सिद्धिचरणमा कामै नगरी भुक्तानी, पूर्वाधार योजनामा ब्यापक अनियमितता

सिद्धिचरणमा कामै नगरी भुक्तानी, पूर्वाधार योजनामा ब्यापक अनियमितता
सदरमुकाम ओखलढुंगास्थित मध्य बजारअघि दुई वर्षदेखि निर्माणाधीन श्रष्टापार्कका संरचना। तस्बिर : शिवप्रसाद ढुंगाना

ओखलढुंगा : सिद्धिचरण नगरपालिका वडा नं ३ दलित टोल सडक निर्माण उपभोक्ता समिति गठन गरेर सडक नै निर्माण नगरी वडा कार्यालयको सिफारिसमा २ लाख बजेट भुक्तानी गरियो। उक्त योजनामा स्थानीय अर्जुन रोक्कालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर २०७९ चैत २९ गते सम्झौता भयो।

उक्त ठाउँमा पूर्वाधार विकास कार्यालयले यसअघि नै ५६० मिटर सडक खनिसकेको थियो। ठेक्कामार्फत् भएको काममा ५६० मिटर सडकको बिल भुक्तानी भइसकेको छ। वडा र उपभोक्ता समितिसमेतको मिलेमतोमा सोही ठाउँमा ६२० मिटर सडक खनेको बिल बनाएर २ लाख भुक्तानी भएपछि स्थानीयले एक महिनाअघि छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरे। 

उक्त उजुरीपछि छानविन गरेर कारबाही गर्ने जनाएको जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई ताकेता गरिरहेका छन्। प्रशासन कार्यालयले पूर्वाधार कार्यालय र नगरपालिकालाई परिपत्र गरेको थियो। 

परिपत्रपछि पूर्वाधार कार्यालयले आफूले सडक खनेको पत्र दिइसकेको छ भने नगरपालिकाले पनि ६२० मिटर सडक खनेर भुक्तानी दिएको जवाफ पठाएको छ । स्थानीयका अनुसार उक्त ठाउँमा नगरपालिकाको योजनाको कुनै काम नगरी कागज मिलाइएको थियो। 

दुवै कार्यालयको जवाफ आए पनि राजनीतिक पँहुचका आधारमा कारबाही नगरेको भन्दै स्थानीय आक्रोशित छन्। उजुरीसँगै प्रमाण जुटिसक्दासमेत प्रशासनले कारबाही गर्न नचाहेको उजुरीकर्ता शिव बानियाले गुनासो गरे। राजनीतिक दबाबका कारण सिडियोले कारबाही नगरेको उनको भनाइ छ। उक्त योजनामा दोहोरो भूक्तानीबारे सिध्दिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले स्थानीयले उजुरी गरेपछि मात्रै आफूँलाई योजना सम्बन्धि विवाद जानकारीमा आएको बताए।

उनले उजुरीपछि नगरपालिकाको तर्फबाट प्राविधिक खटाइ स्थलगत अनुगमन गरेको र सोही च्यानेज हुँदै सडक निर्माण गरेको भए पूर्वाधार कार्यालयलाई बाँकी रकम ठेकेदारलाई भूक्तानी नगरी अन्यत्र सो बराबरको काम लगाउन पत्राचार गरेको बताए । 

सडकको नाम फरक रहेको र वडाको बजेटबाट सडक निर्माण भएको भन्दै पूर्वाधार कार्यालयले ठेकेदारलाई भूक्तानी दिनुपूर्व बाँकी सडक निर्माण गर्ने गर्नु पर्ने लम्सालको भनाइ छ। दुई कार्यालयको पत्रमा उल्लेख भए अनुसार ५६० मिटर सडक दोहोरो नापिएको पाइएको स्थानीयको भनाइ छ।

केही समय पहिले सिद्धिचरण नगरपालिका वडा नं. ११ को वडा कार्यालय भवन निर्माणका क्रममा निर्माण सामग्रीको सन्तुलन तथा पानीको मात्रा नपुग्दा ढलानबाट पानी चुहिएपछि स्थानीयले हालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। स्थानीयको चर्को विरोधपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अनुगमन गरेर गुणस्तर कायम गर्न निर्देशन दिए। तर, उक्त निर्देशन पालन नभएको र गुणस्तरयुक्त काम नभएको स्थानीयको आरोप छ। स्थानीयको दबाबकै कारण अहिले ठेकेदारलाई भुक्तानी भने रोकिएको छ। काम पनि सुरु भएको छैन। 

त्यस्तै नगरपालिकाले वडा नं. ९ स्थित ज्यामिरेमा सिमलडाँडा तिनकुने हुँदै मुसुरे सडक निर्माणका लागि ३ लाख खर्चियो। सडक निर्माण सम्पन्न भएर फरफराकसमेत भयो। तर अहिले सवारी चल्दैन। स्थानीयले गाडी चल्न नसक्ने सडक बनाएको भन्दै नगरपालिकामा उजुरी गरे। नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साललाई लिएर अनुगमनमा पुग्दा गाडी नै उक्त सडकमा चढेन। 

यद्यपि सडक निर्माणको क्वान्टिटी पुगेको भनी स्थानीयलाई जवाफ दिएर प्रमुख प्रशासकीय अधिकृत कार्यालय फर्किएको स्थानीय पहलमान खड्काले बताए। उक्त सडकमा साना सवारी बोलेरो तथा सुमोमात्र होइन, ट्याक्टरसमेत अहिले चल्न नसक्ने अवस्था छ। सरकारी बजेट दुरुपयोग गर्न र आफू निकटका व्यक्तिलाई योजना दिन छानिएका यस्ता थुप्रै योजनामा अनियमिता हुने गरेको खड्काको भनाइ छ।  

सिद्धिrरण नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका योजनामा स्थानीयले उजुरी गरेपछि बाहिरिएका तथ्य हुन् यी। वर्षभरि सञ्चालन गरेका सयौं योजनाबारे खोजी नगर्दा अनियमितता र सरकारी बजेट दुरुपयोगसमेत बढ्दै गएको स्थानीयको भनाइ छ।


आयोजना छनोटबाटै बेतिथि 
चालु आर्थिक वर्षका लागि नगरपालिकाले ३३८ योजना छनौट गरेको जनाएको छ। जसमध्ये २९८ सम्पन्न भएको पूर्वाधार शाखाले जनाएको छ। अझै दर्जन हाराहारी योजना सम्झौता नै भएका छैनन्। 

त्यसरी सम्झौता नभएका योजना हतारहतार असारमा बजेट सक्न खर्च गर्ने परिपाटी देखिएको छ । नगरपालिकाले सञ्चालन गरेका योजनामा वडा, प्राविधिक कर्मचारी र उपभोक्ताको व्यवसायिक सम्बन्ध एउटा पाटो हो। तर, योजना छनौट र उपभोक्ता समिति गठनबाटै नै बेतिथिको जग बसेको देखिन्छ। 

नगरपालिकाले योजनाको क्रम संख्या २९ मा योजनाको नामै उल्लेख नगरी वडा क्षेत्रका विभिन्न सडकको निर्माण वडा नं. २ भनेर १२ लाख बजेट विनियोजन गरेको थियो। वडा कार्यालयले पनि योजनाको नामै उल्लेख नगरी वडास्थित विभिन्न मोटरबाटो निर्माण भनेर उस्तै प्रकृतिको अर्को योजनामा ५ लाख बजेट विनियोजन गरी खर्च गरेको छ। यस्ता शीर्षकमा हुने खर्चमा दोहोरो भुक्तानीको सम्भावना रहेको भन्दै छानविन गर्न स्थानीयले माग गरेका छन्। 

वडा नं. १२ मा निर्माणाधीन श्रष्टापार्कको काम समयमा पूरा भएको छैन। निर्माण क्षेत्र पर्यटकीयस्थल भए पनि निर्माण सामग्री जथाभाबी छरेर घुमफिरमा समेत समस्या छ। ठेक्का लागेको योजना पूरा गर्नेतर्फ पालिकाको ध्यान छैन, तर सोही क्षेत्रलाई लक्षित गरी श्रष्टापार्क पूर्वाधार निर्माण भनेर १० लाखको योजना राखिएको छ। 

वार्षिक बजेट, नीति तथा कार्यक्रमको ६२१ स्थानमा राखिएको उक्त योजनाको नामको अन्तमा सिद्धिचरण ५ उल्लेख भए पनि वडा नं. ५ मा त्यस्तो कुनै पार्क छैन। यसरी शंकास्पद नाम राखेर छनौट भएको योजना कहाँ कार्यन्वयन हुन्छ एकीन छैन। यस्तो योजनाबारे आफूले सोधीखोजी गरेर एकीन गरी जानकारी उपलब्ध गराउने सिद्धिचरण नगरपालिकाका इञ्जिनियर दिव्य श्रेष्ठले बताए।  

नगरपालिकाका पूर्वाधार निर्माणका लागि छनौट भएका योजनाको विसंगति यतिमै रोकिएको छैन। स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाको बजेटलाई पनि पूर्वाधार निर्माणमा खर्चिएको छ। 

स्वास्थ्य शाखाको बजेटबाट सिध्दिचरण नगरपालिका वडा नं. ११ मा सामुदायिक भवन निर्माणका लागि योजना तथा बजेट व्यवस्था गरिएको छ। संकट र आर्थिक मन्दीको समयमा अनुत्पादनक क्षेत्र मन्दिर र गेटहरु निर्माणका लागि लाखौं बजेट विनियोजन गरिएको छ। 

स्थानीयका मागका आधारमा वडा हुँदै नगरपालिकामा आएका योजना भएकाले बजेट व्यवस्था गर्दै आए पनि यसका अन्य प्रभावका बारेमा भने छलफल नहुने नगरपालिकाले जनाएको छ । यस्ता योजनाले नागरिकको जीवनमा सकारत्मक प्रभाव पार्नेभन्दा बजेट दुरुपयोग र भ्रष्टाचार बढ्ने निश्चित छ। 

ठूला आयोजनाको काम लथालिंग 
नगरपालिकाको आँखै अगाडि रहेको श्रष्टापार्क निर्माणको आयोजना अलपत्र छ । सम्झौता गरिएको म्याद सकिएर म्याद थपिए पनि चालु आर्थिक वर्षमा सम्पन्न हुने सम्भावना कम छ। ४ करोड २० लाखको योजना श्याम सुन्दर, नेपाल फुलबारी जेभीले ठेक्का पाएको हो। 

पर्यटकीय पूर्वाधार बनाउने उक्त योजनाको काम सुस्त छ। धेरैजसो पूर्वाधारका काम आधाउधीमात्रै सकिएका छन्। २०७९ माघ ३ गते सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त योजनाको म्याद थप भएर धमाधम काम भइरहेको नगरपालिकाको दाबी छ। 

पालिकाका योजना प्रभावकारी र पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ आयोजना गर्ने तथा नियमित अनुगमन गर्ने काम भइरहेको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले बताए। उनले गुनासा आएका ठाउँमा अनुगमन गर्ने, प्रभावकारी कार्य गर्नसचेत गराउने काम भए पनि कारबाही गर्ने अधिकार नभएकाले कतिपय अवस्थामा भने जसरी काम गर्न सकिने अवस्था नभएको भन्दै खनालले ठेकेदारले नगरपालिकालाई अटेरी गर्दै आएकाले समस्या भएको खनालले जनाए। 

वडाका योजनाहरूमा वडा तहका जनप्रतिनिधि र कर्मचारी बढी जानकार हुने भएकाले उनीहरूले नियमित योजनाको अनुगमन तथा स्थानीय स्तरमा सहजीकरण गर्न जिम्मेवार बन्नुपर्ने खनालको भनाइ छ। यस्ता समस्या समाधान गर्नेभन्दा वडा अध्यक्षहरु नै अनियमित काममा उपभोक्तालाई प्रोत्साहन गर्ने गरेको पाइएको छ। 

त्यस्तै अर्को आयोजना ठेक्का लागेको आम्जानी, मिलाचोक, ओखबरबोट, निशंखे, तलुवा सडक पनि समयमा सकिएको छैन। अहिले म्याद थपिएको छ । सडक स्तरोन्नति गर्दा बाटो छेउका घर टहरा पर्ने भएपछि रोकिएको थियो। 


त्यसरी योजना बनाउँदा विस्थापनमा पर्ने टहराका बारेमा नगरपालिकाले कुनै योजना बनाएन। स्थानीयले नछोडे पछि अहिले काम पूरा गर्न अर्कोतिर खन्ने तयारी गरिएको छ । बाटो विस्तारमा पर्ने टहराका कारण केही समस्या भएकाले अहिले अन्यत्र खनेर योजना पूरा गर्नेगरी तयारी रहेको नगरपालिकाका प्राविधिक दिलकुमार बुढाथोकीले बताए। 


योजना छनौट र सिफारिस गर्दा त्यसको प्रभावकारिता, प्रतिफललगायत हेरेर गर्ने तथा नीतिगत निर्णय गर्दा विचार नपुर्‍याइ निकटता हेरेर गरिने भएकै कारण नगरपालिकाका विकास काम अपारदर्शी र विवाददास्पद् हुँदै गएका मात्रै छैनन्, उजुरीहरू पनि पर्न थालेका छन्। सुशासन र पारदर्शीतामा पालिका चुकेको नगरबासीको गुनासो छ। 

उजुरीहरू आएका विषयमा अध्ययन गरेर तथ्य र प्रमाण खोजेपछि आवश्यक कारबाही अघि बढ्ने भएकाले उजुरी आउनासाथ यही भएको भन्ने धारणा बनाउन नहुने प्रमुख जिल्ला अधिकारी प्रर्दशनी कुमारी बताउँछिन्। उजुरीका विषयमा गम्भीरतापूर्वक अध्ययन गरेर अघि बढिने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.