...अनि समातिए पूर्वगृहमन्त्री खाँण

...अनि समातिए पूर्वगृहमन्त्री खाँण
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण।

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार बिहान प्रहरीले मैजुबहालबाट पक्राउ गरेको छ। उनी मंगलबार दिउँसोदेखि मोबाइल अफ गरेर बसेका थिए। अर्का आरोपित एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि भागेका कारण खाँणप्रति प्रहरी चनाखो भएर बसेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसरको टोलीले खाँणको घरवरिपरि मंगलबार रातिदेखि नै निगरानी बढाएको थियो। उनलाई बुधबार बिहान नियन्त्रणमा लिन जरुरी पक्राउ पुर्जी तयार थियो। 

प्रहरी स्रोतका अनुसार बुधबार बिहान प्रहरी टोली पुग्दा पूर्वमन्त्री खाँण घरको माथिल्लो कोठामा थिए। श्रीमती मञ्जु खाँणसँग भिडियोमा कुराकानी गर्दै अमलेट खाने तयारीमा थिए। आफू समातिने सुइको पाएपछि उनले कोठामा चुकुल लगाएर आफूलाई भित्र ‘लक’ गरेका थिए। प्रहरीले बाहिर निस्कन पटक–पटक आग्रह गर्‍यो। तर, उनले आफू कुनै पनि हालतमा प्रहरी कार्यालय नजाने जिद्धि कसिरहेका थिए।

‘जे सोध्नु छ मलाई यहीँ सोध्नू। म किन जानु प्रहरी कहाँ ?’, पूर्वगृहमन्त्रीले प्रहरीसँग अड्डी कस्दै भनेका थिए, ‘के–के कागज गर्नु छ म यहीँ गर्छु। तपाईंहरू बढ्ता आतंक नगर्नुस्।’ आफूले कुनै पनि प्रकरणमा गलत काम नगरेको अडान लिँदै उनले घरबाहिर ननिस्कने जिद्धी गरेका थिए।

गिरोहले खाँणको नाममा आर्थिक कारोबार गरेको प्रमाण फेला पारिएको प्रहरी स्रोतले जनाएको छ।

खाँणको घर पुग्नासाथ प्रहरीले तल्लो तलाबाटै उनका निजी सहयोगी नरेन्द्र केसीलाई नियन्त्रणमा लिई गाडीमा राखेको थियो। माथिल्लो तलाबाट उक्त दृश्य हेरिरहेका खाँणलाई प्रहरीले तल बोलाएको थियो। एकैछिनमा आइहाल्छु भन्दै कोठाभित्र पसेका खाँणले निकै बेरसम्म ढोका खोलेनन्। अन्ततः प्रहरीले बल प्रयोग गरेर ढोका खोलेको थियो। निकै हतास मुडमा रहेका उनले त्यस बेला प्रहरीसँग खासै संवाद नगरेका स्रोत बताउँछ। 

प्रहरीकै गाडीमा जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइएका उनी मुद्दा कक्षमा झोक्राएर बसेका थिए। स्वास्थ्य परीक्षणका लागि अस्पताल जान उनले पटक–पटक अस्वीकार गरे। उनी भनिरहेका थिए, ‘जे–जे सोध्नु छ यही सोध्नुस्। म अदालत पनि जान्नँ। अस्पताल पनि जान्नँ।’ 

उनले खाना नखाई प्रहरी परिसरमै प्रेसरको औषधि मगाएका थिए। प्रहरी कर्मचारीले खाना खाएर औषधि लिन आग्रह गर्दा उनको जवाफ थियो, ‘खाना खानै मन छैन।’

उनी जिद्दी गरेरै भए पनि बुधबार घर फर्किने भन्नेमा थिए। अदालत र अस्पताल गयो भने हिरासतमा राख्न म्याद थप हुन्छ भन्ने बुझेरै उनले अटेरी गरिरहेका थिए। यसका लागि जस्तोसुकै कागज गर्न र बयान दिन उनी तयार भएको प्रहरी स्रोत बताउँछ। जसकारण दिउँसो ३ बजे मात्रै उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको थियो। null

प्रहरीले खाँणसँग बुधबार नै प्रारम्भिक बयान सकाएको छ। थप अनुसन्धानका लागि उनलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप गरिएको हो। परिसर प्रमुख कार्कीका अनुसार उनलाई प्रहरी बृत्त सिंहदरबारमा राखिनेछ। 

‘जे सोध्नु छ मलाई यहीँ सोध्नू। म किन जानु प्रहरी कहाँ ?’, पूर्वगृहमन्त्रीले प्रहरीसँग अड्डी कस्दै भनेका थिए, ‘के–के कागज गर्नु छ म यहीँ गर्छु। तपाईंहरू बढ्ता आतंक नगर्नुस्।’ आफूले कुनै पनि प्रकरणमा गलत काम नगरेको अडान लिँदै उनले घरबाहिर ननिस्कने जिद्धी गरेका थिए।

क्यामेराबाट छेकिन चाहन्थे खाँण

खाँणले पत्रकारको क्यामेराबाट जोगाइदिन पटक–पटक प्रहरीसमक्ष आग्रह गरे। उनी शौचालय जाँदा पनि दुई/दुई जना प्रहरीले छेकेर लगिरहेका थिए। परिसर पुगेका पत्रकार र फोटोग्राफरलाई प्रहरीले कार्यालय छिर्न नै अवरोध गरिरहेको थियो। मुद्दा कक्ष रहेको भवन प्रवेश गर्न पत्रकारलाई रोक लगाइएको थियो। 

खाँणको नाममा काटिएको थियो चेक, नगद पनि जम्मा 

गिरोहले खाँणको नाममा आर्थिक कारोबार गरेको प्रमाण फेला पारिएको प्रहरी स्रोतले जनाएको छ। नाम नबताउने शर्तमा एक प्रहरी अधिकृतले भने, ‘उहाँ (खाँण)की श्रीमतीको नाम अडियोमा आएको कारण उहाँलाई नियन्त्रणमा लिन मिल्दैन। यस प्रकरणमा गिरोहका मानिससँग पूर्वगृहमन्त्रीले नगद र चेक दुवै लिएको प्रमाण प्रहरीसँग छ। चेक किन दिइयो ? नगद किन जम्मा गरियो पुष्टि हुन बाँकी नै छ। अनुसन्धानको क्रममा पुष्टि होला। 

अपराधमा हाइप्रोफाइल नेक्सस

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पूर्वमन्त्री खाँणसहित तत्कालीन उच्चपदस्थ व्यक्ति पक्राउ परेका छन्। यो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललगायतले खाँणसहित उनकी श्रीमती मञ्जुलाई करोडौं रकम दिएको बयान दिएका छन्।

अघिल्लो साता पक्राउ परेका बहालवाला सचिव टेकनारायण पाण्डेले यसलाई पुष्टि गर्ने बयान खाँण प्रहरीको नियन्त्रणमा परेका हुन्। यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षाविज्ञ इन्द्रजित राई, बहालवाला सचिव पाण्डेसहित खाँण र पूर्वमन्त्री रायमाझी पनि जोडिएपछि हाइप्रोफाइल व्यक्तिको संलग्नतामै करोडौं ठगी भएको प्रमाण प्रहरीले फेला पारेको छ। 

१२ जना हिरासतमा 

यो प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलालसहित मोरङका सागर थुलुङ, पाँचथरका टंक गुरुङ र दाङका सन्देश शर्मा यसअघि नै पक्राउ परेका छन्। उनीहरूविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ। 

तत्कालीन मन्त्री थापाका सुरक्षा विज्ञ डा. राई मंगलबार बिहान पक्राउ परेका थिए। एमाले नेता रायमाझीका छोरा सन्दीप पनि हिरासतमै छन्। टोपबहादुर भने अझै फरार छन्। एमालेले सचिव रायमाझीलाई पदबाट निलम्बन गरेको छ। नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि पार्टीले उनलाई निलम्बन गरेको हो। अनुसन्धानमा प्रहरीलाई असहयोग गरेको भन्दै संसद्मा उनको विषयमा प्रश्न उठिरहेको छ। 

उपराष्ट्रपति कार्यालयका बहालवाल सचिव पाण्डे गत बुधबार पक्राउ परेका थिए। यसै प्रकरणमा मंगलबार साँझ थप २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारीका अनुसार यही गिरोहसँग मिलेर पैसा उठाएको आरोपमा मोरङका गोवीन्द्र चौधरी र टोखाका रामशरण केसी शंखमूलबाट पक्राउ परेका थिए। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा डा. राईका छोरा निरजको पनि संग्लनता भेटिएपछि उनीविरुद्ध पनि पक्राउपुर्जी जारी भएको छ । निरजलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन। भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाई प्रोफाइल व्यक्तिको पनि संग्लनता भएको आरोप लागेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो। 

अनुसन्धानकै क्रममा पूर्वगृहमन्त्री खाँणको पक्राउलाई राजनीतिक वृत्तमा तरंग ल्याएको छ। निष्पक्ष छानबिनका लागि सरकारसँग सांसदहरूले माग गरेका छन्।

बुधबार संसद्मा बोल्दै सांसदहरू राजेन्द्र लिङदेन, गगन थापा, पृथ्वी सुब्बा गुरुङ लगायतका सांसदले निष्पक्ष छानबिनको माग गरे। डा. राई र तत्कालीन गृहसचिव पाण्डेको प्रारम्भिक बयानका आधारमा शरणार्थी प्रकरणमा रायमाझी बाबुछोराको संग्लनता देखिएको हो। पाण्डेले बयानमा भनेका छन्, तत्कालीन गृहमन्त्री खाँणकै आग्रहमा फाइल अगाडि बढाएको हुँ। 

अन्नपूर्ण पोस्ट्लाई प्राप्त स्रोतका आधारमा प्रहरीले टोपबहादुरका छोरा सन्दीप रायमाझीको नाममा काटिएको डेढ करोडको चेक पनि बरामद गरेको छ। अनुसन्धानमा सक्रिय प्रहरीका अनुसार यसअघि पक्राउ परेका सानु भण्डारीको बयानमा डा. राईलाई १ करोड ५० लाख दिएको उल्लेख छ। ललितपुरका भण्डारीले आफ्नो डायरीमा ३ पटक डा. राईलाई नगद लिएको विवरण उल्लेख गरेका छन्। डायरीमा उल्लेख गरिएको विवरणअनुसार डा. राईले ५० लाख, ३५ लाख र ६५ लाख गरेर ३ किस्तामा १ करोड ५० लाख लिएको बताएका छन्। यस्तै पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आरोपीहरूले १ करोड ५० लाख बुझाएको चेकसमेत प्रहरीले बरामद गरेको छ। यस्तै आरोपीहरूले तत्कालीन गृहसचिव पाण्डेलाई ५० लाख दिएको बयानमा उल्लेख गरेका छन्। 

प्रहरी अधिकृत भन्छन्, ‘पीडितहरूले राईलाई पैसा बुझाएको प्रमाण प्रहरीले प्राप्त गरेको छ। उनले गृहमन्त्री, गृहसचिवलगायत सरकारका उच्चस्तरीय व्यक्तिलाई पैसा बुझाउन पर्छ भन्दै पीडितसँग रकम उठाएको अनुसन्धानमा खुलेको छ। नक्कली शरणार्थी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईको पनि संलग्नता भएको भन्दै आरोपीले नाम लिएका छन्। 

यस प्रकरणमा नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय ‘यूएनएचसीआर’ ले नक्कली भुटानी प्रकरणमा नेपाल सरकारले गरेको छानबिनको स्वागत गरेको छ। नेपालस्थित कार्यालयले ठगी प्रकरणमा नेपाली नागरिकहरू ठगीमा परेको यो घटनामा चिन्ता व्यक्त गरेको छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.