नेपाल–जापान : मितेरीका सात दशक
नेपाल र जापानबीचको सम्बन्ध दुई देशका सरकारबीचको औपचारिक कूटनीतिमा मात्र सीमित छैन। यो सम्बन्ध बौद्ध धर्मको दर्शन, सगरमाथाको चुचुरो, कला, साहित्य र जनस्तरको आत्मीयताले सिँचेको बलियो जगमा उभिएको छ।
नेपाल र जापानबीचको सम्बन्ध केवल भौगोलिक दूरीमा नाप्न सकिँदैन; यो त दुई देशका जनताबीचको भावनात्मक, सांस्कृतिक र ऐतिहासिक सामीप्यको अटुट शृंखला हो। सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै अघिदेखि नै यी दुई राष्ट्रबीच जनस्तरमा प्रगाढ साइनो गाँसिइसकेको थियो।
एसियाका दुई प्राचीन सभ्यता बोकेका यी देशहरूले विगत सात दशकमा राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उदाहरणीय सहकार्य गर्दै आएका छन्। बुद्धको शान्ति सन्देशदेखि सगरमाथाको शिखरसम्म र आधुनिक प्रविधिदेखि विपद् व्यवस्थापनसम्म, नेपाल र जापानको सम्बन्ध एक अब्बल मित्रताको मानक बनेको छ।
नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष पुगेको छ। सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक रूपमा स्थापना भएको कूटनीतिक सम्बन्धले त्यसयता थुप्रै आयामहरू पार गरेको छ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पूर्वाधार विकास, शिक्षा, सञ्चार, विज्ञान, प्रविधि, उद्योग, खेल, स्वास्थ्य, कृषि, जलविद्युत्लगायतका क्षेत्रमा मात्र नभई नेपाललाई भूकम्प, बाढीपहिरोलगायतका विपद् परेका बखत पनि जापानबाट स्मरणयोग्य सहयोग र सहकार्य भएको छ।
अध्ययनसँगै व्यवसाय र रोजगारीका सिलसिलामा थुप्रै नेपालीहरू अहिले जापानमा पुगेका छन्। नेपालका विद्वान योगी नरहरिनाथले लेखेको ‘जापान शब्दचित्र’ संस्कृत खण्डकाव्य, कृष्णबहादुर बर्माले लेखेको ‘जापानमा के के पाएँ’ लगायतका पुस्तकमा नेपाल र जापानका धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक पक्षका विविध आयाम र विषयलाई समेटेर लेखिएको पाइन्छ।
जापानले काठमाडौंमा सन् १९६८ को फेब्रुअरीमा दूतावास खोल्नुपूर्व नेपालले सन् १९६५ को जुलाईमा टोकियोमा आफ्नो दूतावास स्थापना गरिसकेको थियो। सो समयमा भरतराज राजभण्डारी नेपाली राजदूत हुनुहुन्थ्यो। त्यसभन्दा अघि तत्कालीन समयमा भारतका लागि जापानी राजदूतले नै नेपाल र भारतका लागि नेपालका राजदूतले जापानलाई हेर्ने व्यवस्था थियो। सो समयमा भारतका लागि नेपाली राजदूत दमनशमशेर राणा र भारतका लागि जापानी राजदूत सेइजिरो योसीजावा हुनुहुन्थ्यो।
तत्कालीन राजा महेन्द्र र रानी रत्नले पहिलोपटक १९६० को अप्रिलमा जापानको राजकीय भ्रमण गर्नुभएको थियो। यसै वर्षको डिसेम्बरमा जापानका युवराज अकिहितो र युवराज्ञी मिचिकोले पनि नेपालको राजकीय भ्रमण गरी दुई देशको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको इतिहास देखिन्छ। यससँगै उहाँहरूले तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा सन् १९७५ मा नेपाल भ्रमण गर्नुभएको थियो। सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले जापान भ्रमण गर्नुभएको थियो। त्यसपछि हालसम्म दुवै देशका तर्फबाट थुप्रै उच्चस्तरीय भ्रमणहरू भएका छन्।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा ५७ वर्षपहिले अर्थात् सन् १८९९ मा जापानी जेन बुद्धिष्ट भिक्षु एकाइ कावागुचीले पहिलोपटक नेपाल हुँदै तत्कालीन तिब्बतको अध्ययन भ्रमण गर्नुभएको कुरा उहाँको ‘थ्री इयर्स इन तिब्बत’ पुस्तकमा उल्लेख छ। यसअनुसार सोही समयदेखि नै जापानको नेपालसँग सांस्कृतिक सम्बन्धको सुरुवात भएको धेरै विद्वानहरूले उल्लेख गर्नुभएको छ। कावागुची नेपाल भ्रमण गर्ने पहिलो जापानी हुनुहुन्थ्यो र उहाँले चार पटक नेपाल भ्रमण गरेको इतिहास छ।
उहाँको सम्मानमा नेपाल सरकारले सन् २००२ मा कावागुचीको तस्बिर अंकित हुलाक टिकट पनि जारी गरेको थियो। कावागुचीपश्चात् जापानलाई नेपालसँग जोड्ने अर्को महत्वपूर्ण पात्र हुनुहुन्छः जुन्को ताबेई। ताबेईले सन् १९७५ मे १६ मा ३५ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरी पहिलो महिला बन्ने इतिहास रच्नुभएको थियो। उहाँले देखाएको दृढता र आत्मविश्वासले संसारका थुप्रै नारीहरूलाई प्रेरित गरेको छ।
उहाँको सन् २०१६ मा ७७ वर्षको उमेरमा निधन भइसकेको छ। योसँगै नेपाल, जापान र चीनका पर्वतारोहीहरूले संयुक्त रूपमा सन् १९८८ मा गरेको सगरमाथा आरोहण पनि सम्बन्धको एउटा कडी हो।
त्यस्तै, नेपाल र जापानको सम्बन्धलाई जोड्ने अर्को क्षेत्र गीतसंगीत हो। जापानका अकिता सान, हारुहितो नोजु, मिकाले नेपाली सांगीतिक क्षेत्रमा योगदान दिनुभएको छ। ओई सानो, युचि हायाता, कोउतोउ मारियालगायतका नाम पनि नेपाली सांगीतिक क्षेत्रसँग जोडिएका छन्। केही नेपालीले गाएका जापानी गीत र जापानीले गाएका नेपाली कभर गीतका भिडियोहरू सामाजिक सञ्जालमा थुप्रै भेटिन्छन्। हालै नेपाली चलचित्र ‘युनिभर्सिटी अफ गुन्डाज’मा जापानी नायिका मीना यशोदालाई अनुबन्ध गरिएको समाचारले चलचित्र क्षेत्रमार्फत पनि सम्बन्ध अघि बढेको देखाउँछ।
ललितकलामार्फत पनि नेपाल र जापानको सम्बन्ध जोडिएको छ। कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको सन्दर्भ पारेर २०८१ वैशाख २ देखि ७ गतेसम्म (२०२४ अप्रिल १५–२०) नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको अरनिको ग्यालरीमा कला प्रदर्शनी भएको थियो। जापानी कलाकार सुनेयो कानेदाको १००औं जन्मदिनको अवसरमा आयोजित उक्त प्रदर्शनीको नेपालका लागि जापानी दूतावासका डेपुटी चिफ अफ मिसन यासुहारु सिन्तोले उद्घाटन गर्नुभएको थियो। सन् १९२६ मा जन्मिएकी कानेदाको सन् १९८८ मा ६० वर्षको उमेरमा निधन भएको थियो। उहाँको कलामा मनोविज्ञान, बालबालिका, महिला, शिक्षालगायतका विविध विषय झल्किन्छन्।
यस प्रदर्शनीका लागि विशेष पहल सुनेयो कानेदाकी नातिनी साची मानाले गर्नुभएको थियो। प्रदर्शनीमा साचीसँगै उहाँका बुवा अर्थात् सुनेयो कानेदाका छोरा ताकुया कानेदा (७०) को पनि उपस्थिति थियो। टोकियोको ओत्सुमा वुमेन्स युनिभर्सिटीमा आर्ट एजुकेसन पढाउनुभएका ताकुया ३२ वर्ष प्राध्यापन गरी सेवानिवृत्त हुनुभएको हो। नेपाली भाषामा समेत पोख्त ताकुयाले बुटवलकी सरस्वती सुवेदीसँग प्रेमविवाह गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘मैले टोकियो युनिभर्सिटी अफ आट्र्समा पढेको समयमा सोभियत युनियन, इरान, अफगानिस्तान, भारत, पाकिस्तान लगायतका देशमा यात्रा गरें। यो यात्राले मलाई आकर्षित गर्यो । आमालाई भनें र उहाँसँगै सन् १९७१ मा नेपाल आएँ।’
सन् १९७१ को सेप्टेम्बर ७ देखि ११ सम्म सुनेयो कानेदाले नक्सालको सीताभवनमा रहेको नाफा आर्ट ग्यालरीमा ‘एसियाली बालबालिका चित्रकला प्रदर्शनी’ गर्नुभएको थियो। प्रदर्शनीको तस्बिरमा अग्रज कलाकार लैनसिंह वाङ्देलको पनि उपस्थिति देखिन्छ। गोरखापत्रका पत्रकार नारायणबहादुर सिंहले सोही बखत ‘एसियाका बालबालिकाः एउटी जापानी कलाकारको दृष्टिमा’ शीर्षकमा सुनेयोको कलाको चर्चा गर्नुभएको थियो। उहाँले लेख्नुभएको छ, ‘कानेदाको कला शिल्प निश्चय नै उच्च कोटिको छ। त्योभन्दा ठूलो कुरा बालबालिकाहरूप्रतिको उहाँको स्नेह अत्यन्त प्रशंसनीय छ।’
२०७२ सालको महाभूकम्पपश्चात् ताकुया कानेदाले धादिङको मूलाबारीमा कलामा आधारित रहेर विभिन्न कार्यक्रमहरू गर्नु भएको थियो। सुनेयोले कलामार्फत नेपालसँग जोडेको साइनोलाई छोरा ताकुयाले नेपाली नागरिकसँग विवाह गरेर र आमाको लिगेसीलाई निरन्तरता दिएर जीवन्त बनाएका छन् भने नातिनी साचीले पनि यसलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका खेलेकी छन्।
समग्रमा हेर्दा, नेपाल र जापानबीचको सम्बन्ध दुई देशका सरकारबीचको औपचारिक कूटनीतिमा मात्र सीमित छैन। यो सम्बन्ध बौद्ध धर्मको दर्शन, सगरमाथाको चुचुरो, कला, साहित्य र जनस्तरको आत्मीयताले सिँचेको बलियो जगमा उभिएको छ। दुई देशका विभिन्न सहर र गाउँबीच स्थापना भएको भगिनी सम्बन्धले सांस्कृतिक आदानप्रदान र पर्यटन विकासमा थप इँटा थपेको छ।
अबका दिनमा, परम्परागत सहयोग र सद्भावको यस ऐतिहासिक विरासतलाई प्रविधि हस्तान्तरण, व्यापार विस्तार र शैक्षिक सहकार्यमार्फत थप उचाइमा पुर्याउनु आवश्यक छ। दुवै राष्ट्रले यस घनिष्ठ सम्बन्धलाई अझ परिष्कृत र समयसापेक्ष बनाउन ध्यान दिन सके, नेपाल र जापानको मितेरी आगामी दिनमा अझ मजबुत र फलदायी बन्ने निश्चित छ।
प्रतिक्रिया दिनुहोस !