आयशालाई सीतापाइलाको बिदाइ
काठमाडौं : यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकुमा हुने तेक्वान्दोको वल्र्ड च्याम्पियनसिपमा सहभागी आयशा लामालाई सीतापाइला तेक्वान्दो डोजाङले नगदसहित बिदाइ गरेको छ। डोजाङकै उत्पादन आयशालाई नगद एक लाख रुपैयाँसहित बिदाइ गरिएको सीतापाइला तेक्वान्दो डोजाङका प्रमुख बब्लु सिवाकोटीले जानकारी दिए।
आयशालाई नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, डोजाङ प्रमुख सिवाकोटीलगायतले बिदाइ गरेका थिए। वल्र्ड च्याम्पियनसिपमा आयशाले महिला ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्।
वल्र्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्ने छन्। पुरुषको ६८ केजी तौल समूहमा वीर महरा, ८७ केजीमा निरज देवा, ६३ केजीमा गोविन्दबहादुर आले र सुमित विष्टले ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्।
यस्तै महिलातर्फ ४६ केजी तौल समूहमा युनिशा राई, ४९ केजीमा काजल श्रेष्ठ र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्ने छन्। टिम प्रशिक्षकमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका बब्लु सिवाकोटी र ओलम्पियन निशा रावल छन्।