सहिदका सपनामा सधैं घात

सहिदका सपनामा सधैं घात

हामी साताव्यापी सहिद सप्ताहमा व्यस्त छौं। तर पनि उनीहरूका सपना लत्याउँदै छौं। हाँसेर तिनले जीवन उत्सर्ग गरे तर हामी भने रोएर जिइरहेका छौं। कतै स्वर्गका सहिदले देशको अवस्था थाहा पाए भने ती पनि त्यहीँ रुन्छन् होला। केमा छैन विकृति यहाँ ? राजनीतिले बिगारेको पाटो भनेको समाजको स्वरूप हो, जुन कुरूप बन्दैछ। मौलिकता हराएको छ। विदेशीले परेड खेल्न थालेका छन्। बजार अनियन्त्रित छ। दलहरूलाई देशको भन्दा निर्वाचनको हतारो छ।

सहिदले लोकतन्त्र, गणतन्त्र, संघीयता ल्याए भनिन्छ। तर तिनकै परिवारले के पाए ? आम सर्वसाधारणको त कुरै छाडौं। एउटै भवनमा पाँच वटा मन्त्रालय बनाइन्छन् र भागबन्डा गरिन्छ आपसमा। अनि देशलाई चिरफार गरिन्छ, दलको निहित स्वार्थमा। तीन करोड जनता बस्ने दिल्ली कस्तो छ र तीन करोड नपुगेको यो देशको जनतालाई कति पीडा छ ? देशको यो वास्तविकता कति जर्जर छ भनिरहनु परेन। करको मारमा जनता पिल्सिएका छन्। व्यापारघाटा चुलिएको छ। नाना, खाना र छानाका लागि विदेशीको हात थाप्नु परेको छ। नेताले बाँडेका सपनाहरूको आत्मरतिमा जनता भुलेका छन्। चुनावबाहेक देशमा नेताहरूले के गरे ? सहिदले त सोध्लान् नै ! अरूले पनि सोध्नुपर्ने होइन ? 

विद्वान्हरूले भनेका छन्, मानिस स्वयंमा ईश्वर हो। तिमीहरू सबै दिव्यात्मा रूप हौ। शक्ति तिमीभित्र मौजुद छ। फरक यति छ कि तिमीलाई यो थाहा छैन। सत्य साईबाबाको भनाइ हो यो। वैदिक चिन्तनको थलो नेपाली भूमिमा जन्म प्राप्तिमात्रै पनि गौरवको विषय हो। कारण यो देश जनकको हो, जानकीको हो, बुद्धको हो, पशुपतिनाथको हो। भक्तिबाट आफूलाई चिनेर परलोक सुधार्न सकिन्छ, विवेक चूडामणिको भनाइ हो यो। संगतअनुसार नै व्यक्ति वा वस्तुमा परिवर्तन आउँछ, भतृहरिको कथन हो यो।

‘घरपरिवार आपसी सद्भाव र प्रेम, शुद्धता अनि विश्वास हो। वृद्धलाई श्रद्धा र किशोरलाई सम्मान भएको ठाउँ धेरै राम्रो हुन्छ’ भनेका थिए महात्मा बुद्धले। अन्य विषय जे भए पनि एकअर्काका परिपूरक भएर समाजलाई स्वस्थ बनाउनुपर्छ। सबैको हित हुने कार्यमा लाग्नुपर्छ। कारण सबै प्राणी मरणशील छन्। रोगी मानिसका लागि प्रेमपूर्वक व्यवहार र एउटा मीठो बोलीवचन पनि सय डाक्टरभन्दा ठूलो हुन्छ भनेर ब्रह्म चैतन्यले भनेका छन्। समाज र ईश्वर दुवैप्रति प्रेम राख्न शरीर राम्रो हुनुपर्ने निरोगी हुनुपर्ने हुन्छ। हाम्रो शरीरमा लाग्ने धेरै रोग आफ्नै कारणले लाग्छन्, बाह्य कारण त छँदैछन्।

विज्ञान त्यति सफल छैन भन्ने कोरोनाले देखाइदियो। हो, रोग सबैतिर छ तर एकपटक देशले देवकोटा जस्ता स्वास्थ्यमन्त्री पायो। महावीर पुनजस्ता व्यक्ति विज्ञानमन्त्री बन्न, कुलमान घिसिङजस्ता व्यक्ति ऊर्जामन्त्री बन्न दलले दिँदैनन्। विज्ञ र योग्य व्यक्तिलाई माथिल्लो सदनमा ल्याउन सकिने प्रावधान छ तर दलको भागबन्डा नै जरुरी छ त्यसमा पनि। यो दुर्भाग्य हो देशको। नबुझ्दा मानव आफैं राक्षस हो, बुझ्दा ऊ देव पनि। मानवले मानव माथि हतियार उठाउँदा ऊ मूर्ख हो, जनावर हो, पापी हो। धर्म कर्म गर्दा धार्मिक हो, धार्मिक भनेर जोगी नै हुनुपर्ने होइन, गेरुवस्त्र नै लाउनुपर्ने छैन, मन्दिर धाउनुपर्र्ने पनि होइन।

जनरक्षा नै धर्म हो। शरीर त स्वयं मन्दिर हो, भोगीमात्र हुँदा मानिस पशुतुल्य हुन्छ। सचेत दलपात्रहरूले किन सिकाएनन् यी कुरा ? न्यास भनेको कर्मप्रतिको निष्ठा हो, सुकर्मको परिणाम राम्रो हुन्छ। शुभकर्मप्रतिको निष्ठा हुनु नै सन्न्यासी हो, तपस्वी हो, ज्ञानी हो, ऋषि हो। अरूले आएर ऋषिमन भनेर गए तर यहाँ त...! भनिसाध्य छैन। संस्कार खोइ त ? पछिल्लो राजनैतिक परिवर्तनपछि भएको संस्कृति, संस्कार सबै हराउन आटिसक्यो। धर्म मेट्ने काम भइरहेका छन् र त समाज निर्दयी बनिरहेको छ।

विज्ञानले असन्तोषी हुनु भने पनि विनाश धेरै निम्त्याएको छ। विज्ञानको दुरुपयोग गर्दा मानिस हिंस्रक बन्छ। अहिंस्रक हुन त विवेकी हुनुपर्छ, विज्ञान र ज्ञानको सदुपयोेग गर्नुपर्छ। दुष्ट बुद्धिले उपकारी भइन्न। बलात्कारी, अत्याचारी, दुराचारी, भ्रष्ट र पतीतको औषधि छैन। इमान्दार व्यक्तिलाई कानुन नै चाहिँदैन। असल समाजको निर्माण गर्न नैतिक कानुन जरुरी छ। यो त पाठ्यक्रमबाटै हटाइसकेको अवस्था छ यहाँ। मनले शुभसंकल्प, सदाचार, शतवचार, कल्याणकारी चिन्तन लिई ईष्र्या, क्रोध, आवेग, तनाव, वैमनस्यताबाट टाढा रहेमा मात्र मानिसले सर्वत्र विजय प्राप्त गर्न सक्छ।

यस्तो समाज भए पो नेतृत्वमा पनि तिनकै प्रतिनिधित्व हुन्छ। अनि पो देश उँभो लाग्छ। नत्र पर्ने खाल्डोमै हो, उत्रनै नसक्ने गरी। ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ गीताको वचन हो यो अर्थात् कर्म गर फलासी नहोेऊ। आफ्नो देशलाई दुर्बल र रोगी बनाएर सधैं गनगन गर्नु अनि दयाको भिक्षा माग्नुजस्तो ठूलो पाप अर्को छैन। तिमी मलाई आफ्नो संगत भन, म तिमीलाई तिमी के हो भनी बताउनेछु। सत्य साइबाबाकै भनाइ हो यो।

यस सत्यलाई कोट्याउँदा स्पष्ट हुन्छ कि लोभले धर्म र प्रतिष्ठा दुवै नष्ट गर्दछ। जुन भनाइ महाभारतको हो। अनुभवबिनाको कोरा शाब्दिक ज्ञान अधुरो हुन्छ, अनुभव नै साँचो गुरु हो भनेर विवेकानन्दले भनेका थिए। ‘धर्मको काम नै जगत्को प्रतिष्ठा बढाउनु हो’ भनेको छ, ऋग्वेदले। विदुर नीतिले स्पष्ट पारेको छ, ‘जसले आफ्नो देशका जनताप्रति माया दर्शाउँछ, त्यसका सन्तान बढ्छन् र धेरैले कल्याणको अनुभव पनि गर्छन्।’ महात्मा गान्धीले भनेका थिए, ‘ठूला सहरहरूमा धूर्त, ठग र वेश्यालय बढ्नेछन्, गरिबहरू धनीमानीबाट लुटिनेछन्।’

भोजनको प्रभाव मस्तिष्कमा पर्छ, त्यसैले सात्विक भोजन गर्नुपर्छ भनेर प्लेटोले उहिल्यै भनेका थिए। आहार शुद्ध भएपछि मन शुद्ध हुन्छ, मन शुद्ध भएपछि स्मृति शुद्ध हुन्छ भनेर छान्दग्योपनिषद्ले भनेकै छ। सहिद शुक्रराज शास्त्रीका अनुसार, मर्नु फेरि जन्मनु हो। ‘परोपकार नै पुण्य हो, परपीडन पाप हो’ भने वेदव्यासले। भौतिक शरीर आत्मालाई धारण गर्न विवश हुन्छ भन्ने गेटेको भनाइ छ भने मायाले नछोएको चैतन्य नै ईश्वर हो भन्ने वेदान्त वाक्यले हामीलाई सदैव पूर्वीय चिन्तनमा प्रेरित गराउँछ। यो सबै नागरिकले थाहा पाउनै पर्छ। खास त देश हाँक्ने नेताहरूले थाहा पाउनुपर्छ अनिमात्र सहिदले सम्मान पाउँछन्, देश सुध्रन्छ।

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.