कोसी प्रदेश सरकारको आयोजनामा विराट–बर्जु हाफ म्याराथन हुँदै

कोसी प्रदेश सरकारको आयोजनामा विराट–बर्जु हाफ म्याराथन हुँदै
पत्रकार सम्मेलनको आयोजना गरेर विराट–बर्जु हाफ म्याराथन प्रतियोगिताका बारेमा जानकारी गराइँदै। तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले कोसी प्रदेश सरकारले पहिलो पटक विराट–बर्जु हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ। 

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी शनिबार आयोजना हुने खुला प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएको छ। 

खुला दौडमा सहभागी हुने धावकको नाम दर्ता र संकलन मोरङ एथलेटिक्स संघले गरिरहेको छ। मोरङको भेडियारीस्थित ऐतिहासिक विराट राजाको दरवार क्षेत्रदेखि सुनसरीको बर्जु तालसम्म लगभग २३ किलोमिटर दूरी तय गरेर प्रतियोगिता आयोजना गर्न लागिएको मन्त्रालयका सचिव डा. सञ्जीव राईले जानकारी दिए। 

उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउने धावकको विवरण उपलब्ध गराउन कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, सुनसरीको पकलीमा रहेको सशस्त्र प्रहरीको वराह बाहिनी मुख्यालय, नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर इटहरी, ७ वटै प्रदेश तथा कोसी प्रदेशका १४ वटै जिल्लाका एथलेटिक्स संघलाई पत्राचार गरिसकिएको छ। अन्य इच्छुकले पनि म्याराथनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। धावकको नामावली दर्ताको समय अगामी जेठ ४ गते दिउँसो ४ बजेसम्मका लागि तोकिएको राईले बताए। 

एथलेटिक्स संघका पूर्वकेन्द्रीय अध्यक्ष किरण गिरीले पुरुष र महिलातर्फ बढीमा १ सय जनाको सहभागिताका लागि आह्वान गरिएको जानकारी दिए। उनका अनुसार विराटनगर महानगरपालिका–१८ स्थित विराट राजाको दरवार क्षेत्रबाट दौड सुरु हुने छ। दौड अवधिभर स्वास्थ्य सेवाका लागि कोसी अस्पतालको सहयोगमा २ वटा एम्बुलेन्स र ११ जना स्वास्थ्यकर्मी परिचालन हुने गिरीले बताए। 

विराट राजाको दरवार संग्रहालयबाट शनिबार बिहान ६ बजे सुरु हुने दौडका लागि विराटनगर भन्सार (आईसीपी), कोसी लोकमार्ग, रोडशेष, बसपार्क, जनआन्दोलन चोक, भट्टीमोड चोक, केसिलया रोड, भीमपुर, रामगन्ज रोड, गोपी चोक, शुक्रबारे, चिमडी हुँदै बर्जु तालसम्मको रुट तय गरिएको छ। सुरक्षाका लागि नेपाल र सशस्त्र परिचालन गरिने तथा ट्राफिक एवं रुट व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइने भएको छ। 

दौडमा सहभागी धावकलाई म्याराथन उद्घाटनस्थलसम्म पुर्‍याउन विराटनगरको शहीद रंगशालाबाट २ वटा बसको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मोरङ एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजना हुने खुला प्रतियोगिताको उद्घाटन प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले गर्ने तय भएको छ। 

मन्त्री आचार्यका स्वकीय सचिव कपिल सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्धितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार नगद पुरस्कार पाउने छन्। त्यसबाहेक ३ जनालाई जनही १५ हजार रूपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने सुनारले बताए। 

उनका अनुसार महिलातर्फ ५ किलोमिटरको सडक दौड पनि आयोजना गरिने छ। त्यसमा प्रथमले २५, द्वितीयले २० हजार र तृतीय हुनेले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन्। दौड विराट राजाको दरवार क्षेत्रबाट सुरु हुने छ। ‘खुला म्याराथन र महिलातर्फको सडक दौड एउटै समयमा सुरु हुने छ,’ सुनारले भने, ‘५ किलोमिटर दूरी पार गरेपछि महिलातर्फको विजेता घोषणा गरेर म्याराथनलाई निरन्तरता दिइने छ।’ 

प्रतियोगिता आयोजना र सम्पन्न गर्नका लागि मन्त्रालयका सचिव डा. राईको संयोजकत्वमा १४ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। 

नेपाल र सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरू डीआईजी राजेशनाथ बास्तोला र अन्जनीकुमार पोखरेललगायत समितिका सदस्य छन्। राईका अनुसार प्रतियोगिता सम्पन्न गर्न १० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.