भ्रष्टाचारविरुद्ध जनआन्दोलनको झल्को

भ्रष्टाचारविरुद्ध जनआन्दोलनको झल्को

मुलुक आर्थिक संकटमा फसिरहेको समयमा भ्रष्टाचार मौलाएको यी घटनाहरूले देखाउँछन्। त्यसैकारण मुलुकमा बेरोजगार र महँगी बढेको छ।

काठमाडौं : विगतमा विभिन्न व्यवस्था परिवर्तनका लागि जनआन्दोलन भएका थिए। त्यसले मुलुक र नागरिकको अवस्थामा परिवर्तन ल्याउँछ भन्ने आशा थियो।

मुलुकको बागडोर सुम्पिएकाहरू नै कुशासनमा लागेपछि जनता फेरि भ्रष्टाचारविरुद्ध जागेका छन्। नक्कली शरणार्थी प्रकरणसहितका अन्य काण्डमा मुछिनेमा पूर्वमन्त्रीहरू नै रहेपछि नागरिकमा अझै आक्रोश बढेको छ। 

मुलुक आर्थिक संकटमा फसिरहेको समयमा भ्रष्टाचार मौलाएको यी घटनाहरूले देखाउँछन्। त्यसैकारण मुलुकमा बेरोजगार र महँगी बढेको छ। अब यी सबै कुरा नागरिकले बुझेका छन्। भ्रष्टाचार कसरी भइरहेको छ भन्ने कुरालाई पछिल्ला चर्चित घटनाक्रमले उदाहरणका रूपमा खुलाएको छ। त्यसैले अब नागरिक सडक र सामाजिक सञ्जालमा ओर्लिएका छन्। खबरदारी गर्न सुरु गरेका छन्। null

‘भ्रष्टाचारविरुद्ध एक हौं’ भन्दै शनिबार काठमाडौं, पोखरालगायतका विभिन्न स्थानमा स्वतस्फूर्त उत्रिएका नागरिकको आक्रोशले भ्रष्टाचारविरुद्ध अर्को जनआन्दोलन हुँदैछ भन्ने छनक दिएको छ। भ्रष्टाचार रोक्नुपर्छ भन्ने यो कदम सही हो। जबसम्म भ्रष्टाचारको जरो उखेलिँदैन तबसम्म अनुसन्धान र कारबाही पनि रोकिनु हुँदैन भन्ने उनीहरूको माग छ। यसै विषयमा केही व्यक्तिसँग लिएको प्रतिक्रिया प्रस्तुत गरेका छौं। 

भ्रष्टलाई कारबाही हुनुपर्छ
नीलाम्बर आचार्य, संविधानविद् 

धेरै अपराधमा संलग्नहरू राज्यको नेतृत्वमा रहेका व्यक्तिहरूसँग जोडिएका छन्। सबै अपराधको तथ्य पत्ता लगाउनुपर्छ र त्यसमा जोडिएकालाई दण्डित गर्न सरकारले खुट्टा कमाउनु हुँदैन। उनीहरूलाई कारबाही गर्न सकेन भने राज्य असक्षम देखा पर्छ। सरकारलाई दबाबका लागि आन्दोलनै गर्नुपर्ने स्थिति हुन्छ। अहिले त राज्यले आफ्नो काम देखाउन सुरु गरेको छ। यो कामलाई अगाडि बढाओस्। अपराधको जालोलाई फुटाइ छाड्नुपर्छ।

दण्डहीनताको स्थिति अन्त्य होस्। अहिलेसम्म बिगिँ्रदै आएको थियो। अब त्यस्तो नहोस्। राज्यका मान्छेहरू यसरी अपराधमा संगठित हुँदा राज्य नै विफल हुने खतरा हुन्छ। पछिल्ला घटनामा दलका प्रभावशाली व्यक्तिहरूको नाम आइरहेको छ। तिनीहरू समक्ष राज्य हच्किन्छ कि भन्ने जनतामा शंका छ। हच्कियो भने मुलुकका लागि दुर्भाग्य हुन्छ। अनि जनता के गर्छ ? भन्न सकिँदैन। त्यसैले जनताले पनि यसरी सचेत भएर दबाब दिइरहनुपर्छ। 

जनताले नै दण्डित गर्छन्   
हरिवंश आचार्य , वरिष्ठ हास्यकलाकार

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने काम गरेर राजनीतिक कार्यकर्ता, नेताहरू एकदमै तल्लोस्तरमा ओर्लिए।  यो लाजमर्दो विषय हो। २०४६ देखिको आन्दोलनमा हामी पनि लागेका हौं। यिनीहरू यस्तो विधि तल खस्छन् भन्ने लागेको थिएन। हामीले कहिल्यै सोचेका पनि थिएनौं। नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने बहुचर्चित प्रकरणले हाम्रा मित्र राष्ट्रहरूलाई पनि यिनीहरूले धोका दिएका छन्। यो नेपालको मात्रै होइन् अन्तर्राष्ट्रिय अपराध हो। यी अपराधीहरूलाई फेरि पनि सामसुम पारेर यत्तिकै छोडियो भने यस्ता अनगिन्ती घटनाहरू फेरि हुन्छन्।

त्यसकारण यो मौकामा हो, भ्रष्टाचारीहरू नउम्किने गरी कारबाही गर्नुपर्छ। कारबाही नभएसम्म जनताले कुनै पनि हालतमा आन्दोलन फिर्ता लिनु हुँदैन। भ्रष्टाचारमात्रै होइन, दण्डहीनता पनि बढेको छ। जे गरे नि कस्ले के गर्न सक्छ ? भन्ने मनोबल बढ्यो। त्यसले दण्ड नपाएको हुनाले भ्रष्टाचारीहरूको मनोबल बढ्दै गयो। अब त्यस्तो हुनु हुँदैन। 

नरोकियोस् अनुसन्धान
डा. गोविन्द केसी 

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन सुरु भएको छ। नेपाल प्रहरीले अनुसन्धानका क्रममा खुट्टा नकमाओस्। यसअघि भएका विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका नेताहरू पनि जनताप्रति जवाफदेही हुनुपर्छ। अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष रूपमा विस्तृत छानबिन हुनुपर्छ। जनताले सडकमा उत्रेर दबाब दिइरहेका छन्।

जुनसुकै पार्टीको पनि शीर्ष नेताहरू स्वच्छ हुने हो भने तल्लो तहको कार्यकर्तामा भ्रष्टाचार गर्ने आँट आउँदैन। नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्षस्थ नेताहरू दोषी पाएको अवस्थामा उनीहरूलाई पनि कारबाही गर्नुपर्छ। 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिले फरार भएका छन्। निर्दोष हुन् भने उनले पनि प्रहरीलाई अनुसन्धानमा सघाउनु पर्छ। निर्दोष हो भने किन फरार भएको ? अनुसन्धानमा मुछिएका व्यक्तिलाई जोगाउने कार्यमा कुनै पनि दलको शीर्ष नेतृत्व नलागोस्। दोषीलाई उम्काउनेको खैरियत छैन। जनताले हेरिरहेका छन्।

खबरदारी गरौं
भोजराज पोखरेल,पूर्वसचिव 

जो सुकै होस् भ्रष्ट भ्रष्ट नै हो। कुनै बहानामा भ्रष्ट छुट्नु भएन। भइरहेको अनुसन्धान परिणाममुखी बनोस्। अनुसन्धानमा कुनै पनि दबाब नहोस् भन्ने खबरदारी गर्दै आरोपितलाई कानुनी प्रक्रियामा ल्याउन प्रहरीले खेलेको भूमिकाको लागि धन्यवाद दिने यो मानव साङ्लोमा सहभागी हुन पाउँदा गर्व लागेको छ।

भ्रष्टाचारविरुद्धमा घरघरबाट उठौं। राष्ट्र खाने यो किरालाई नष्ट गर्न सबै लागौं। पैसाको लागि राष्ट्रकै शिर निहुरिने घृणित अपराध कार्यमा अगुवा र तिनको संरक्षण गर्ने कोही पनि यो वा ऊ बहानामा उम्किन नपाऊन्। सबैले खबरदारी गरौं। 

जनता अब झुक्किँदैनन्

बलराम केसी, पूर्वन्यायाधीश  
राजनीति व्यक्तिकेन्द्रित हुँदा मुलुक बिरामी जस्तो अवस्थामा छ। जनता र मुलुकको अवस्थामा सुधार आउला भन्ने आसमा हरेक जनआन्दोलनमा जनता सहभागी भए। तर, नेताहरू सुध्रिएनन्। भ्रष्टाचारमा लिप्त देखिए। मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता खतरामा छ भन्दै नागरिकको ध्यान अन्यत्रै मोड्न खोज्छन्, नेताहरू।

शीर्ष भनिएका नेताहरूको बोलेको र तस्बिर देख्नेबित्तिकै जनताले टेलिभिजन बन्द गर्छन्। जनताको चेतनास्तर बढेको छ। नेताहरूले झुक्याएको अब जनताले थाहा पाउने भइसके। अब झुक्याउँदैमा झुक्किनेवाला छैनन्। त्यसैले भ्रष्टाचारविरुद्ध जनता सडकमा उत्रिएका हुन्। जनताको आन्दोलन हिंसात्मक नभई नरम र सिर्जनात्मक हुनु जरुरी छ।


कानुन सबैलाई उही

कृष्ण पहाडी, संस्थापक सभापति, मानव अधिकार तथा शान्ति समाज 

नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथिको घात हो। प्रहरीले गरिरहेको अनुसन्धान परिणाममुखी होस् भन्ने चासो र चिन्ता सर्वत्र छ। जुन सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको छ। प्रमुख दलका शीर्ष नेताहरूको अस्वाभाविक दौडधुपले अनुसन्धान प्रक्रियालाई असर पार्ने सम्भावना प्रबल देखिएको छ।

यस सम्बन्धमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरूको सूक्ष्म अध्ययन/अनुसन्धान गरी गहिराइमा छानबिन हुनुपर्छ। दोषीहरू प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन् कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्छ। घटनाक्रमले उक्त प्रकरणमा शीर्ष राजनीतिज्ञहरूसहित उच्च पदस्थहरूको संलग्नता भएको देखाऊँ। शीर्ष नेतासहित जो कोही हुन कानुनसम्मत कारबाही हुनुपर्छ।

यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्तिहरू रहस्यमय तवरमा गायब हुनुले राजनीतिक संरक्षण भएको देखिन्छ। यो प्रकरणमा संलग्नहरूलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको अभ्यासको शान्ति समाज निन्दा गर्दछ।

आन्दोलन आवश्यक
पद्मिनी प्रधानांग, अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनल 

भ्रष्टाचार यति बढ्यो कि यसविरुद्ध आन्दोलन नगरी हुँदैन। यस्तै अवस्था रहिरहने हो भने भ्रष्टाचारविरुद्ध मुलुकभर बृहत् आन्दोलन हुने दिन टाढा छैन। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको तदारुकतापूर्ण अनुुसन्धानको स्वागत गर्दछौं।

हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबाबबाट प्रभावित नहोस्। कुनै पनि बहानामा छानबिन शिथिल नहोस् र नरोकियोस्। प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेस गर्ने प्रपञ्च नरचियोस्। अपराधीहरू जुनसुकै पद र तहका भए पनि तिनलाई हदैसम्मको कारबाही होस जोडदार माग छ। 

आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असुली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लुट र मानव तस्करीको संगठित अपराधमात्र होइन, राज्यविरुद्धको, नागरिकविरुद्धको र मानवताविरुद्धको अक्षम्य अपराधसमेत हो।

जनआन्दोलनको छनक
केदारभक्त माथेमा, प्राध्यापक

जनतामा असन्तुष्टि बढ्दै गएको छ। अहिले युवा जनशक्ति विदेश पलायन भइरहेका छन्। आफ्नै मातृभूमिमा कुनै आशा नदेख्नेहरू बढेका छन्। जनता अहिले उकुसमुकुसको अवस्थामा छन्।

यसै बेला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरण सार्वजनिक भएको छ। यो विषय चानचुने काण्ड होइन। यसले मुलुकको राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि धुमिल्याएको छ। यो अति भो। जनता सडकमा नआई भएन। मुलुकलाई सही ट्र्याकमा ल्याउन पनि जनता उत्रनुपर्ने आवश्यकता टड्कारो भइसकेको छ। 

दल पनि सचेत हुनुपर्छ
रोशन जनकपुरी, लेखक  

नक्कली शरणार्थी प्रकरणलाई लिएर जनता सडकमा ओर्लिन थालेका छन्। यो राम्रो कुरो हो। जनयुद्ध, जनआन्दोलनपछि गणतन्त्रको स्थापना भयो। जनतासँग जोडिएको राज्य व्यवस्थाको अपेक्षा गरिएको थियो। त्यो पूरा हुन सकिरहेको छैन। राजतन्त्रभन्दा गणतन्त्र प्रगतिशील हो।  अझ संघीयताले जनता खुसी भएका थिए।

संस्थागत रूपमा राज्य व्यवस्थामा जब परिवर्तन आएन, अरू भ्रष्टाचारका काण्डहरू झन्झन् नयाँ किसिमले टाउको उठाउन थाल्यो। राजनीतिक पार्टीहरू भ्रष्टाचार नियन्त्रणभन्दा आफैं मुछिन गएको स्थिति छ। नेता र राज्यव्यवस्था जनताप्रति प्रतिबद्ध देखिएनन्। यसैको रुष्टता सडकमा प्रकट भइरहेको छ।

महँगी, बेरोजगारीले आफ्नो ठाउँमा टाउको उठाउँदै गएको छ। प्रतिगामी शक्तिहरू यो समस्या देखाएर खेल्न सक्छन्। यसमा हामी सबै सचेत हुनुपर्छ। मुख्यतया राजनीतिक पार्टीहरू नै सचेत हुन जरुरी छ।

नेताप्रतिको आस्था हरायो

डा. राजेन्द्र विमल, साहित्यकार 
दुभाग्यवश हाम्रो देशले कहिले पनि सही नेतृत्व पाएन। परिणमतः आजसम्म नेपालका बारेमा दल र नेताहरूले स्वतन्त्र निर्णय लिन सकेका छैनन्। हामी छाती ठोकेर मात्रै भन्छौं नेपाल एउटा स्वतन्त्र देश हो। तर, नेपाल आजसम्म स्वतन्त्र देश रहेको छैन।

शासकहरू भ्रष्ट हुनुमा जनतामा सचेतताको अभाव हो। जहाँ पब्लिक अवारनेस हुँदैन। चुनावमा रक्सी र मासुमा जनता बिक्छन्। दुई—चार करोडमा नेताहरूले पैसामै पार्टीहरूसँग सांसद र मन्त्री पद खरिद गर्छन्। पार्टीहरू फेरि विदेशीको कब्जा छन्। सम्पूर्ण देशहरू एउटा वस्तुमा परिवर्तित भएको छ। देश नै  बिक्रीमा गइरहेको अवस्था छ। भ्रष्टाचार, कमिसनखोरी, घुसखोरीले आमजनतामा न त कार्यपालिकाप्रति आस्था रहेको छ न त व्यवस्थापिकाप्रति विश्वास रहेको छ।

सरकारको कुनै पनि अंग र निकायमा जनताको आस्था रहेन। स्वंय पब्लिक पनि सचेत नभएकाले यो भयो। जबसम्म देशमा सही नेतृत्वको उदय हुँदैन र जनता सचेत हुँदैनन् तबसम्म लोकतन्त्र, गणतन्त्र टिक्दैन।

निगरानी बढाऔं
श्रवण मुकारुङ, साहित्यकार 

नेपालको सबैभन्दा ठूलो समस्या भनेकै भ्रष्टाचार हो। हामी सबैले बुझेका कुरा नै यही हो। जताततै भ्रष्टाचार छ। भ्रष्टाचारको मुहान थुन्न जनता नै उठ्नु पर्ने अवस्था आएको छ। त्यही भएर जनताहरू आएर सडकमा सुरुवात गरेका हुन्। माथिदेखि तलैसम्म भ्रष्टाचारले मुलुक आक्रान्त छ। भ्रष्टाचार र अपराधविरुद्ध सारा जनता उठ्नुपर्ने अवस्था आयो। जनताले अब भ्रष्टाचारीहरूलाई निगरानी गर्नुपर्ने समय आयो।

जनस्तरबाट दोषीहरूलाई कारबाही गर्न प्रेसर दिनुपर्छ। भ्रष्टाचार गर्नेको कमजोरी मात्रै होइन हामी यसविरुद्ध नबोल्नु पनि कमजोरी हो। भ्रष्टाचारविरुद्ध हामीले एकमत र निगरानी गर्न नसक्दा भ्रष्टहरूले भ्रष्टाचार गरेका हुन्। सबै तह र तप्काबाट आन्दोलनकै रूपमा भ्रष्टाचारविरुद्ध उभिनु पर्छ। अनिमात्रै मुलुक बन्छ। जनता सचेत नबने मुलुक डुब्ने अवस्थामा छ। 

जनता सचेत हुनुपर्छ 
धीरेन्द्र प्रेमर्षी 

भ्रष्टाचारविरुद्ध जनता सडकमा आउन अलिकति ढिलो भएको थियो। जनता सडकमै आइहाल्ने कुरो पनि हुँदैन। हेर्दै जाने हो, हेर्दै जाने हो, जब अति हुन्छ त्यसपछि जनताले आफ्नो मौनता तोड्छन्। अब केही गर्नुपर्छ भन्ने किसिमले जनता उठेका छन्। भ्रष्टाचारविरुद्धको रूप जनआन्दोलन जस्तै बन्छ। जनतामा एक किसिमको आक्रोश थियो। तर, आइहाल्ने त्यस्तो ठूलो विषय भेटिएको थिएन।

खुद्रे–खाद्रे भ्रष्टाचार आउँथ्यो। कारबाही गर्दागर्दै सेलाउथ्यो। जब नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने काण्ड आयो। यसमा राज्य संयन्त्रका व्यक्तिहरू संस्थागत रूपले लागेको देखियो। यसमा कुनै दल, व्यक्तिको कुरो छैन। जो राज्यको सिस्टममा पुगेका छन् उसले होल सिस्टमलाई नै भ्रष्ट बनाएको छ। यसको जालो चिर्नका लागि जनता जागेका छन्। यो विरोध व्यवस्थाको होइन। भ्रष्ट पात्रहरू विरुद्धको हो।

पात्रहरूको शुद्धीकरण गम्भीर चुनौतीको विषय हो। यो जागृति, आक्रोश, उत्थान एकदम उचित हो।  हामी घरघरबाट उठेर भ्रष्टाचारको विरुद्धमा जनमत तयार गर्नुपर्छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.