संसारी माईको महापूजा संस्कृति गुमनाम छ, इतिहास अलिखित। पुजारी र पाका मानिसको अनुभवले यसको इतिहासलाई सम्झाउँछ। सोही व्याख्याले पूजाको महत्त्व अझै बढाउँछ।
संस्कृतिको शाब्दिक अर्थ हो– उत्तम या सुध्रेको स्थिति। सैयौं या हजारौं वर्ष नै किन नहोस् त्यसलाई मानिन्छ र उत्तिकै महत्त्व दिइन्छ पनि। कारण– त्यो चलनले कुनै समय मानव जातिलाई केही गुन लगाएको हुन्छ। यस्तै एउटा विराट इतिहास बोकेको तर गुमनाम संस्कृति हो, महोत्तरीको सदरमुकाम जलेश्वरमा मनाइने ‘संसारी माई महापूजा’। जहाँ हरेक पाँच वर्षमा नेपाली सेनाको सलामीपछि हजारौं पशुपन्छीको बलि चढाइन्छ। लाखौं नेपाली र भारतीय दर्शन गर्न पुग्छन्।
तर, जति महत्त्व छ त्यति चर्चा छैन। संसारी माईको महापूजा संस्कृति गुमनाम छ, इतिहास अलिखित। पुस्तान्तरणले बन्ने पुजारी र पाका मानिसको बोली र अनुभवले मात्रै यसको इतिहासलाई सम्झाउँछ, सोध्नेलाई बुझाउँछ। सोही व्याख्याले पूजाकोे महत्त्व अझै बढाउँछ। अनि, ‘संसारी माईको भाकल गरे मनोकांक्षा पूरा हुन्छ’ भन्ने विश्वास बढ्दै जान्छ। त्यो क्रम चलेको कति वर्ष भयो ? यहाँ भेटिने ७० वर्ष कटेकाले पनि बाल्यकालमा यसको उत्तर पाएका थिएनन् रे। यसपटक भने यो महापूजा जेठ १९ देखि २६ गतेसम्म मनाइँदै छ।
भेटिने, सुनिने इतिहास
बिरामी भए कुनै देवीदेवतालाई भाकल गर्ने र फलपूmल या बलि चढाउने चलन नेपालमा मात्रै छैन, धर्मसंस्कारअनुसार विश्वका विभिन्न देशमा छ। संसारी माईसँग जोडिएको इतिहास पनि यस्तै छ। यहाँ पूजा गरे महामारी रोकिन्छ भन्ने विश्वास छ। रोगबाट बच्ने सहारा नै संसारी माई बनेकी थिइन् भन्छन् मुख्य पुजारी ६४ वर्षीय महिन्द्र मुखिया।
अहिले पनि यहाँ पुग्नेले माग्ने र भाकल गर्ने नै ‘रोगबाट बचौं’ भन्ने हो। पाँच वर्षमा एक पटक विशेष महापूजा हुन्छ। अनि, सोमबार र शुक्रबार ‘बेरागन’को दिन पनि पूजा हुन्छ। जुनसुकै जात वा धर्म मान्ने पनि निर्धक्क पुग्न सक्छन् र मनका भारी संसारी माई अघि बिसाउँछन्। मागेको कुरा पुगेर नै बर्सेनि यो स्थानको दर्शन गर्नेको संख्या बढ्दो छ। पहिले १२ वर्षमा लाग्ने महापूजा पछिल्लो समय पाँच/पाँच वर्षमा लाग्दैछ।
भारतसँग सिमाना जोडिएको स्थान भए पनि हुन सक्छ, यहाँ पुग्ने दर्शनार्थी नेपालीभन्दा भारतीय धेरै हुन्छन्। मुख्य पुजारी मुखिया भन्छन्, ‘संसारी माईले मनोकांक्षा पूरा नगरेका सायदै होलान्।’ अहिले पनि गाउँमा रोग र महामारी बढ्दा यहाँ पूूजा हुन्छ। पूजा गरे महामारी रोकिन्छ भन्ने विश्वास छ। स्थानीय ६५ वर्षीय सुधीरकुमार शाह भन्छन्, ‘भएको पनि छ त्यस्तै। संसारी माईले यहाँका नागरिकलाई धेरै महामारीबाट जोगाकी छन्।’
पुजारीको सपनाले मेला ५ वर्षमा
यो मन्दिरमा पुजारी तोकिँदैन। जो पुजारी त्यो बेला थिए, उनकै छोरा पुजारी बन्थे। अनि घर नै बन्छ मुख्य थान। तिनै पुजारीको सपनामा आएर संसारी माईले दिने स्वपन (निर्देशन) बमोजिम महापूजा कति वर्षमा गर्ने भन्ने तोकिन्छ। यसकै आधारमा सुरुमा १२ वर्षमा लाग्ने मेला सरेर अहिले पाँच वर्षमा आइपुगेको छ। मुख्य पुजारी मुखिया भन्छन्, ‘हामीलाई माईले सपनामा आएर दिएको स्वपनबमोजिम पूजा हुन्छ। अनि वर्ष पनि तोकिन्छ। पछिल्लो समय पाँच/पाँच वर्षमा हुन थालेको तीन पटक भयो।’ उनी आफंैलाई यो संसारी माईको पूजा कहिलेबाट सुरु भयो थाहा छैन।
उनी भन्छन्, ‘मेरो सम्झनामा जोठे हजुरबुवा कमल धामीले पूजा गर्नुहुन्थ्यो। उहाँको निधन भएपछि अर्का हजुरबुवा बच्चा धामीको काँधमा पूजा गराउने जिम्मेवारी आयो। उहाँको स्वर्गवासपछि अर्का हजुरबुवा ठाका धामीले गर्नुभयो। अनि मेरो बुवा विन्दा मुखियाले पूजा गराउनुभएको थाहा छ। बुवा बितेपछि मैले गराइरहेको छु। म १६ वर्ष भएको हुँदा बुवा बित्नुभयो। त्यसपछि मेरो काँधमा संसारी माईको पूजा छ। रेखदेख गर्छु। आउनेलाई आशीर्वाद दिन्छु।’ यसको इतिहास लामो भए पनि कुनै सांस्कृतिक कर्म र पूजामा कमी हुन नदिएको उनी बताउँछन्।
संसारी माईको मौलासँगै मुख्य पुजारी महिन्द्र मुखिया र उनका भतिजा सन्तोष मुखिया
घरको एक कुनाबाट सुरु भएको यसको पूजा अहिले बृहत् बनेको उनको तर्क छ। ‘पहिले हाम्रा जिजुबाजेले घरमै एउटा थान बनाएर पुजा गरेको भनिन्छ। अहिले पनि हामी मुख्य थान त्यहीँ घरकोलाई मान्छौं। (घरको थान देखाउँदै) मुख्य पूजा यहाँबाट नै सुरु हुन्छ। यहाँबाट धामीमा माताको प्रवेश भएपछि वरुण सर (सरोबर)को किनारमा रहेको मन्दिरमा पुगेर पूजा हुन्छ र बलि चढाउन थालिन्छ’, उनले महापूजाको सुरुआतलाई यसरी व्याख्या गरे।
पहिलो जलेश्वर कारागारनजिकै संसारी माईको मोला थियो। दुर्गन्धले गर्दा पुजारीले सरोबरको डिलमा मौला सारेर संसारी माईको मन्दिर स्थापना गरेका थिए। ‘सात दिन सात रातबिना अन्न पानी पेटकुनि हानेर बैठकी गर्दा गर्दै जेल नजिकबाट थान सारिएको थियो,’ मुख्य पुजारी मुखियाले भने। उनी थप्छन्, ‘हजुरबुवाहरूले बैठकी गर्दा संसारी माईले बकरा दिनुभयो। जहाँ तिमीहरूको विचार छ त्यतै लैजानु भन्ने माताबाट आज्ञा भएकाले नै यहाँ राखिएको हो। त्यसपछि खुट्टा (मौला) उखेलेर पोखरी छेउमा स्थापना भयो। यति कुरासम्म मलाई जानकारी छ।’
किन निश्चित वर्षमा हुँदैन पूजा ?
यहाँ १२ वर्षमा लाग्ने मेला र पूजा अहिले पाँच वर्षमा हुन्छ। यसको एउटै कारण हो संसारी माईको आज्ञा पुजारीले मान्नु। माईले पुजारीलाई कुन वर्षमा पूजा गर्नु पर्ने हो सपनामा भनेकै आधारमा यहाँ पूजाको तयारी हुन्छ। भनेको समयमा पूजा नभए गाउँमा महामारी र रोग फैलने जनविश्वास छ। त्यही कारण गाउँलेहरू एकजुट भएर पूजामा जुट्छन्।
मुख्य पुजारी मुखिया भन्छन्, ‘कुरो २०२० सालतिरको हो। गाउँघरमा पहिला हैजा आउँथ्यो, मर्की आउँथ्यो। धेरै मानिसको निधन पनि भयो। यस्तो भएको समयमा चार/पाँच दिन महारानी (संसारी माई) गाउँका व्यक्तिमा आएकी थिइन्। गाउँका सबै मान्छे जम्मा भए। उनीहरूले महारानीको कुरा सुने र त्यसैअनुसार गरेकाले महरानीको पूजा गाउँभरिकाले गर्न थालेको थियो।’ १२ वर्षमा हुने पूर्व यसरी नै सर्दै ७ वर्षमा देखि ५ वर्षमा झरेको हो यो पनि अब कहिलेसम्म ५ वर्षमा हुन्छ टुंगो नरहेको उनले बताए।
६ वटा पूजा ७/७ वर्षमा भएको र तीनवटा ५/५ वर्षमा भएको गाउँलेहरू बताउँछन्। अहिले पनि कुन वर्षको कुन दिन पूजा गर्ने पुजारीलाई सपनामा माताले दिएको दिनकै भरमा गाउँले रहन्छन्। त्यसैअनुसार तयारी गर्छन्, प्रचार हुन्छ र पूजा सुरु हुन्छ भन्छन्, नेपाल पत्रकार महोत्तरी शाखाका सल्लाहकार महेशकुमार दास।
पूजाको सुरु पुजारी घरबाट
लाखौंले दर्शन गर्ने थान दुई ठाउँ छ। मुख्य थान पुजारी महिन्द्र मुखियाको घरमा र दोस्रो गाउँको बीचमा रहेको पोखरी किनारमा। धेरै दर्शन गर्न त्यहीँ किनारमा रहेको खुल्ला मन्दिरमा पुग्छन्, केही पुजारीको घरमा गएर पूजा गर्छन्।
यहाँ तोकिएको महापूजा भने पुजारीको घरबाट नै सुरुवात गर्ने चलन छ। त्यसैले गाउँलेले पुजारीको घरलाई मुख्य आस्थाको केन्द्रका रूपमा हेर्छन्। वरुण सरको डिलमा रहेको संसारी माईको मन्दिरमा भने आस्था घटेको छैन। मुख्य पुजारी मुखिया भन्छन्, ‘पूजाको सुरुआत मेरो घरबाट हुन्छ। मेरो घर जलेश्वर– ६ मा पर्छ। घरमा विरी सलामी पर्छ। त्योभन्दा पहिला १० दिन अघिदेखि गतनाद हुन्छ। गीतहरनीहरूले संसारी माईको महिमा गान गाउँछन्।’
संसारी माई सन्तोष मुखिया (मुख्य पुजारीका भतिजो)को जिउमा आउँछन्। त्यसपछि संसारी माईको जयकार माथि जयकार बोलिन्छ। डाली उठाउँछ। डलियामा संसारी माईको पूजाको सामग्री राखिएको हुन्छ। पूजाको सामग्रीमा धेरै कुरा हुन्छ। कम्तीमा ३ लाख रुपैयाँको पूजा सामग्री त्यो डलियामा राखिएको हुन्छ। यति भएपछि मात्रै पूजा सुरु हुने र त्यहाँ पुग्ने लाखौं भक्तहरूले बलि दिने क्रम चल्ने पुजारी मुखिया बताउँछन्।
पञ्चबलिको परम्परा यहाँ फरक–फरक घरपालुवा जनावर र पंक्षीको बलि दिने चलन छ। बोका, परेवा, भेँडा, सुँगुर, कुखुरा र राँगाको बलि चढाइन्छ, त्यो पनि हजारौंको संख्यामा। फरकफरक पशु र पंक्षीको बलि चढाउनुको सामाजिक कारण पनि रहेको यो पूजाको इतिहास केलाइरहेका युवा लेखक तथा सञ्चारकर्मी राकेशप्रसाद चौधरी बताउँछन्। भन्छन्, ‘यो समुदायमा फरकफरक घरपालुवा जनावर र पन्छी पाल्ने मानिस छन्। उनीहरू सबैको सहभागितामा सजिलोका लागि पनि इतिहासबाटै फरकफरक पशुपन्छीको बलि दिने चलन चलेको पाइन्छ। यसले यो महापूजामा एकता पनि थपेको छ।’
यहाँ पञ्च बलि दिइन्छ। मन्दिरमा दिइने बलि जातिगत हिसाबले वितरण गरिन्छ। राँगाको बलि दिएपश्चात् चमार समुदायमा पठाइन्छ। बोका पाँच प्रकारका हुन्छन्। बोकाको बलिपश्चात् बिन समुदायमा जान्छ। त्यसमध्यको धु्रबन्हुँ बोका मन्दिरमा बलिका लागि किनेपछि मात्रै जनसमुदायले बलिका लागि बोका किन्छन्। त्यो भन्दा अन्य चार बोका किनेर धामी अर्थात् बिन समुदायलाई दिइन्छ। सुँगुरको बलि पासमानलाई जान्छ। कुखुराको बलि मुस्लिम समुदायको मीरा देवताको पूजा गराउने मुसलिमको घरमा जान्छ। यादव समुदायलाई भेडाको बलि जान्छ। यी बलिहरू सबैतिर बाँडिन्छ। यसले सामाजिक सम्बन्ध बढाउने उनी बताउँछन्।
अन्य दिन पनि समाजका मानिसहरू पूजापाठ र दर्शन गर्न आउँछन्। अन्य दिनमा पुजारीको घरमा बोका चढाइन्छ। चैत्र, पुस, भदौमा बलि चढ्दैन। पाँच वर्षमा मात्रै पोखरी किनारको मन्दिरमा बलि दिइन्छ। संसारी माईको सेवक बिन कुलको बालकलाई मानिन्छ। त्यो बालकले नै संसारी माईको छरीको भार उठाएका छन्। ऊ नै संसारी माईको छरीदार (पुजारी) हो। त्यही हिसाबले मुखिया (बिन) जातिले यसको पूजा गर्ने चलन चलेको लेखक चौधरी बताउँछन्।
सेनाको सलामी
लेखक तथा सञ्चारकर्मी चौधरीका अनुसार यहाँ बिरी सलामी र बल प्रदान पूजाको मुख्य विधि हो। धामीको घरमा संसारीलाई नेपाली सेनाले विरी सलामी दिन्छन्। पुजारीको जिउमा संसारी माई आएपछि बाजागाजासहित सेनाले नै संसारी माईको डोलीलाई लिएर संसारी माई मन्दिरमा ल्याउँछन्। त्यहाँबाट विधिवत् बलि प्रदान गरिन्छ। नेपाली सेनाभन्दा पहिलेको इतिहास छ। सेन वंशको शासनकाल, त्योभन्दा अगाडि नान्य वंशको शासनमा पनि संसारी माईको पूजा गरिएको मान्यता छ। त्यही कारणले नेपाली सेनाले आत्मसात् गर्दै विरी सलामी दिएको मानिन्छ। पृथ्वीनारायण शाहकै पालादेखि यो ठाउँमा पूजा भएको बताइन्छ।
पुस्तौंदेखि पूजाको निरन्तरता
पुर्खाले चलाएको चलनमा शंका कहिले नआउने मुख्य पुजारीकी धर्मपत्नी फूलपरी कुमारी बताउँछिन्। ‘यो पूजाले धनसम्पत्ति होइन, मनको शान्ति र गाउँको सुरक्षा गरेको छ। त्यसैले पुर्खाले चलाएको चलन र आस्थामा कहिले ठेस लागेन र लाग्ने पनि छैन।’ यिनी यहाँको ६ वटा पूजा देखेको बताउँछिन्।
मुख्य पुजारीको घरमा रहेको संसारी माईको मुख्य थान
‘ससुरा विन्दा धामी पूजा गर्थे। श्रीमान् सानै हुँदा ससुरा बित्नुभयो। अहिले हाम्रो जिम्मेबारी बन्यो। पछि गाउँलेहरूको पनि जिम्मेवारी भयो’, उनी भन्छिन्, ‘चढौनाहरूको व्यवस्थापन समितिले गर्छ। परेवा, खसी, भेडा, कुखुरा, राँगा चढौना चढ्छ। आठ पुस्ता मेरो घरकै पुजारी छन्। जिन्दगीभर पूजा हुँदै आएको छ। यो यसैगरी चलिरहन्छ।’ संसारी माईको नहिरा (माइती) उनको घरमा छ।
पुजारी परिवार हरेक साँझ तेलबत्ती दिन पोखरी किनारमा आउँछन्। भक्तहरूले मन्दिरमा तेलबत्तीका लागि सहयोग गर्दै आएका छन्। शुक्रबार र सोमबार संसारी माईको बेरागनको दिन पर्छ। यो दिन संसारी माईको दिन हो। माता चढ्ने (महापूजामा काम्ने) पुजारी सन्तोष मुखिया समाजको साथ र माताको आशीर्वादले गाउँलाई शान्त पारेको अनुभव सुनाउँछन्। भन्छन्, ‘यो लुकेको इतिहास धेरैलाई थाहा छैन। तर, यहाँ ठूलो विश्वास छ। पारी (भारत) त यसको झनै महत्त्व छ।’
संसारी माई महापूजा समारोह समितिका अध्यक्ष अशोककुमार साह प्रत्येक वर्ष यसको महत्त्व बढेको बताउँछन्। ‘यसको महत्त्व छ र त अहिलेसम्म मनाइँदै आएको छ। सेनाले सलामी दिने पर्वको महत्त्व कति हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ’, उनी भन्छन्, ‘यस वर्ष जेठ १९ गतेबाट मनाउन सुरु भएको छ। सबै तयारीमा हामी जुटेका छौं।’
उनका अनुसार कतैकतै त्रेता युथमा मिथिलाका राजा जनकको इष्ट देवता जलेश्वरनाथ महादेव मन्दिर र संसारी माईको स्थापनासँगै भएको पनि तथ्य भेटिन्छ। तर यसको पुरातत्त्व विभागबाट अध्ययन, अनुसन्धान भने हुन सकेको छैन। राज्यले यसको अध्ययन, अनुसन्धान गर्नुपर्ने उनको माग छ।
जलेश्वर—३ का स्थानीय ५८ वर्षीय विमलकुमार सिंह यहाँको श्रद्धाका विषयमा धेरै कुरा जोडिने गरेको सुनाउँछन्। ‘यो बेला जलेश्वर जंगलै थियो। जगदीश नामका साधु आएका थिए। जंगलमा जलेश्वरनाथ। पोखरीको पश्चिमतिर जलेश्वरनाथ पूर्वमा संसारी माई। माताप्रति सबैको श्रद्धा थियो रे। अहिले गाउँगाउँमा डाक्टर, अस्पताल र औषधि आयो। पहिला त हैजा आउँथ्यो, मर्की आउँथ्यो। स्यालले घरबाटै बच्चा लिएर भाग्थ्यो। त्यो बेला संसारी माईको पूजा गरेकाले नै सबैबाट जोगिएको जनविश्वास छ’, उनी भन्छन्।
आफ्नै नगरक्षेत्रभित्र संसारी माई पर्ने भएकाले यसको संरक्षणमा काम गरिरहेको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार बताउँछन्। मन्दिरको जीर्णोद्धार पनि हालै गरिएको छ। ‘हाम्रा लागि यो धाम आस्थाको केन्द्र हो। हाम्रो संस्कृति धरोहर जलेश्वरनाथ महादेव मन्दिर, संसारी माई मन्दिर, ब्रह्मचारी कुटी सबैलाई पर्यटन कोरिडोरका हिसाबले विकासमा अघि बढाएका छौं। सांस्कृतिक सम्पदाबारे पाठ्यक्रम निर्माण गराएर नयाँ पुस्तालाई पढाउने तयारी छ’, उनले भने।
हैजा रोक्ने पूजा
यहाँ पञ्चवलिसँगै यस क्षेत्रका प्रत्येक क्षेत्रबाट कम्तीमा एउटा जीवको बली दिनुपर्ने परम्परा छ। संसारीमाईको मन्दिर बरुण सरोवरको पूर्वी तटमा अवस्थित छ।
सेनवंशबाट शाहवंशले यस क्षेत्रमा कब्जा गरेर सत्ता सञ्चालन गरेसम्म संसारीमाई र जलेश्वरनाथ महादेवको शिवलिंग ठिक सामुन्ने थियो। पछि राणाहरूले मन्दिर छेउमै जेल (हालको जलेश्वर कारागार) निर्माण गराए।
मन्दिरकै छेउमा राणाहरूले प्रयोग गर्ने शौचालयको मल टिनाद्वारा मन्दिर नजिकै फाल्न थालिएको थियो। त्यसपछि यस क्षेत्रमा हैजा चल्यो। धेरै मान्छेले ज्यान गुमाए।
दोस्रोपटक २०२० सालमा हैजा चल्यो। त्यसपछि संसारीमाईका पुजारी मुखिया थरेले २०२१ सालमा पुजाको आयोजना गराई मन्दिरलाई हालको ठाउँमा ल्याइ १२/१२ वर्षमा महापूजा गराउने सहमति गराए।
त्यसबेला संसारीमाईको काठको प्रतिमा बनाउन रामचन्द्र लोहारले सखुवाको ठूलो रुखलाई ताछेर बनाइएको थियो। पछि यो महापूजा नौ र सात वर्ष हुन थाल्यो। १० वर्ष अघिबाट भने प्रत्येक पाँच वर्षमा महापूजा हुँदै आएको छ। यसअघि २०३५, २०४२, २०४९, २०५७, २०६४, २०७० र २०७५ सालमा यो पूजा भएको मानिन्छ।
तस्बिर : रविन भट्टराई