३२ औं त्रिवेणी कप पुस दोस्रो साता, पुरस्कार राशी १२ लाख
बेसीसहर : गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३२ औं संस्करण आगामी १२ पुसदेखि लमजुङ सदरमुकाम बेसीसहरमा सुरु हुने भएको छ ।
आयोजक त्रिवेणी युवा क्लबले शनिबार बेँसीसहरमा पत्रकार सम्मेलन गरी ३२ औँ त्रिवेणी कपबारे जानकारी दिएको हो।
प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। गत वर्ष प्रथम पुरस्कार नगद ८ लाख रहेको थियो । दोस्रो हुने समूहलाई रजत पदकसहित नगद छ लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद दुई–दुई लाख प्रदान गरिने क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए।
गतवर्ष उपविजेतालाई ४ लाख र सेमिफाइनल उपविजेता दुई समूहलाई नगद एक–एक लाख पुरस्कार थियो । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २५–२५ हजार रुपैयाँ दिइने छ । क्वाटरफाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा करिब एक करोड खर्च हुने अनुमान आयोजकले गरेको छ। प्रतियोगिता बेँसीसहरमा रहेको सहजी रंगशालामा हुनेछ।
जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका पूर्व अध्यक्ष लोकेन्द्र गुरूङले बताए।
जिल्लाकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता प्रारम्भिक वर्षहरूमा खेतका गराहरूमा एउटा खसी र भाले पुरस्कार राखेर आयोजना गरिएको थियो । प्रतियोगिताको ३२ औं संस्करणमा आइपुग्दा प्रथम पुरस्कार १२ लाख पुर्याउन पाउँदा खुसी लागेको आयोजक त्रिवेणी युवा क्लबका सचिव प्रविण वाग्लेले बताए।
प्रतियोगितामा आमन्त्रित रूपमा छ वटा विभागीय टिमसहित १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले पुसे पन्ध्र तथा तमु ल्होसारको अवसरमा बेसीसहरमा त्रिवेणी साँझ कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ ।
यसैविच क्लबका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य भेष बहादुर पौडेल गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री बनेकोमा सम्मान गरिएको थियो ।