध्यपहाडी वातावरण, वन्यजन्तु र वनस्पतिको प्रतिनिधित्व गर्छ। 

यहाँ सल्ला, खसुर र निगालाका जंगलहरू बढी छन्। साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान पनि छन्। रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर आदि वन्यजन्तुका साथै डाँफे, मुनाललगायतका चराचुरुंगी पनि पाइन्छन्। 

पर्सा राष्ट्रिय निकुञ्ज 

केही दशकअघिसम्म चारकोशे झाडीको रूपमा चर्चित पर्सा राष्ट्रिय निकुञ्ज चितवन, मकवानपुर र पर्सामा पर्छ। अग्लो चुरे पर्वतले यहाँको भूमि ढोकेको छ। ९० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ। ढुंगा, गिट्टी, बालुवालगायतका वन पैदावारको बढ्दो मागले चुरे दोहन बढेको छ। 

विभिन्न निकुञ्जको जैविक विविधता संरक्षणका लागि चुरे संरक्षण अति आवश्यक रहेको राष्ट्रिय चुरे तराई मधेस संरक्षण विकास समितिका पूर्व बोर्ड सदस्य डा. विजयकुमार सिंहले बताए। ‘बनावटका हिसाबले सबैभन्दा संवेदनशील क्षेत्र चुरे हो, त्यसले यसको संरक्षणले मात्र जैविक विविधता जोगाउन सकिन्छ’, उनले भने। 

बर्दिया राष्ट्रिय निकुञ्ज 

तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज हो। यो नेपालमै सबैभन्दा दोस्रो धेरै बाघ रहेको निकुञ्ज हो। देशभर पाइने ३ सय ५५ बाघमध्ये यस निकुञ्जमा १ सय २५ वटा बाघ पाइन्छन्। 

बर्दियाका पर्यटन व्यवसायी रामजी थापाका अनुसार यस निकुञ्जमा बर्सेनि आउने हजारौं पर्यटकमध्ये अधिकांश बाघ हेर्न आउने गरेका छन्। उनले भने, ‘यहाँका बाघ मान्छेलाई देख्नेबित्तिकै लगाउने गर्छ। यहाँका बाघमा देखिने यिनै प्राकृतिकपन र जंगलीपनलाई हेरेर धेरै पर्यटक रमाउने गर्छन्।’

बाँके राष्ट्रिय निकुञ्ज 

पाटेबाघ र हात्तीको महत्त्वपूर्ण बासस्थानको रूपमा यस निकुञ्ज रहेको छ। यस निकुञ्ज जैविक विविधिताका दृष्टिकोणले निकै धनी मानिन्छ। यहाँ आठ वटा पारिस्थितिक प्रणाली, १ सय २४ वटा वनस्पतिका प्रजाति, ३२ प्रजातिका स्तनधारी जनावरहरू, तीन सयभन्दा बढी प्रकारका चराहरू र ५८ प्रजातिका माछाहरू पाइन्छन्। यहाँ २२ प्रजातिका सरीसृप र ५ प्रजातिका उभयचरहरू पाइन्छन्। 

मनास्लु वरुण राष्ट्रिय निकुञ्ज

समुद्री सतहदेखि ४ सय ३५ मिटर उचाइदेखि ८ हजार ४ सय ६३ मिटर अग्लो विश्वको पाँचौं अग्लो हिमाल मकालु हिमशिखरसम्म यो निकुञ्ज फैलिएको छ। यहाँको भू–बनोट र पूर्वी हिमालयको भारी मनसुनी वर्षाले निकुञ्ज जैविक विविधता र जडीबुटीको भण्डारको रूपमा रहेको छ। 

उचाइ र हावापानीको विविधताले गर्दा यहाँ धेरै किसिमका वनस्पति र वन्यजन्तुहरू पाइन्छन्। कस्तुरी मृग, हिमाली कालो भालु, हिउँ चितुवा, रातो पाण्डालगायत ४ सय ३१ प्रकारका चराचुरुंगीले यस निकुञ्जलाई आफ्नो बासस्थान बनाएका छन्। 

रारा राष्ट्रिय निकुञ्ज

मुगु र जुम्ला जिल्लामा फैलिएको यस निकुञ्जको मुख्य आकर्षण रारा ताल हो। रामसार सूचीमा सूचीकृत यस तालको अन्तर्राष्ट्रिय महत्त्व उत्तिकै छ। नेपालकै सबैभन्दा ठूलो यस ताललाई हेर्न बर्सेनि हजारौं पर्यटक निकुञ्ज पुग्ने गरेका छन्। यस निकुञ्जमा हिमाली कालो भाले, हाब्रे, घोरल, झारल, कस्तुरी, मृग, बँदेललगायत ५१ प्रजातिका स्तनधारी वन्यजन्तु, डाँफे, मुनाललगायतका २ सय ७२ प्रजातिका चराचुरुंगी पाइन्छन्। 

नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछाको बासस्थान यो निकुञ्ज हो। यस निकुञ्जमा आउने पर्यटकमा बाह्यभन्दा आन्तरिक नै बढी रहेका निकुञ्जका वार्डेन विश्वबाबु श्रेष्ठले बताए। ‘रारा तालमा घुम्न आउने नेपाली बढी हुन्छन्। उहाँहरूलाई तालमा बोटिङ गर्न हाल आठ वटा रबर बोट सञ्चालनमा छन्’, उनले भने।

लाङटाङ राष्ट्रिय निकुञ्ज

उत्तरमा चीनको सिमानासम्म पुगेको यस निकुञ्जबाट निस्केका नदीहरू त्रिशूली र सुनकोसी तथा अन्य हिमालहरूले यसलाई सौन्दर्य प्रदान गरेको छ। यहाँ खाटे सल्ला, गब्रे सल्ला, गुराँसलगायतका वनस्पति पाइन्छ। पतझड सल्ला यस निकुञ्जको विशेषता हो। यहाँ चितुवा, रेड पाण्डा, कस्तुरी मृग, हिमाली भालु, थारलगायतका वन्यजन्तु पाइन्छन्। तिब्बती धर्मावलम्बीहरूको ‘बोन पो’ गुम्बा र हिन्दू धर्मावलम्बीहरूको तीर्थस्थल गोसाइँकुण्ड यही निकुञ्जमा पर्छ। 

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज 

पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको यस निकुञ्ज काठमाडौंबाट नजिकको निकुञ्ज हो। यस क्षेत्रलाई काठमाडौंको खानेपानीको मुख्य स्रोत मानिन्छ। २०५८ सालमा स्थापित यस निकुञ्ज १ सय ५९ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँ खोटे सल्ला, चिलाउने, कटुस, उत्तिस, खस्रु, बाँझ, गुराँसलगायतका वनस्पति पाइन्छनु। त्यसैगरी ३ सय १८ प्रजातिका चरा, १ सय २ प्रजातिका पुतली र १ सय २९ प्रजातिका च्याउ यहाँ पाइन्छन्। निकुञ्ज दुर्लभ ध्वाँसे चितुवाको बासस्थान पनि हो। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

बाह्रसिंगाको लागि प्रसिद्ध यस निकुञ्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ। यहाँको बढी भूभाग सालले ओगटेको छ भने सिसौ, खयरका साथै घाँसेमैदान पनि यहाँ छन्। नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुंगीको यो मुख्य बासस्थान हो। यहाँ पाटेबाघ, चितुवा, घोडगधा, जरायो, चित्तललगायतका जनावर पनि पाइन्छन्। रानी र अन्य तालहरूमा प्रशस्तै गोहीहरू पाइने यस निकुञ्जमा ४ सय २४ भन्दा बढी चराचुरुंगी छन्। 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

३ हजार ५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। डोल्पा र मुगुमा फैलिएको यस निकुञ्ज तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदाले धनी छ। हिउँ चितुवा, तिब्बती खरायो, तिब्बती गधा, नाउरलगायतका वन्यजन्तु र डाँफे, मुनाल, चिरलगायतका दुई सय प्रजातिका पन्छीहरू, पाँच प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतली यहाँ पाइन्छन्। निकुञ्जमा रहेको नेपालको सबैभन्दा गहिरो ताल शे–फोक्सुण्डो सन् २००७ मा रामसारमा सूचीकृत भएको थियो। 

सगरमाथा राष्ट्रिय निकुञ्ज

सोलुखुम्बु जिल्लामा रहेको यस निकुञ्जले विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेटेको छ। यहाँ ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लमलगायतका ६ हजार मिटरभन्दा अग्ला थुप्रै हिम चुचुराहरू छन्। यिनै चुचुराहरूले विदेशी पर्यटकलाई आकर्षित गरेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जले हिमाल आरोहणको राजस्वमार्फत विकास र समृद्धिमा ठूलो योगदान पुर्‍याएको छ। 

विश्वभरका मानिसले नेपाललाई सगरमाथाको देश भनेर चिन्छन्। नेपालको पहिचान विश्वभर पुर्‍याउने सगरमाथाले निकुञ्जको सान र गौरव अझै बढाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.