ल्वाङ गएर स्वाङ पार्दा !
मिरमिरे साँझमा हामी ल्वाङ पुगेका थियौ । आकासमा एक हुल चराहरुको बथान गुँड फर्किरहेथ्यो । गाडीको अन्तिम स्टेसनमा ओर्लिएछि आ–आफ्नो गन्तव्यतर्फ लाग्ने मानिसहरुको कल्याङ मल्याङ बढ्तै सुनिरहेथ्यो । भर्खरै आएको चिसो बतासले एक झमट हामीलाई हिर्काएर पर पुग्यो । पछाडि फर्केर बेसीतिर नियाल्दा पोखरा शहर पर आकाशमा जुनकिरी टिलमिलाएझै बिजुली टिलमिलाईरहेथ्यो ।
पोखरा विमानस्थल भने बढ्तै उज्यालिरहेथ्यो । हामी मध्य केहीले आ–आफ्नो गन्तव्य पहिल्याउने फाल्तु कोशिस गर्यौ । त्यो लहरमा म अछुतो हुन सकिनँ । ल्वाङगाउँ भने साँझको राखनधरानमा व्यस्त देखिन्थ्यो । चालक दाइले हामी बस्ने घर तोकेरै देखाई दिदा हामी भने धक फुकाएर हाँस्यौ । जीवनमा हाँस्नु र ठट्टा गुर्न महत्त्वपूर्ण कुरा रहेछन, केही क्षण भए पनि छिल्लिदै उकालिने रहर गन्तव्य नजिकै भेटिएपछि थाँती रहे ।
मंसिरको १७, १८ कार्यालय बिदा थियो । मान्छेको स्वभाव सामुहिक मनोरञ्जनमा रमाउने हुँदोरहेछ । हामी ईच्छुक साथीहरु जमात बटुलेर कार्यालय समय पछाडि ल्वाङ जाने निधो भयो । पोखरादेखि जम्माजम्मी एक–डेढ घण्टाको मोटर बाटोमा पर्छ ल्वाङ । कास्कीमा चल्तीका होमस्टे रहेका गाउँमध्ये पहिलो लहरमा आउँछ ल्वाङ गाउँ । गुरुङ्ग समुदायको बाहुल्यता रहेको गाउँमा दलित र ब्राम्हण समुदाय पनि बसोबास गर्दछन् । पहिले २०६८ सालमा पुगेकी थिए म ल्वाङ । पुगिसकेको ठाउँमा दोहोर्याएर पुग्दा छुट्टै प्रकारको आत्मियता महसुस भइदिन्छ ।
यात्रामा निस्कने भनेपछि बिहानैदेखि मन उद्देलित भइरहेथ्यो । पोखरा नर्सिङ क्याम्पसबाट ४ः३० मा गुडेको जीप महेन्द्रपुल हुँदै हेम्जा पुगिसक्दा यात्राको रोमाञ्चकतामा फुक्काफाल भएर हिड्नुको मादकताले छोपेको थियो । लामो होस् या छोटो, एकै दिन भने पनि दिनानु दिनको एकनासे दैनिकीबाट उमुक्त भएर बाहिर निस्कँदा सुदूर पहाडमा उडिरहेको पंक्षी सरह अनुभूति गर्छु म । हुन त त्यो पंक्षी जति पर पुगे पनि फर्केर आउने आफ्नै गुँडमा न हो। तै पनि विरासतमै भान्सो लिएर जन्मेका नेपाली समाजका आम महिलाको पीडा महसुस गर्न सक्थे म । नयाँ हातको स्वाद चाख्न पाउँदा फुरुङ्ग हुने जमातबाट हामी फरक थिएनौ ।
जीपमा उक्लने बेला नै चालकले आठ जनासम्म बस्न पाइने बताए पनि हामी नौ जनाको संख्यामा थियौ । कहिलेकाहीँ समूहमा यात्रा गर्दा सम्झौता गर्नुको विकल्प हुँदैन । गाडी मर्दीको तिरैतिर धिताल जाने बाटो पछ्याउँदै लाचोक घाचोकलाई वारीबाट नियाल्दै अगाडि बढिरह्यो । साँझको समय उत्तरतिर हिमालहरु सुन जस्तै टल्किएर हाम्रै स्वागत गरिरहेथे । दोबाटोमा पुगेपछि साथीहरुले क्यानोनिङ गर्न जाने ठाउँ अर्कोतर्फ औल्याए । मनको एउटा कुनामा क्यानोनिङ गर्ने रहर संङ्गालेकी म भने गर्मीयामको कुनै दिन क्यानोनिङ गर्ने आफैसँग गरेको वाचा बासी भएको सम्झेर फिस्स हाँसे ।
बाटोमै भेटिएको भेडाबारीको स्वास्थ चौकीतर्फ औल्याउँदै कम्युनिटी समूहका विद्यार्थीहरुलाई फिल्ड भिजिटका लागि ल्याइने जानकारी कसैले गरायो । चौध वर्ष अगाडिको ल्वाङ पुग्ने बाटो पुरापुर बदलिएको थियो । सडक वरपर दुइतर्फी ठडिएका घरहरुले स–सानो बजारको झल्को दिई रहेथे । बदलिएको समय हो या मेरै समिपको भूगोल ! ल्वाङको पाखातर्फ गाडी उक्लिन थालेपछि एकक्षण गम खाएँ । मर्दी खोलाको किनार र वारीपारीका डाँडापाखा भने उस्तै लागिरहेथे ।
सुन्दर शहर पोखरा वरपर एक दिनको होमस्टे या घुमघाम गर्नका लागि धेरै ठाउँको विकास भएका छन । एक–एक दिन गरेर जाने हो भने पनि एक महिनामा पुरै ठाउँ पुग्न नभ्याईएला ! पोखरा वरपरका हरेक डाँडामा होमस्टे सञ्चालन गरेर आन्तरिक र बाह्य पर्यटकलाइ आकर्षित गरिन्छ । कास्कीका सिकलेस, ताङतिङ, याम्जाकोट, ल्वाङ, घान्द्रुक, धम्पुस, काहुँडाँडा, कालाबाङ, तोरीपानी, अस्थाम, हेम्जाकोट, मट्टिखान, बेगनास लगायतका धेरै ठाउँमा होमस्टेको प्रवद्र्धन गरि आन्तरिक पर्यटक आकर्षित गरिएको छ । वरपरका हरेक गुरुङ्ग गाउँहरु संरक्षणमा ध्यान दिइएको छ । घुम्नु, प्रकृति हेरेर रमाउनु मात्र यात्राको उद्देश्य होइन, नयाँ ठाउँको समाज, संस्कृति बुझ्नु पनि हो ।
अन्ततः केही उबडखाबड कच्ची र केही पक्की सडक गरी करिब डेढ घण्टामा होमस्टेको पाहुना हुन पुग्यौ हामी । ल्वाङ गाउँको प्रवेशद्धार कट्ने बित्तिकै रहेछ ल्वाङ गाउँकी आमा समूहकी अध्यक्षको घर । पहिलेको दुर्गम आदिम गाउँलाई सुन्दर, सुगम र पर्यटकीय बनाउन हामी बसेकै घरकी डम्मरकुमारी आमाले नेतृत्व लिएर बिभिन्न सामाजिक काम गरेकी रहिछिन । किताबभन्दा कर्मको कुदाइले दिएको सन्तोष उनको मुहारमा चम्किरहेथ्यो। बाटोबाटै देखिने चिटिक्क सफा घर, फराकिलो आँगन, पसल, सफा भान्सा र डाइनिङ अनि झिलिमिली बत्तीले घर वरपरको वातावरण मनमोहक देखिरहेथ्यो । सामाजिक काममा सक्रिय आमाको घरायासी काम प्रतिको जिम्मेवारीता पनि उत्तिकै निपूर्ण देखिन्थ्यो ।
आँगन वरपर तिहारमा फुलेका सयपत्री ताजै देखिन्थे । बारीको कान्लामा लटरम्म फुलेको लालुपाते टाढैबाट हामीलाई हेरेर मुस्कुराई रहेथ्यो । झोला पिँढीतिर फ्यालेर हलुको हुन चाहन्थ्यौ हामी । पुटुस्स परेका झोलाले मंसिरे चिसोको तयारी सबैले राम्रै गरेको बुझिन्थ्यो । हाम्रा लागि आँगनमा कुर्सी टेबल मिलाइ दिएर वहाँहरु खानाको तयारीमा लाग्नु भयो । भोको पेटमा भुटेको फूलामकै र कालो चिया निकै सुस्वादु लागिरहेथ्यो । हामी झोला थन्काउने तरखरमा लाग्यौ । केही साथीहरु भने बारबाक्यू गर्ने, आगो ताप्ने र केहीबेर नाचगानमा रमाउने तयारीमा जुटदै थिए ।
मंसिरको चिसोमा दन्केको आगाको राफ वरपर झुम्मिएर लहरै बस्यौ । कसैले नाचेर, त कसैले तात्तातो झोलले ज्यान तताउने क्रम शुरु भयो । जानी नजानी अनुशासित नृत्यमा निमग्न साथीहरुको ऊर्जा थामिनसक्नु थियो । साथीहरुका बीचमा खुलेर नाच्न नसकेकोमा आफैप्रति गनगन गरिरहन्थे म । बाल्यकालमा पोखिनु पर्ने चञ्चलता, उछलकुद चाँहिदो मात्रामा नपोखिएपछि पोखरीको पानी सरह जम्दोरहेछ मानिस । हुन त नाच्ने, गाउने, अभिनय जस्ता कतिपय कुरा कला भन्दा बढि अभ्यास रहेछन । जीवन भन्नु नै सिकाइ त रहेछ आखिर !
हामी ओच्छयानमा पुग्दा रातको बाह्र बज्न आँटी सकेको थियो । बिहान झ्यालमा ठोक्किन आइपुगेकोे कमलो घामले व्युँझायो । घरभेटीहरु बिहानी खाजाको तयारीमा थिए । चियाबारी हेर्न खाजा खाएर जान सुझाउनु भो वहाँहरुले । घरको छतमाथि उक्लेर वरपरको सिङ्गै भूगोल आँखाले भ्याउञ्जेल नियाल्यौ । पूर्वतर्फ फर्किएको आँगनीमा बिहानैदेखि झलमल्ल घाम लागेका थिए । न्यानो बिहानीले हामीलाई स्वागत गरिरहेथ्यो । चौध वर्ष अगाडी आएको ल्वाङ गाउँ र आजको गाउँ भौतिक रुपमा मात्र परिवर्तित देखिन्थेन यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक स्वरुप भिन्न लागिरहेथ्यो । ऊबेला धेरैजसो परम्परागत ढुङ्गाले छाएका घरहरु, ढुङ्गा छापिएकै बाटो, आँगनमा पनि ढुङ्गाकै छपनी देखिन्थे ।
पुरानो ल्वाङ गाउँ गुरुङहरुको बाहुल्यता भएको, उनीहरुको रहनसहन, पहिचान झल्काउने, स्थानीय लवज र खानपानले अर्गानिक स्वादको थियो । अहिले हरेकजसो होमस्टेका घर पोखराका होटल जत्तिकै सुविधायुक्त छन । पहिले यहाँको मुख्य पेशा कृषि थियो, अहिले हरेक घरका सन्ततिहरु बैदेशिक रोजगारीमा रहेछन । अन्नपूर्ण संरक्षण क्षेत्रको योगदान गाउँमा ठूलो रहेछ । उतिबेला गाउँलेहरुले धेरै संघर्ष गरेर बिजुली बालेका, नाङ्गा डाँडामा चिया रोपेर गाउँलाई आकर्षक बनाएको बताउँथे । शान्त र शौम्य वातावरणले मनमोहक लाग्ने यो पवित्र भूमि भिड र फोहोरले प्रदुषित नबनाई देओस् भन्दै म मनमनै कामना गरिरहेथे ।
गाउँलाई आधुनिकताले छपक्कै छोपेको थियो । गाउँमा आधुनिकता पुग्नु हुँदैन भन्ने होइन तर गाउँमा बाटो र अन्य सुविधा पुगेसँगै चाउचाउ, कोकाकोलाले गाउँका मोही, दही र भुटेको मकै जस्ता अर्गानिक स्वाद विस्थापित हुनु हुँदैन । यातायातका साधनहरुको ताँती, विकासे विउ विजन र विषादीले गाउँको सुन्दरता नधमिल्याउन, पुराना मानिस र उनीहरुले बोल्ने भाषा नतुरिउन मनमा यहि कामना थियो । कतिपय घरहरु भने परम्परागत शैलीमा आधुनिकीकरण गरिएका थिए जस्तो कि हामी बसेको घर पनि त्यसकै एक नमूना थियो । खाजा तयारी भएपछि हामी पुनः हिजो जस्तै गरी आँगन र बान्नामाथि लहरै बस्यौ । कोदाको फिनी रोटी, अण्डा, स्थानीय मकै बोडीको झोल तरकारी र तात्तातो चियाको बाफ स्वाद मानी मानी खायौ ।
गाउँमा आन्तरिक पर्यटकको घुईचो देखिन्थ्यो । उकाली गल्ली ताक्दै गर्दा भर्खरै उर्जावान युवाहरु स्पीकर बजाउँदै मग्नमस्त तालमा उकालो लागिरहेथे । उकालोकै बीचमा भर्खरै बनि सिध्याएको चौतारीमा बसेर अंग्रेजीमा ल्वाङ लेखिएको ठाउँमा तस्वीर खिच्न हामीले पालो नै कुर्नु प¥यो । बुद्धको मुर्ति भएको ठाउँ वरपर समेत तस्विर लिनेहरुको उत्तिकै भिडभाड थियो । उकालो एकाध घण्टा चढिसकेपछि मनै लोभ्याउने चियाबारीको हरियालीले तरंगित बनायो मन । चियाबारीका बीचबीचमा छरिएर पर्यटकहरु फोटो, भिडियो, टिकटकमा रम्दै थिए । हाम्रो फोटोग्राफीका लागि भने दीक्षा म्याम र सुरज सर बेस्ट हुनुहुन्थ्यो । चियावारीमा तस्विर लिनेहरुले चिया बगानमा क्षति नपुर्याउन भनि म सचेत भइरहेथे ।
तल्लो चियाबारीबाट माथ्लो चियाबारीमा उक्लँदा सौन्दर्यको सौगात लिएर प्रकृतिले हार्दिकता प्रकट गरिरहेथ्यो । गुरुङ्ग पोसाकमा सजिएका सात, आठ जना आमा युवतीहरु शान्तिश्री परियारको स्वरमा रहेको “जुनेली रातै रातैमा, म भुले तिम्रो बातैबातैमा” भन्ने बोलको गीतमा निर्भिक भएर निमग्न तालमा झुमिरहेका थिए । निर्वाध नृत्यमा समाहित ती युवतीहरुको ऊर्जा देखेर मन त्यसै त्यसै चङ्गा भएर आकाशिन थाल्यो । प्रकृतिको रुमानी परिवेशमा मख्ख परेका उनीहरु संगीतको तालमा ध्यानमग्न थिए ।
ती सुन्दर महिलाहरुको समूह पोखराको घारीपाटनबाट अघिल्लो दिन नै चियाबारीमा नै बस्नेगरी पुगेको रहेछ । मलाई त्यो दृष्यले यसरी तान्यो कि उत्तिनखेर उफ्रेर ती पोसाक लगाउ अनि उनीहरुसँगै निमग्न होऊ नृत्यमा । आफैभित्र भुतुक्क पार्ने लाज छिनमै कहाँ विलायो मेसै पाइन । पृथ्वीको आधा आकाश धानेका महिलाहरु जब आत्मनिर्भरताको उडान भरेर स्वतन्त्र पंक्षीझै विचरण गर्न थाल्दछन् तब न सम्पूर्ण बन्धनहरु स्वतस्फुर्त छिनालिन्छन । महिलाहरु यात्रामा निस्कनु सुन्दर लाग्छ मलाई । कवि भुपिन भन्दछन्, “धरतीलाई पुरुषले भन्दा महिलाले गहिरोसँग बुझ्न सक्छन्, किनकि महिलाहरु प्रकृतिको निकट हुन्छन ।”
एक घण्टाका लागि गुुरुङ ड्रेसमा सजिएर हामी चिटिक्क पर्यौ । अर्को समूह भने चियाबारीतर्फ तस्वीर कैद गर्दै थियो । “कति रमाइलो कति रमाइलो, आहा ! जति जियो जिन्दगानी उति रमाइलो !” जीवन विज्ञानको यो गीतको बोल कानमा गुञ्जायमान बनिदियो । पोखरादेखि छोटो दूरीमा रहेको ल्वाङ गाउँ चौध वर्षमा दोहोर्याएर पुगे म । चौध वर्षमा त राम वनवासबाट फर्किसकेका थिए । यो समयमा कति यात्रामा सहभागी भए ? कति समय आफ्ना निम्ति छुट्टयाए ? यो बीचको जीवनमा के कस्ता उतार चढावबाट गुज्रिए ? जागिर र घरको काममा कति दत्तचित्त भई जीवन वाँचे ? प्रश्नहरुको मुस्लोले आफैलाई ढपक्कै छोप्यो । जीवनमा उमेरको खुड्किलोसँगै जिम्मेवारीले कहिले नछोड्ने रहेछ मानिसलाई । मेरै आमा, हजुरआमाहरुको जीवन नियाल्छु, यद्यपि फुर्सदमा कहिल्यै देख्दिन म । आखिर ! हातखुट्टा चलुञ्जेल तन्किरहनुको नाम नै त जीन्दगी रहेछ ।
ल्वाङको चियाबारीमा केहीबेर स्वाङ पारेर अब भने फर्कने तरखरमा लाग्यौ । फर्कने बेला म सबै साथीहरुको मुहार एक एक गरी नियाल्दै थिए, सबै मग्नमस्ती चालमा प्रकृतिको सुरम्य रसपानमा मस्त देखिन्थे । घरको यादले कसैलाई निमोठेको थिएन । कार्यालयको व्यस्तताले कसैलाइ निचोरेको देखिन्थेन । गाउँले जीवन, पँधेराको चिसोपानी, बेलाबखतको अन्न फलफूल, तरकारी, रनवनको मीठो सुसेली गाउँमै जीवनको मर्मबोध भेटिन्छ । फर्कदा ल्वाङ गाउँको सामूहिक पँधेरो, बराह थान, चौतारो, धारो, समाज घरको व्यवस्थापन तथा संरक्षण गरिएको हेर्दै प्रशंसाका गुत्थाहरु मनमनै गाँस्दै ओरालो एक झमटमै झरी भ्याईएछ ।
लोकल चामलको भातसहितको स्थानीय स्वादको भोजन ग्रहण पश्चात घर फर्कने तरखरमा लाग्यौ हामी । बाह्र बज्दा नबज्दै घरभेटीले दिएको दुईथुङ्गा फूल कपालमा सिउरेर ल्वाङ बसाईको मीठो सम्झना सँगाल्दै झोला बोकेर ओरालो झर्यौ । आउँदा दिनमा महिना, दुई महिनामा यसैगरी यात्रामा निस्कने प्रतिबद्धता गर्यौ । साँझ ओच्छयानमा सुस्ताउँदा चौध वर्षअघि र पछिको ल्वाङ गाउँको प्रकृति, पर्यावरण र मानिसको मीठो संलापको संवेदनामा डुबिरहे म । आखिर प्रकृति रहेछ अन्तमा शरण लिने ठाउँ । प्रकृतिसँगै लुकामारी खेल्दै, प्रकृतिकै काखमा निदाउन पाइयोस् ।
प्रतिक्रिया दिनुहोस !