काभा महिला च्यालेन्ज कप : उज्वेकिस्तानको विजयी सुरुआत
काठमाडौं : सोमबारदेखि काठमाडौंमा सुरु भएको काभा महिला च्यालेन्ज कपको समूह ‘बी’मा उज्बेकिस्तानले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्यो।
पहिलो सेटमा २७-२५ को प्रतिस्र्पात्मक जित निकालेको उज्वेकिस्तानले दोस्रो सेटमा २५-१५ को सहज जित निकाल्यो। पहिलो सेटमा कठिन चुनौती दिएर पनि जित्न नसकेको श्रीलंकाले त्यसपछि पुनरागमन गर्न सकेन।
श्रीलंकाविरुद्ध हाबी बनेको उज्बेकिस्तानले तेस्रो सेटमा २५-१३ को सहज जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको छ।
समूह ‘ए’ अन्तर्गत दिउँसो १२ बजे हुने खेलमा बंगलादेश र भारत प्रतिस्पर्धा गर्दैछन्।
यस्तै, आजै ४ : ३० बजे हुने खेलमा घरेलु टिम नेपालले किर्गिस्तानको सामना गर्नेछ। पहिलो दिनको अन्तिम खेल बेलुकी ७ बजे माल्दिभ्स र कजाकस्तान बीच हुनेछ।