घना बस्तीमै उद्योग, स्थानीय आजित

घना बस्तीमै उद्योग, स्थानीय आजित
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

 ढल्केवर(धनुषा) : उद्योग दर्ता र सञ्चालनमा विभिन्न सर्त मापदण्डहरू छन् । सरकारले उद्योग सञ्‍चालन गर्दा वातावरण प्रदूषण हुन नदिन उपयुक्त व्यवस्था गर्नुपर्ने,छरछिमेकलाई बाधा नपुर्‍याइ उद्योग सञ्चालन गर्नुपर्ने, उपभोक्ता संरक्षण ऐन नियम विपरित गर्न नपाइने,उद्योग सञ्‍चालन गर्दा उद्योगभित्र भइरहेका काम कारबाहीलाई मूल सडकबाट नदेखिने व्यवस्था गर्नुपर्ने,उद्योग सञ्चालन गर्दा निष्काशन हुने, खेर जाने पदार्थलाई उपयुक्त तरिकाले निराकरण गर्नु पर्नेजस्ता बुँदाहरूलाई प्राथमिकतामा राखेर शर्तहरू तोकिएका छन्।

नेपालको संविधान २०७२ को धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हक प्रत्याभूत गरेको छ । पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रासबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक सोही धाराको उपधारा(२)मा उल्लेख छ ।

वास्तवमा मानव स्वास्थ्यसँग प्रत्यक्षरुपमा वातावरणीय पक्ष जोडिएकाले स्वच्छ वातावरणको कानुनी आधार तयार गरिएको हो । वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ ले पनि वातावरणीय ह्रासबाट मानव जातिलगायत सम्पूर्णमा प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्न र प्राकृतिक स्रोतको समुचित उपयोग गर्न विविध व्यवस्था गरेको छ । तर,उक्त व्यवस्थालाई ठाडो चुनौती दिँदै धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा पशुपति प्लाइ बोर्ड उद्योग निर्वाध सञ्चालनमा रहेको छ । उद्योग खोल्नका लागि सरकारले मापदण्ड तोकेपनि उद्योग सञ्चालकले अटेर गरेर आर्थिक चलखेलका आधारमा विना रोकटोक उद्योग सञ्चालन गरिराखेका छन् । 

तर, नियमनकारी निकायलाई आर्थिक प्रलोभनमा पारेर मापदण्ड विपरित सञ्चालित पशुपति प्लाइबोर्ड उद्योगले यस्ता शर्तहरूलाई धज्जी उडाइरहेका छन् । सरकारले ईआईए गरेर उद्योग सञ्चालन गर्ने प्रावधान बनाए पनि आर्थिक चलखेलमा ईआईए नगरी उद्योग सञ्चालन गर्ने अनुमति दिइएको स्थानीयको आरोप छ । 

घना मानवबस्तीसँगै खोलिएको पशुपति प्लाइबोर्ड उद्योगबाट निस्कने धुँवा र धूलोका कारण स्थानीय आजित भइसकेका छन् । उद्योगले सामान्य ढल समेत व्यवस्थापन गर्न नसकेको स्थानीय शिवकुमार महतोले गुनासो गरे । 

‘धुँवा त धुँवा धूलोले झन् तान्डव मच्चाको छ । माथिबाट धुँवा र बाहिर वरिपरी ढलको फोहोर र पानीले आजित भइसकेका छौं,’आक्रोश पोख्दै महतोले भने, ‘अब सहन सक्ने स्थिति छैन ।’

उद्योगहरूले प्रत्यक्ष असर गर्न थालेपछि स्थानीयले विभिन्न निकायमा पुगेर विरोध गरेपनि कसैले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ । मापदण्ड विपरितको उद्योग सञ्चालनमा जनप्रतिनिधि र स्थानीय केही टाठाबाठाहरूकै संरक्षण रहेको उनीहरूको दावी छ । 

‘यसअघिका जनप्रतिनिधि र केही नेता भनाउँदाले नै त्यहाँ(उद्योग)बाट महिनबारी भत्ता असुली गथ्र्यो,’नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भने, ‘अहिलेका जनप्रतिनिधिको विषयमा स्योर छुँईन । यिनीहरुले पनि त केही गरेका छैनन् । यिनीहरूमाथि समेत शंका गर्ने ठाउँहरु प्रशस्त छ ।’

उद्योगबाट निस्कने धूलो र धुवाँका कारण मानिसमा विभिन्न दीर्घ रोग लाग्नुका साथै दम,मधुमेह,नाक,कान,आँखा र घाँटीसम्बन्धी समस्या निम्त्याउने खतरा रहेको स्थानीय स्वास्थ्यकर्मी बताउँछन् । उद्योगको अटेरीले स्थानीयलाई जीवनयापनमा हम्मेहम्मे बनाएको मिथिला ब्याडमिन्टन क्लवका अध्यक्ष सन्तोष कुमार महतो बताउँछन् ।

 ‘प्रदूषण फैलाउने यहाँका उद्योगको अटेरीले सीमा नाघिसकेको छ । उद्योगलाई व्यवस्थित गर्न स्थानीयको पटकपटकको आग्रहलाई उद्योगीले लत्याइरहेको छ,’अध्यक्ष महतो भन्छन्, ‘उद्योगीले नै स्थानीयलाई संघर्षको बाटोमा धकेलिरहेको छ । जुनसुकै बेला असहज स्थिति बन्न सक्छ ।’

यसअघि मापदण्ड विपरित सञ्चालित उद्योगहरू व्यवस्थित गर्न मिथिला उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीयले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएका थिए । स्थानीयले मिथिला नगरपालिका, वडाकार्यालय,ईलाका प्रहरी कार्यालय र सम्बन्धित उद्योगलाई समेत ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापनपत्र बुझाएको ८ महिनाभन्दा बढी भइसक्दा पनि कुनै निकायले तदारुकता नदेखाएको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साह(सन्तोष)को गुनासो छ । ‘उद्योग नै बन्द गर्नुपर्छ भनेर भनेका छैनौ नि । पटकपटक व्यवस्थित गर्न भनेका हौं । तर, व्यवस्थित गर्न न उद्योगले टेरेको छ नत नगरपालिकाले कुनै कदम चालेको छ,’अध्यक्ष साह भन्छन्, ‘या त उद्योगको नजिकबाट मानवबस्ती सार्नु पर्‍यो वा उद्योगलाई उचित स्थानमा पर सार्नुपर्‍यो ।'

नागरिक स्वस्थ भए मात्र नगर स्वस्थ रहने उनी बताउँछन् । ‘जसरी भएपनि व्यवस्थित हुनुपर्‍यो,’साह भन्छन्,‘यहाँ प्रदूषणमुक्त वातावरण निमार्ण होस् भन्ने हाम्रो मुख्य चाहना हो ।’

पशुपति प्लाईबोर्डलगायतका उद्योगहरूले स्थानीय निकायसमक्ष समेत अनुमति नलिएको र स्थानीय निकायमा बुझाउनुपर्ने कर समेत नबुझाएको मिथिला नगरपालिकाको कार्यालय श्रोतले जनाएको छ । उद्योगलाई पटकपटक पत्राचार गर्दा पनि केही उद्योग मात्र सम्पर्कमा आएको मिथिला नगरपालिकाका प्रवक्ता समेत रहेका मिथिला नगरपालिका वडा नं ७ का वडाअध्यक्ष रामबहादुर स्याङदनले बताए ।

स्थानीयहरूको व्यापक जनगुनासोपछि पशुपति प्लाईबोर्ड उद्योगलाई कागजात ईआईएसहितको कागजातहरू उपलब्ध गराउन निर्देशन दिइएको उनले बताए । ‘स्थानीयहरू उद्योगको धुलोधुँवा र फोहोरबाट अत्यधिक पीडित छन् । प्लाईबोर्ड उद्योगलाई ईआईएसहितको कागजातहरु उपलब्ध गराउन भनेको छौं । यसमा अध्ययन गरेर मात्रै थप कुराहरु भन्न सकिन्छ,’प्रवक्ता स्याङदनले भने, ‘उद्योगहरुलाई मापदण्डभित्र ल्याएर व्यवस्थित गरिनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.