ल्वाङ गएर स्वाङ पार्दा !

ल्वाङ गएर स्वाङ पार्दा !

मिरमिरे साँझमा हामी ल्वाङ पुगेका थियौ । आकासमा एक हुल चराहरुको बथान गुँड फर्किरहेथ्यो । गाडीको अन्तिम स्टेसनमा ओर्लिएछि आ–आफ्नो गन्तव्यतर्फ लाग्ने मानिसहरुको कल्याङ मल्याङ बढ्तै सुनिरहेथ्यो । भर्खरै आएको चिसो बतासले एक झमट हामीलाई हिर्काएर पर पुग्यो । पछाडि फर्केर बेसीतिर नियाल्दा पोखरा शहर पर आकाशमा जुनकिरी टिलमिलाएझै बिजुली टिलमिलाईरहेथ्यो ।

पोखरा विमानस्थल भने बढ्तै उज्यालिरहेथ्यो । हामी मध्य केहीले आ–आफ्नो गन्तव्य पहिल्याउने फाल्तु कोशिस गर्‍यौ । त्यो लहरमा म अछुतो हुन सकिनँ । ल्वाङगाउँ भने साँझको राखनधरानमा व्यस्त देखिन्थ्यो । चालक दाइले हामी बस्ने घर तोकेरै देखाई दिदा हामी भने धक फुकाएर हाँस्यौ । जीवनमा हाँस्नु र ठट्टा गुर्न महत्त्वपूर्ण कुरा रहेछन, केही क्षण भए पनि छिल्लिदै उकालिने रहर गन्तव्य नजिकै भेटिएपछि थाँती रहे ।

मंसिरको १७, १८ कार्यालय बिदा थियो । मान्छेको स्वभाव सामुहिक मनोरञ्जनमा रमाउने हुँदोरहेछ । हामी ईच्छुक साथीहरु जमात बटुलेर कार्यालय समय पछाडि ल्वाङ जाने निधो भयो । पोखरादेखि जम्माजम्मी एक–डेढ घण्टाको मोटर बाटोमा पर्छ ल्वाङ । कास्कीमा चल्तीका होमस्टे रहेका गाउँमध्ये पहिलो लहरमा आउँछ ल्वाङ गाउँ । गुरुङ्ग समुदायको बाहुल्यता रहेको गाउँमा दलित र ब्राम्हण समुदाय पनि बसोबास गर्दछन् । पहिले २०६८ सालमा पुगेकी थिए म ल्वाङ । पुगिसकेको ठाउँमा दोहोर्‍याएर पुग्दा छुट्टै प्रकारको आत्मियता महसुस भइदिन्छ । 

यात्रामा निस्कने भनेपछि बिहानैदेखि मन उद्देलित भइरहेथ्यो । पोखरा नर्सिङ क्याम्पसबाट ४ः३० मा गुडेको जीप महेन्द्रपुल हुँदै हेम्जा पुगिसक्दा यात्राको रोमाञ्चकतामा फुक्काफाल भएर हिड्नुको मादकताले छोपेको थियो । लामो होस् या छोटो, एकै दिन भने पनि दिनानु दिनको एकनासे दैनिकीबाट उमुक्त भएर बाहिर निस्कँदा सुदूर पहाडमा उडिरहेको पंक्षी सरह अनुभूति गर्छु म । हुन त त्यो पंक्षी जति पर पुगे पनि फर्केर आउने आफ्नै गुँडमा न हो। तै पनि विरासतमै भान्सो लिएर जन्मेका नेपाली समाजका आम महिलाको पीडा महसुस गर्न सक्थे म । नयाँ हातको स्वाद चाख्न पाउँदा फुरुङ्ग हुने जमातबाट हामी फरक थिएनौ ।

जीपमा उक्लने बेला नै चालकले आठ जनासम्म बस्न पाइने बताए पनि हामी नौ जनाको संख्यामा थियौ । कहिलेकाहीँ समूहमा यात्रा गर्दा सम्झौता गर्नुको विकल्प हुँदैन । गाडी मर्दीको तिरैतिर धिताल जाने बाटो पछ्याउँदै लाचोक घाचोकलाई वारीबाट नियाल्दै अगाडि बढिरह्यो । साँझको समय उत्तरतिर हिमालहरु सुन जस्तै टल्किएर हाम्रै स्वागत गरिरहेथे । दोबाटोमा पुगेपछि साथीहरुले क्यानोनिङ गर्न जाने ठाउँ अर्कोतर्फ औल्याए । मनको एउटा कुनामा क्यानोनिङ गर्ने रहर संङ्गालेकी म भने गर्मीयामको कुनै दिन क्यानोनिङ गर्ने आफैसँग गरेको वाचा बासी भएको सम्झेर फिस्स हाँसे ।

बाटोमै भेटिएको भेडाबारीको स्वास्थ चौकीतर्फ औल्याउँदै कम्युनिटी समूहका विद्यार्थीहरुलाई फिल्ड भिजिटका लागि ल्याइने जानकारी कसैले गरायो । चौध वर्ष अगाडिको ल्वाङ पुग्ने बाटो पुरापुर बदलिएको थियो । सडक वरपर दुइतर्फी ठडिएका घरहरुले स–सानो बजारको झल्को दिई रहेथे । बदलिएको समय हो या मेरै समिपको भूगोल ! ल्वाङको पाखातर्फ गाडी उक्लिन थालेपछि एकक्षण गम खाएँ । मर्दी खोलाको किनार र वारीपारीका डाँडापाखा भने उस्तै लागिरहेथे । 

सुन्दर शहर पोखरा वरपर एक दिनको होमस्टे या घुमघाम गर्नका लागि धेरै ठाउँको विकास भएका छन । एक–एक दिन गरेर जाने हो भने पनि एक महिनामा पुरै ठाउँ पुग्न नभ्याईएला ! पोखरा वरपरका हरेक डाँडामा होमस्टे सञ्चालन गरेर आन्तरिक र बाह्य पर्यटकलाइ आकर्षित गरिन्छ । कास्कीका सिकलेस, ताङतिङ, याम्जाकोट, ल्वाङ, घान्द्रुक, धम्पुस, काहुँडाँडा, कालाबाङ, तोरीपानी, अस्थाम, हेम्जाकोट, मट्टिखान, बेगनास लगायतका धेरै ठाउँमा होमस्टेको प्रवद्र्धन गरि आन्तरिक पर्यटक आकर्षित गरिएको छ । वरपरका हरेक गुरुङ्ग गाउँहरु संरक्षणमा ध्यान दिइएको छ । घुम्नु, प्रकृति हेरेर रमाउनु मात्र यात्राको उद्देश्य होइन, नयाँ ठाउँको समाज, संस्कृति बुझ्नु पनि हो । 

अन्ततः केही उबडखाबड कच्ची र केही पक्की सडक गरी करिब डेढ घण्टामा होमस्टेको पाहुना हुन पुग्यौ हामी । ल्वाङ गाउँको प्रवेशद्धार कट्ने बित्तिकै रहेछ ल्वाङ गाउँकी आमा समूहकी अध्यक्षको घर । पहिलेको दुर्गम आदिम गाउँलाई सुन्दर, सुगम र पर्यटकीय बनाउन हामी बसेकै घरकी डम्मरकुमारी आमाले नेतृत्व लिएर बिभिन्न सामाजिक काम गरेकी रहिछिन । किताबभन्दा कर्मको कुदाइले दिएको सन्तोष उनको मुहारमा चम्किरहेथ्यो। बाटोबाटै देखिने चिटिक्क सफा घर, फराकिलो आँगन, पसल, सफा भान्सा र डाइनिङ अनि झिलिमिली बत्तीले घर वरपरको वातावरण मनमोहक देखिरहेथ्यो । सामाजिक काममा सक्रिय आमाको घरायासी काम प्रतिको जिम्मेवारीता पनि उत्तिकै निपूर्ण देखिन्थ्यो ।

आँगन वरपर तिहारमा फुलेका सयपत्री ताजै देखिन्थे । बारीको कान्लामा लटरम्म फुलेको लालुपाते टाढैबाट हामीलाई हेरेर मुस्कुराई रहेथ्यो । झोला पिँढीतिर फ्यालेर हलुको हुन चाहन्थ्यौ हामी । पुटुस्स परेका झोलाले मंसिरे चिसोको तयारी सबैले राम्रै गरेको बुझिन्थ्यो । हाम्रा लागि आँगनमा कुर्सी टेबल मिलाइ दिएर वहाँहरु खानाको तयारीमा लाग्नु भयो । भोको पेटमा भुटेको फूलामकै र कालो चिया निकै सुस्वादु लागिरहेथ्यो । हामी झोला थन्काउने तरखरमा लाग्यौ । केही साथीहरु भने बारबाक्यू गर्ने, आगो ताप्ने र केहीबेर नाचगानमा रमाउने तयारीमा जुटदै थिए ।

मंसिरको चिसोमा दन्केको आगाको राफ वरपर झुम्मिएर लहरै बस्यौ । कसैले नाचेर, त कसैले तात्तातो झोलले ज्यान तताउने क्रम शुरु भयो । जानी नजानी अनुशासित नृत्यमा निमग्न साथीहरुको ऊर्जा थामिनसक्नु थियो । साथीहरुका बीचमा खुलेर नाच्न नसकेकोमा आफैप्रति गनगन गरिरहन्थे म । बाल्यकालमा पोखिनु पर्ने चञ्चलता, उछलकुद चाँहिदो मात्रामा नपोखिएपछि पोखरीको पानी सरह जम्दोरहेछ मानिस । हुन त नाच्ने, गाउने, अभिनय जस्ता कतिपय कुरा कला भन्दा बढि अभ्यास रहेछन । जीवन भन्नु नै सिकाइ त रहेछ आखिर !

हामी ओच्छयानमा पुग्दा रातको बाह्र बज्न आँटी सकेको थियो । बिहान झ्यालमा ठोक्किन आइपुगेकोे कमलो घामले व्युँझायो । घरभेटीहरु बिहानी खाजाको तयारीमा थिए । चियाबारी हेर्न खाजा खाएर जान सुझाउनु भो वहाँहरुले । घरको छतमाथि उक्लेर वरपरको सिङ्गै भूगोल आँखाले भ्याउञ्जेल नियाल्यौ । पूर्वतर्फ फर्किएको आँगनीमा बिहानैदेखि झलमल्ल घाम लागेका थिए । न्यानो बिहानीले हामीलाई स्वागत गरिरहेथ्यो । चौध वर्ष अगाडी आएको ल्वाङ गाउँ र आजको गाउँ भौतिक रुपमा मात्र परिवर्तित देखिन्थेन यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक स्वरुप भिन्न लागिरहेथ्यो । ऊबेला धेरैजसो परम्परागत ढुङ्गाले छाएका घरहरु, ढुङ्गा छापिएकै बाटो, आँगनमा पनि ढुङ्गाकै छपनी देखिन्थे ।

पुरानो ल्वाङ गाउँ गुरुङहरुको बाहुल्यता भएको, उनीहरुको रहनसहन, पहिचान झल्काउने, स्थानीय लवज र खानपानले अर्गानिक स्वादको थियो । अहिले हरेकजसो होमस्टेका घर पोखराका होटल जत्तिकै सुविधायुक्त छन । पहिले यहाँको मुख्य पेशा कृषि थियो, अहिले हरेक घरका सन्ततिहरु बैदेशिक रोजगारीमा रहेछन । अन्नपूर्ण संरक्षण क्षेत्रको योगदान गाउँमा ठूलो रहेछ । उतिबेला गाउँलेहरुले धेरै संघर्ष गरेर बिजुली बालेका, नाङ्गा डाँडामा चिया रोपेर गाउँलाई आकर्षक बनाएको बताउँथे । शान्त र शौम्य वातावरणले मनमोहक लाग्ने यो पवित्र भूमि भिड र फोहोरले प्रदुषित नबनाई देओस् भन्दै म मनमनै कामना गरिरहेथे ।

गाउँलाई आधुनिकताले छपक्कै छोपेको थियो । गाउँमा आधुनिकता पुग्नु हुँदैन भन्ने होइन तर गाउँमा बाटो र अन्य सुविधा पुगेसँगै चाउचाउ, कोकाकोलाले गाउँका मोही, दही र भुटेको मकै जस्ता अर्गानिक स्वाद विस्थापित हुनु हुँदैन । यातायातका साधनहरुको ताँती, विकासे विउ विजन र विषादीले गाउँको सुन्दरता नधमिल्याउन, पुराना मानिस र उनीहरुले बोल्ने भाषा नतुरिउन मनमा यहि कामना थियो । कतिपय घरहरु भने परम्परागत शैलीमा आधुनिकीकरण गरिएका थिए जस्तो कि हामी बसेको घर पनि त्यसकै एक नमूना थियो । खाजा तयारी भएपछि हामी पुनः हिजो जस्तै गरी आँगन र बान्नामाथि लहरै बस्यौ । कोदाको फिनी रोटी, अण्डा, स्थानीय मकै बोडीको झोल तरकारी र तात्तातो चियाको बाफ स्वाद मानी मानी खायौ । 

गाउँमा आन्तरिक पर्यटकको घुईचो देखिन्थ्यो । उकाली गल्ली ताक्दै गर्दा भर्खरै उर्जावान युवाहरु स्पीकर बजाउँदै मग्नमस्त तालमा उकालो लागिरहेथे । उकालोकै बीचमा भर्खरै बनि सिध्याएको चौतारीमा बसेर अंग्रेजीमा ल्वाङ लेखिएको ठाउँमा तस्वीर खिच्न हामीले पालो नै कुर्नु प¥यो । बुद्धको मुर्ति भएको ठाउँ वरपर समेत तस्विर लिनेहरुको उत्तिकै भिडभाड थियो । उकालो एकाध घण्टा चढिसकेपछि मनै लोभ्याउने चियाबारीको हरियालीले तरंगित बनायो मन । चियाबारीका बीचबीचमा छरिएर पर्यटकहरु फोटो, भिडियो, टिकटकमा रम्दै थिए । हाम्रो फोटोग्राफीका लागि भने दीक्षा म्याम र सुरज सर बेस्ट हुनुहुन्थ्यो । चियावारीमा तस्विर लिनेहरुले चिया बगानमा क्षति नपुर्‍याउन भनि म सचेत भइरहेथे ।

तल्लो चियाबारीबाट माथ्लो चियाबारीमा उक्लँदा सौन्दर्यको सौगात लिएर प्रकृतिले हार्दिकता प्रकट गरिरहेथ्यो । गुरुङ्ग पोसाकमा सजिएका सात, आठ जना आमा युवतीहरु शान्तिश्री परियारको स्वरमा रहेको “जुनेली रातै रातैमा, म भुले तिम्रो बातैबातैमा” भन्ने बोलको गीतमा निर्भिक भएर निमग्न तालमा झुमिरहेका थिए । निर्वाध नृत्यमा समाहित ती युवतीहरुको ऊर्जा देखेर  मन त्यसै त्यसै चङ्गा भएर आकाशिन थाल्यो । प्रकृतिको रुमानी परिवेशमा मख्ख परेका उनीहरु संगीतको तालमा ध्यानमग्न थिए ।

ती सुन्दर महिलाहरुको समूह पोखराको घारीपाटनबाट अघिल्लो दिन नै चियाबारीमा नै बस्नेगरी पुगेको रहेछ । मलाई त्यो दृष्यले यसरी तान्यो कि उत्तिनखेर उफ्रेर ती पोसाक लगाउ अनि उनीहरुसँगै निमग्न होऊ नृत्यमा । आफैभित्र भुतुक्क पार्ने लाज छिनमै कहाँ विलायो मेसै पाइन । पृथ्वीको आधा आकाश धानेका महिलाहरु जब आत्मनिर्भरताको उडान भरेर स्वतन्त्र पंक्षीझै विचरण गर्न थाल्दछन् तब न सम्पूर्ण बन्धनहरु स्वतस्फुर्त छिनालिन्छन । महिलाहरु यात्रामा निस्कनु सुन्दर लाग्छ मलाई । कवि भुपिन भन्दछन्, “धरतीलाई पुरुषले भन्दा महिलाले गहिरोसँग बुझ्न सक्छन्, किनकि महिलाहरु प्रकृतिको निकट हुन्छन ।”

एक घण्टाका लागि गुुरुङ ड्रेसमा सजिएर हामी चिटिक्क पर्‍यौ । अर्को समूह भने चियाबारीतर्फ तस्वीर कैद गर्दै थियो । “कति रमाइलो कति रमाइलो, आहा ! जति जियो जिन्दगानी उति रमाइलो !” जीवन विज्ञानको यो गीतको बोल कानमा गुञ्जायमान बनिदियो । पोखरादेखि छोटो दूरीमा रहेको ल्वाङ गाउँ चौध वर्षमा दोहोर्‍याएर पुगे म । चौध वर्षमा त राम वनवासबाट फर्किसकेका थिए । यो समयमा कति यात्रामा सहभागी भए ? कति समय आफ्ना निम्ति छुट्टयाए ? यो बीचको जीवनमा के कस्ता उतार चढावबाट गुज्रिए ? जागिर र घरको काममा कति दत्तचित्त भई जीवन वाँचे ? प्रश्नहरुको मुस्लोले आफैलाई ढपक्कै छोप्यो । जीवनमा उमेरको खुड्किलोसँगै जिम्मेवारीले कहिले नछोड्ने रहेछ मानिसलाई । मेरै आमा, हजुरआमाहरुको जीवन नियाल्छु, यद्यपि फुर्सदमा कहिल्यै देख्दिन म । आखिर ! हातखुट्टा चलुञ्जेल तन्किरहनुको नाम नै त जीन्दगी रहेछ ।

ल्वाङको चियाबारीमा केहीबेर स्वाङ पारेर अब भने फर्कने तरखरमा लाग्यौ । फर्कने बेला म सबै साथीहरुको मुहार एक एक गरी नियाल्दै थिए, सबै मग्नमस्ती चालमा प्रकृतिको सुरम्य रसपानमा मस्त देखिन्थे । घरको यादले कसैलाई निमोठेको थिएन । कार्यालयको व्यस्तताले कसैलाइ निचोरेको देखिन्थेन । गाउँले जीवन, पँधेराको चिसोपानी, बेलाबखतको अन्न फलफूल, तरकारी, रनवनको मीठो सुसेली गाउँमै जीवनको मर्मबोध भेटिन्छ । फर्कदा ल्वाङ गाउँको सामूहिक पँधेरो, बराह थान, चौतारो, धारो, समाज घरको व्यवस्थापन तथा संरक्षण गरिएको हेर्दै प्रशंसाका गुत्थाहरु मनमनै गाँस्दै ओरालो एक झमटमै झरी भ्याईएछ ।

लोकल चामलको भातसहितको स्थानीय स्वादको भोजन ग्रहण पश्चात घर फर्कने तरखरमा लाग्यौ हामी । बाह्र बज्दा नबज्दै घरभेटीले दिएको दुईथुङ्गा फूल कपालमा सिउरेर ल्वाङ बसाईको मीठो सम्झना सँगाल्दै झोला बोकेर ओरालो झर्‍यौ । आउँदा दिनमा महिना, दुई महिनामा यसैगरी यात्रामा निस्कने प्रतिबद्धता गर्‍यौ । साँझ ओच्छयानमा सुस्ताउँदा चौध वर्षअघि र पछिको ल्वाङ गाउँको प्रकृति, पर्यावरण र मानिसको मीठो संलापको संवेदनामा डुबिरहे म । आखिर प्रकृति रहेछ अन्तमा शरण लिने ठाउँ । प्रकृतिसँगै लुकामारी खेल्दै, प्रकृतिकै काखमा निदाउन पाइयोस् ।   


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.