काभा महिला भलिबल च्यालेन्ज कप : कजाकस्तान समूह विजेता
काठमाडौं : उज्वेकिस्तानविरुद्ध ३-१ सेटको जित निकालेसँगै कजाकस्तान काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को समूह 'बी' विजेता बनेको छ। बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् 'राखेप'को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तान पहिलो सेट जितेको थियो।
पहिलो सेट २४-२६ ले गुमाएको कजाकस्तानले त्यसपछिका लगातार तीन सेट जित्यो।
कजाकस्तानले दोस्रो सेट २५-१६, तेस्रो सेट २५-११, चौथो सेट २५-१८ ले आफ्नो पक्षमा पार्दै कजाकस्तान तीन अंक जोड्न सफल भयो।
जितसँगै कजाकस्तानले तीन खेलबाट नौ अंक जोडेर समूह विजेता बनेको हो। हारका बावजुद उज्वेकिस्तान पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। यो समूहबाट श्रीलंका र माल्दिभ्स अन्तिम खेल बाँकी रहदै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
यसअघि कजाकस्तानले माल्दिभ्सलाई सोझो सेटमा र श्रीलंकालाई ३-१ को सेटमा हराएको थियो। उज्वेकिस्तानले यसअघि माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई समान ३-० को सोझो सेटमा हराएको थियो।