लामाबगरको सुरुङमार्गमा गाडी चल्न सुरु
![लामाबगरको सुरुङमार्गमा गाडी चल्न सुरु](https://annapurnapost.prixacdn.net/media/albums/lamabagar-surung_0WpIoXyw89_Z62AWiSjNV.jpg)
बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले निर्माण गरेको सुरुङ मार्गबाट ट्याक्टर र बोलेरो जस्ता सवारीसाधन चल्न थालेको लामाबगरका स्थानीयले बताएका छन्।
दोलखा : निजी क्षेत्रले निर्माण गरेको दोलखाको लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थालेका छन्। सुरुङ हुँदै मालवाहक सवारीसाधन चल्न थालेका हुन्।
बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले निर्माण गरेको सुरुङ मार्गबाट ट्याक्टर र बोलेरो जस्ता सवारीसाधन चल्न थालेको लामाबगरका स्थानीयले बताएका छन्।
सी आकारमा निर्माण गरेको सुरुङमार्गको लम्बाइ एक हजार एक सय मिटर रहेको छ। सुरुङमार्गको उचाइ छ मिटर र गोलाइ सात मिटर रहेको छ। यसअघि लामाबगरसम्म पुग्ने सडक भुकम्पले क्षति भएपछि काब्रेभिरमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले ३४० मिटर सुरुङमार्ग निर्माण गरी सञ्चालन भइरहेको थियो।
नासा हाइड्रोपावर कम्पनीले बनाउन प्रस्ताव गरेको लप्ची खोला जलविद्युत् आयोजनाले यो सुरुङमार्ग निर्माण गरेको हो। नासाले लप्ची खोलामा १ सय ६० मेगावाट क्षमताको आयोजना निर्माणको तयारी गरेको छ। अहिले सुरुङमार्गको मुखबाट पाँच सय मिटर टाढासम्म यातायात सञ्चालन हुन सक्ने अवस्था बनेको छ।
माथिल्लो भेगका अत्यन्तै कठिन भीर सानो देउराली, अँधेरी खोला र हुरहुरे नजिक सडकको ट्र्याक खोल्ने काम जारी रहेको एमभी दुगड अन्तर्गतको सुमो कन्स्ट्रक्सनका अधिकृत हेमराज तामाङले जानकारी दिए। सरकारले अध्ययन गरेर आर्थिक लाभ नहुुने भन्दै फाइल नै थन्क्याएर राखेको लामाबगर सुरुङमार्ग निजी क्षेत्रले निर्माण गरेको छ। ३ महिनाअघि खुलेको सुुरुङमार्गमा अहिले गाडी ओहोरदोहोर गर्न थालेका छन्।
लामाबगरबाट २० किलोमिटर उत्तरमा रहेको आयोजना निर्माणको हेडवक्र्स रहेको छ। हेडवक्र्ससम्म पुग्न पहुँचमार्गको रूपमा यही सुरुङमार्ग आवश्यक भएकाले स्वदेशी जनशक्ति र सीपबाटै सुरुङमार्ग निर्माण गरेको हो। लामाबगरको सुरुमै कठिनभीर भएकाले हेलिकप्टरमार्फत स्काभेटर र तेल लुम्नाङ र थाम्चेम्बुमा पुर्याएर हेडवक्र्स र आयोजनास्थलमा १२ किलोमिटर सडक ट्रयाक खोलिएको छ।
लुम्नाङ र लप्ची हिमालपारीको गाउँ हो। लामाबगरसँग सडकले नजोडिए तापनि हिमालपारीको गाउँ १२ किलोमिटर सडकमा हेलिमार्फत नै लगेको ट्र्याक्टर र २ वटा मोटरसाइकल चल्छन्। लप्ची जाने पर्यटक र स्थानीयले बेलाबेलामा यही ट्र्याक्टरको सेवा लिएरै भए पनि हिमालपारीको गाउँमा गाडी चढ्ने रहर पूरा गरेका छन्।
लप्ची तिब्बत सिमाना नजिकको अन्तिम गाउँ पनि हो। लामाबगर आउनै कठिन भीरको बाटो भएर २ दिन हिँड्नुपर्ने बाध्यता रहेको लप्चीबासीले आफ्नै पालामा यस्तो कठिनभीरमा सडक बन्ला भन्ने आश गरेका थिएनन्। तर, अहिले भीरमा सडक निर्माणको काम भइरहेको र गाउँमा पनि ट्र्याक्टर पुुगेपछि उनीहरूलाई अब लप्चीसम्म पनि सडक पुुग्ला भन्ने आश रहेको स्थानीय कोन्जोक शेर्पाले बताए। आयोजनाले सडक निर्माण गरेपछि स्थानीयले पनि सहज महसुश गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)