पढाउनेले पढौं
पढ्न किताबभन्दा पनि सुन्दर कुरा वन, जंगल, नदी, पहाड र फाँटहरू हुन्। सिंगो धर्ती, आकाश, जून र ताराहरू हुन्। चरा, हिमाल, गाउँको गोरटो र शिशुका उदात्त मुस्कान हुन्। यिनको स्वाद र किताबको स्वाद भने अलि फरक छ। यसो पनि भनिँदोरहेछ– संसारमा जे जे छन् ती किताबमा लेखिनकै लागि छन् र यहाँ जे जे हुन्छन् ती पनि किताबमा लेखिनकै लागि हुन्छन्। त्यसैले पनि भन्न सकिन्छ, सृष्टि, प्रकृति र अनुभूतिको सार भेट्न किताब नै पढ्नुपर्छ। ज्ञानको अतृप्त प्यास मेट्न किताब नै पढ्नुपर्छ।
‘पढ्नाले रति ज्ञान हुन्न बुझिलेऊ ज्ञान हुन्छ एकभक्तिले।’ नेपाली समाजको यो एक पुरानो सूक्ति हो। हो, किताब पढेर मात्रै ज्ञान हुँदैन। ज्ञानका लागि लगन र एकाग्रता चाहिन्छ। थपमा ज्ञानका लागि ज्ञानकै प्यास चाहिन्छ। त्यही प्यास पश्चिमाहरूले भन्ने गरेको ‘प्यासन’सित मिल्दोजुल्दो छ। अध्ययनको प्यास भनौं वा प्यासन भनौं, यसले मानिसको जीवनमा परिवर्तन ल्यााउँछ। समग्र व्यक्तित्व विकासमा परिपक्कता ल्याउँछ। कार्यशैली, बोली र व्यवहारमा बदलाव आउँछ। व्यक्तिमा आएको बदलावले समाजमा प्रभाव पार्छ। विस्तारै यसले परिवर्तनको जग निर्माण गर्छ।
प्रायः आरोप लाग्ने गरेको छ कि शिक्षकहरू कामचोर भए, अल्छी गरे। शिक्षकहरूले पढाएनन्। शिक्षकहरूले राजनीति गरे। शिक्षकहरू झोले भए। शिक्षकहरू हेलमेट बोकेर दसतिर कुदे। पढाउनभन्दा कमाउनमा ध्यान दिए। विद्यार्थीलाई फेल पारे। अभिभावकका आँखामा छारो हाले। सिकारुका सपनामाथि खेलबाड गरे। जिम्मेवारी पूरा गरेनन्। एक त विद्यालय गएनन्। गए पनि लगनशील भएर पढाएनन्। तिनले पढ् पढ् मात्र भने। विद्यालय बिगार्न शिक्षकको ठुलो हात छ। यस्ता अनेकन लाञ्छना छन् शिक्षकमाथि। के शिक्षकको आम चरित्र यही हो त ?
शिक्षकलाई दवाइएको, हेयको दृष्टिले हेरिएको, किनारीकृत गरिएको चाहीँ कोबाट हो ? शिक्षण पेसालाई प्राथमिकतामा नपारिएको, सेवा सुविधामा मुठ्ठी कसेको, बच्चालाई पढाउन त जस्ले पनि सक्छ भन्ने भाष्य निर्माण गरेकोचाहिँ कसले हो ? मुलुकमा अझै नातावाद, भनसुन र पावरको चक्कर चल्छ। एकदिन एक नेताकहाँ एक युवक जागिर माग्न गएछन्। नेताजीले भनेछन्– ‘अहिले यसो कतै स्कुलतिर पढाउँदै गर्नू। पछि राम्रो ठाउँमा मौका आयो भने खबर गरौंला।’ यसरी अन्त नपाएपछि हल्लिन जाने पेसाका रूपमा शिक्षणलाई अँगाल्ने मान्यता कसरी स्थापित भयो ? अब यो मान्यता पनि विस्तारै चिरिँदै छ। शिक्षक सेवा आयोगमा फारम भर्ने हजारौं युवा छन्। तिनले शिक्षण पेसामा भविष्य देखेका छन्। तिनले यसैमा सपना रोपेका छन्। तर के शिक्षण पेसालाई हेर्ने समाजको नजर ठिक छ ? के शिक्षण पेसाको मर्म र मर्यादामाथि राज्य गम्भीर छ ? यो बहसको अर्को पाटो हुनसक्छ।
आउनुहोस् शिक्षक साथीहरू ! शिक्षण पेसालाई आफैं मर्यादित, सम्मानित र गौरवशाली वनाऔं। यसका लागि उत्पात केही गर्नु पर्दैन। किताब पढ्ने बानी बसाल्यौं भने शिक्षण क्षेत्रका धेरै समस्या समाधान भएर जानेछन्। किताब पढ्दा बलियो हुने रहेछौं। पढाउनेहरू पढ्न थाल्यौं भनेमात्रै पनि माथिका लाञ्छना आफैं पखालिएर जाने रहेछन्। ‘पढाउनेले पढौं अर्थात् सिकाउनलाई पढौं’ नामक यो अभियान शिक्षकका लागि निकै लाभदायक छ। यस अभियानको सुरुआत नेपाल पुलिस स्कुल साँगा काभे्रबाट २०७४ वैशाखमा भएको हो। शिक्षाको विकासका लागि केही नयाँ तरिकाले सोचौं, केही नयाँ गरौं भन्ने अभिप्रायले यसको थालनी भएको हो।
सुरुमा यसले एक शिक्षकले एक महिनामा कम्तीमा दुईवटा किताब पढ्नुपर्छ भन्ने मान्यता बोकेको थियो। हाल भने यसको आयतन अलि लचिलो भएको छ। सक्नेले जतिवटा पढे पनि भयो नसक्नेले कम्तीमा महिनाको एउटा किताब पढ्नै पर्ने मत यसले राख्छ। सुरुमा एउटा किताबमा लगानी गरेपछि आफूले कम्तीमा अरू बिस किताब पढ्ने मौका पाइन्छ। मानौं, एउटा विद्यालयमा बिस शिक्षक छन् भने एउटा एउटा किन्दा पनि बिस हुन्छन्। ती किताबलाई पुस्तकालयमा भन्दा पनि शिक्षक बस्ने कोठाको कुनामा सजाएर राख्न सकिन्छ। अनि पालैपालो नाम दर्ता गराएर पढ्न सकिन्छ। आफूले पढेको किताबका बारेमा अरूलाई पनि जानकारी दिन सकिन्छ। यसका लागि महिनामा एकचोटि किताबका बारेमा पठन अनुभूति साटासाट गर्ने कार्यक्रम राख्न सकिन्छ।
पढाउनेले पढौं अभियान सञ्चालन गर्दा शिक्षकले आफ्नो पेसामा आधारित ज्ञानलाई बढोत्तरी गर्ने मात्रै होइन कि चौतर्फी सक्षमता संकलन गर्न सक्छ। जसरी मौरीले प्रकृतिका कुना कुना चहारेर फूलको रस संकनल गर्छ, त्यसैगरी शिक्षकले विविध क्षेत्रका पुस्तकबाट मधुयुक्त ज्ञानामृत प्राप्त गरी क्षमता अभिवृद्धि गर्न सक्छ। फलस्वरूप शिष्यमा त्यसको मिठास बाँढ्न सक्छ। महिनाको एउटामात्रै किताब पढ्ने हो भने पनि एक वर्षमा बाह«वटा किताब पढ्दा शिक्षकको कार्यशैलीमा निकै परिवर्तन हुन्छ। शिक्षकको ज्ञानको प्रतिबिम्ब र प्रभाव उसको हरेक शिष्य र कक्षामा पर्नसक्छ। यसबाट विद्यार्थीले प्रत्यक्ष रूपमा फाइदा लिन सक्छन्। तसर्थ सक्षमता अभिवृद्धि गराउन पठन संस्कृति जस्तो महत्वपूर्ण अरू केही हुन सक्दैन।
कतिपय शिक्षकलाई पाठ्यपुस्तकका हरेक पानाको कुन कुनामा के लेखिएको छ, त्यो थाहा हुनसक्छ। किताबका पाना पाना कण्ठ पनि हुनसक्छ। अब त्यस्तो ज्ञानको काम छैन। पाठ्यपुस्तमा निहित सीमित ज्ञानको भरमा एक्काइसौं शताब्दीका विद्यार्थीलाई अल्झाउन खोज्यौं भने हामी शिक्षणका नाउँमा पाप गरिरहेका हुनेछौं। हामीले किताब पढ्यौं भने विद्यार्थीले पनि सिको गर्नेछन्। यसरी सिकाइको स्तर निकै माथि उठ्ने छ। अतिरिक्त अध्ययनले मानिसलाई कल्पनाशील र स्वप्नदर्शी बनाउँछ। आज देशलाई स्वप्नदर्शी नागरिकको खाँचो छ, जसले परिवर्तनको सम्भावना देखोस्। त्यसैले कहिल्यै नबिर्सौं– ‘शिक्षकले किताब नपढ्नु भनेको किसानले माटो नछुनु जत्तिकै हो।’ जिन राइजले भनेका रहेछन्– ‘पठनले हामीलाई घरभन्दा टाढा पुर्याउँछ, यति टाढा पुर्याउँछ कि जहाँ पुर्याए पनि घर नै भेटिन्छ।’