थानकोटमा किशोरीलाई आत्मरक्षा तालिम
तालिममा कक्षा ७ देखि ९ सम्मका ४० जना छात्रा सहभागी भएका जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रुपा थापा मगरले जानकारी दिइन्। बिहीबार र शुक्रबार सञ्चालन भएको तालिममा काठमाडौं क्षेत्रका १० सामुदायिक विद्यालयबाट चुनिएका विद्यार्थी सहभागी थिए।
काठमाडौं : काठमाडौं जिल्ला युवा समितिको आयोजनामा भएको दुई दिने आत्मरक्षा तालिमको शुक्रबार समापन गरिएको छ। छात्राहरुमा आत्मावल र आत्मविश्वास बढाउने उद्देश्यले थानकोटस्थित मंगलोदय माध्यामिक विद्यालयमा दुई दिने आत्मरक्षा तालिम भएको हो।
तालिममा कक्षा ७ देखि ९ सम्मका ४० जना छात्रा सहभागी भएका जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रुपा थापा मगरले जानकारी दिइन्। बिहीबार र शुक्रबार सञ्चालन भएको तालिममा काठमाडौं क्षेत्रका १० सामुदायिक विद्यालयबाट चुनिएका विद्यार्थी सहभागी थिए।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमा आले मगरले महिलालाई थप शक्तीकरण गर्न आवश्यक रहेको बताइन्। मंगलोदय माद्यमिक विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपालीले महिला आत्मरक्षा तालिमले किशोरीहरुमा प्रतिरक्षा गर्ने बानीको विकास हुने बताए।
काठमाडौं जिल्ला युवा समितिका अध्यक्ष रूपा थापा मगरले किशोरीमाथि हुने गरेका नकारात्मक छुवाइको प्रतिकार गर्ने र आफ्नो सुरक्षा आफै आत्मविश्वासको साथ गर्न तालीमले भूमिका खेल्ने बताइन्। थानकोट बृत्तका डिएसपी नारायणप्रसाद अधिकारीले आत्मरक्षा तालीमले किशोरीको नेतृत्व विकासमा भूमिका खेल्ने बताए।
तालिमको प्रशिक्षकमा नेपाल मार्सल सेल्फ डिफेन्स एसोशियसनका वरिष्ठ प्रशिक्षक राधिका ऐर हमाल, सहप्रशिक्षक विमला क्षेत्री, अनिताकुमारी खरेल गौतम, शर्मिला रेग्मी रहेका थिए।