गर्मीका कारण दुधौलीका विद्यालय बन्द

सिन्धुली : अत्याधिक गर्मी बढेपछि सिन्धुलीको दुधौली नगरपालिकाका सामुदायिक विद्यालयहरु बन्द गरिएका छन्। गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या भएपछि नगरका सामुदायिक विद्यालय ६ दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
नगरको निर्णय अनुसार आइतबार (आज) देखि आगामी शुक्रबारसम्म सबै विद्यालय बन्द गरिएको नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीले जानकारी दिए ।
उनले भने, ‘केही दिनदेखि अत्याधिक बढेको गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेका छन्। तातो हावाका कारण थप समस्या हुने सम्भावना बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।’
दुधौली नगरपालिका खोच तथा भित्री मधेशमा पर्दछ । यहाँ हाल ३७ देखि ४५ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ।
दुधौलीका अधिकांश विद्यालयमा पंखाकोसमेत व्यवस्थापन नहुँदा विद्यार्थी समस्यामा पर्ने गरेका छन् । कतिपय विद्यार्थीहरु गर्मीका कारण अध्ययन गर्न आउन छाडिसकेका थिए । दुधौली नगरपालिकामा ७८ वटा सामुदायिक विद्यालय छन्।
प्रतिक्रिया दिनुहोस !
