प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीले जवाफ नदिए विपक्षीको अवरोध कायमै

काठमाडौं : प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै प्रतिपक्ष दलले संसद अवरुद्ध गरेका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारका पालामा नेपालको संसद्ले संविधान संशोधन गरेर आफ्नो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको थियो। नेपालको भूमि फिर्ता लिनुपर्ने र भारतीय सेनालाई कालापानीबाट हटाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्नुपर्ने बहस चलिरहेको समयमा प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिको चर्को आलोचना हुँदै आएको छ।
एमाले प्रमुख सचेतक पदम गिरीले बैठक सुरू हुनेवित्तिकै प्रधानमन्त्रीले त्रुटि सच्याएर सदनका अगाडि माफी माग्नु पर्ने माग गरे। उनले भने,'फूलबारी बन्दरगाहाको रुट प्राप्तका निम्ति नेपालको पश्चिम कालापानी,लिम्पियाधुरा लिपुलेक क्षेत्र पनि हामीले दिन तयार रहेको भन्ने कुराले नेपालको शीर निहुरिएको छ। हामीलाई अपमान बोध भएको छ। राष्ट्रियताप्रति एउटा गम्भीर प्रश्न उब्जाउने कुरा भएको छ। यस्ता कुरा प्रधानमन्त्रीबाट आउनु भनेको निकै दु:खद कुरा हो,सभामुख महोदय। उहाँले त्रुटि च्याउनुपर्छ। सदनका अगाडि माफी माग्नुपर्छ।'
संवैधानिक प्रकृयाअनुरुप नागरिकता प्रमाणिकरण गरिएको भन्दै संसद् अवरोध गर्नुपरेको बताए। गिरीले भने, ‘दुर्भाग्य सरकारले संविधानलाई मिच्यो। लाखौंको संख्यामा नेपालीले नै नागरिकता नहुँदा पिडा छ। तर, संवैधानिक प्रकृया अनुरुप नागरिकता प्रमाणिकरण हुनुपर्छ। सरकार संविधान पालना गर्ने पक्षमा छैन। ’
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गलत विधि र प्रकृयाबाट नागरिकता विधेयक प्रमाणिकरण भएको भन्दै यो सच्याइनुपर्ने बताए। लिङ्देनले भने, ‘नागरिकता ऐन संसोधन हुनुपर्छ। प्रकृया र समय मिलेन। जुन प्रकृयाबाट नागरिकता विधेयक प्रमाणिकरण भयो त्यो मानिंदैन। चाँडोभन्दा चाँडो नागरिकता विधेयक प्रकृयामा आउनुपर्छ। प्रधानमन्त्री भारत जानुभन्दा एक दुई दिनअघि मात्रै किन नागरिकता विधेयक प्रमाणिकरण गरियो ?’
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गलत विधि र प्रकृयाबाट नागरिकता विधेयक प्रमाणिकरण गरिएको भन्दै यो स्विकार्न नसकिने बताएको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने,‘नागरिकता नेपालको राजनीतिक समस्या हो। नागरिकता नपाएर अधिकांश मधेशी समुदायका मानिस सममस्यामा परेका छन्। नागरिकता विधेयकमा हाम्रो समर्थन छैन। यो भुराजनीतिक विषय हो। राष्ट्रिय सुरक्षाको विषय हो। गलत विधि स्विकारिंदैन भने हामी सरकारसँग जबाफ चाहन्छौं। ’
नेपाली कांग्रेसका नेता प्रदीप पाडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटी भएको बताए। अघिल्लो राष्ट्रपतिले मन्त्रिपरिषद्ले पठाएको विधेयक प्रमाणीकरण नगर्नु स्वभाविक नरहे पनि त्यही विधेयकलाई नै अहिले प्रक्रिया मिचेर प्रमाणीकरण भएको उनले बताए। उनले नागरिकता विधेयकभित्रको विषयवस्तुमा भने एमालेले विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गरे।
आइतबार एमाले, रास्वपा, राप्रपाले संसद बैठक अवरोध गरेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमाथि छलफल हुनु अगाडि नै प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !
