मेलम्चीको पानी वितरण बन्द

मेलम्चीको पानी वितरण बन्द
सुन्नुहोस्

सिन्धुपाल्चोक  : मेलम्ची खानेपानी आयोजनाको मुहान तथा हेडवर्क्समा मर्मत सम्भार गर्नुपर्ने भएको जनाउँदै आयोजनाले काठमाडौं उपत्यकामा वितरण गर्दै आएको पानी बन्द गरेको छ।

२०७८ असार १ को बाढी पहिरोले क्षति पुर्‍याएको आयोजनाको मर्मत र नयाँ उपकरण जडानका लागि पानी वितरण बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए। 

उनले ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको जानकारी दिए। मर्मतपछि पानी वितरण कार्य नियमित रूपमा सुरु गरिने श्रेष्ठले बताए।

आयोजनाका इन्जिनियर पदम कुँवरका अनुसार मुहान तथा हेडवर्क्समा उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले जेठ १ गतेदेखि दुई साताको लागि पानी वितरण बन्द गरिएको हो। ‘हेलम्बु– १ स्थित आयोजनाको गेट नम्बर ९ मा रहेको हेडवर्क्समा नयाँ सिलिन्डर जडान गर्नुपर्ने छ। त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नुपर्ने हुन्छ’, उनले भने, ‘बाढीले यो हेडवर्क्सको सिलिन्डर बिगारेको थियो, त्यसमा नयाँ सिलिण्डर राख्ने र गेट नम्बर १ मा जाली राख्ने कार्य गरिने छ।’

बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि गत वर्ष कामचलाउका रुपमा फलामको पाता राखेर पानी बन्द गरिएको उनले बताए। ‘फलामको पाताले पानीको बहाव थेग्न मुस्किल पर्छ, त्यसकारण यो वर्ष पोहोर सालभन्दा कम्तीमा एक महिना भए पनि उपभोक्तालाई बढी पानी खुवाउने लक्ष्य राखेर मर्मत सम्भारलाई जोड दिइएको हो’, कुँवरले भने। सिलिन्डर जडानपछि सानोतिनो बाढी पहिरोमा आयोजना बन्द गर्नु नपर्ने उनले बताए।

मेलम्ची खानेपानी विकास समितिका अनुसार वर्षायामलाई ध्यानमा राख्दै सुरुङको रेक्टिफिकेसन र हेडवर्क्सलगायतका संरचनाहरू मर्मत गरिने छ। मर्मतपछि वर्षायाममा पनि पानीको वितरण नियमित राख्‍ने समितिको योजना छ। यसका लागि परामर्शदाताले ८ देखि १५ दिनको कार्ययोजना बनाएका छन्। यो अवधिमा उक्त कार्ययोजना अनुसार काम गरिने छ।

मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा झारिएको थियो। सोही वर्षको चैत १५ देखि परीक्षण स्वरुप पानी वितरण गरिएको थियो। तर, २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएपछि पानी वितरण बन्द भएको थियो। 

तर, मूख्य सुरुङ सुरक्षित रहेकाले ढुंगा माटो पन्छाएर २०७८ चैत अन्तिमतिर पुनः पानी वितरण गरिएको थियो। २०७९ मंसिर २३ गतेदेखि तेस्रोपटक काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानीको वितरण सुरु भएको थियो।

निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा अध्यक्ष तिमल्सिनाले आयोजना लम्बिँदा लागत बढ्ने बताए। उनले राष्ट्रिय गौरवका आयोजनाहरूको समयावधि विभिन्न कारणले लम्बिँदा लागत बढ्ने बताउँदै समयमै काम सक्नुपर्नेमा जोड दिए। 

कुनै पनि आयोजना सञ्चालन गरिरहँदा यसबाट प्रभावित हुने अन्य उपआयोजनाहरूका बारेमा ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष तिमल्सिनाले एकैपटक एकीकृत ढंगले काम गर्न सकेमा कामले गति लिनुका साथै समयको बचत र लागतमा पनि कमी आउने बताए।

मेलम्चीको पानी वितरणका लागि काठमाडौंमा भइरहेको कामको उदाहरण दिँदै अध्यक्ष तिमिल्सिनाले पाइप बिछ्याउन, बिजुलीका तारहरू भूमिगत गर्ने कुराहरूले गर्दा धेरै असर देखा परेको भन्दै योजना बनाउँदा केही सिकाइहरूलाई सँगै लिएर जानुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.