पशुपतिनाथमा राखिएको जलहरी सुनको हो कि पित्तल ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : एमाले

काठमाडौं : नेकपा एमालेले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी सुनको हो कि पित्तल यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिनुपर्ने माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले सत्तापक्षका सांसदले प्रमाणबिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै आपत्ती जनाए।
उनले भने,' हामीमाथि सुनियोजित ढंगले लगाइएको आरोप के हो ? यसबारे सरकारको धारणा के छ ? सरकारले त्यो सुन हो कि पित्तल यसबारे यो सदनलाई स्पष्ट ढंगले जानकारी दिनुपर्छ।
उनले जवाफ नदिएसम्म संसद अगाडि बढ्न नदिने चेतावनी समेत दिए। उनले एमालेलाई गैरजिम्मेवारीपूर्वक आरोप लगाउने सांसदले माफी माग्नुपर्ने बताए।
एमाले सांसद सुवासचन्द्र नेम्वाङले आफूहरु सदन रोक्न नहुने पक्षमा रहेको भएपनि सत्तापक्षको तर्फबाट जिम्मेवार सांसदले राखेको कुराको कुनै आधार नरहेको र गैर जिम्मेवार रहेकाले विरोध गर्नुपरेको धारणा राखे।
प्रमुख प्रतिपक्षी दलका नेतामाथि सदनमा गम्भीर प्रश्न उठेपनि यो आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने उनले बताए। यसलाई राफसाफ नगरेसम्म सदन चल्न नसक्ने नेम्वाङको भनाइ छ
गत बुधबार संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको सट्टा पित्तल हालेको अभिव्यक्ति दिएका थिए। उनले ओली नेतृत्वको सरकारमा समेत भ्रष्टाचार भएको बताएका थिए।
सोही विषयलाई लिएर सत्ता पक्षका सांसदहरूले आफ्ना नेतामाथि निराधार आरोप लगाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। एमाले सांसदहरूले यो विषयमा सरकारबाट स्पष्ट जवाफ नआएसम्म संसद अगाडि बढ्न नदिने चेतावनी दिएका छन्। एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस !
