पोखरामा सवारी साधनबाट हुने प्रदूषण बढ्दै

पोखरामा सवारी साधनबाट हुने प्रदूषण बढ्दै

पोखरा : सवारी साधनबाट निस्कने धुवा मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ। सवारी साधनको प्रदूषण मापन अनिवार्य नगरिँदा पोखरा बजारमा गुड्ने बस, ट्रक, माइक्रोबस र साना सवारी साधनले मानव स्वास्थ्यलाई असर पुर्‍याउने धुवाँ उडाउँदै गुड्ने गरेका छन्। 

धुवा उडाउँदै गुडेका यस्ता सवारी साधनका कारण वातावरण प्रदूषण बढिरहे पनि सम्बन्धित निकायले नियन्त्रणका लागि ध्यान दिएको छैन। जुन ५ का दिन विश्वभर वातावरण दिवस मनाइन्छ। 

नेपाल सरकार, प्रदेश र स्थानीय निकायले पनि औपचारिक रूपमा एक दिन वातावरण संरक्षणका विषयमा छलफल अन्तरक्रिया गरेर वातावरण दिवस मनाउँछन् तर वातावरण प्रदूषण नियन्त्रणका विषयमा भने ध्यान दिएको पाइएको छैन। 

कास्कीमा सवारी साधनबाट हुने वातावरण प्रदूषण नियन्त्रणका लागि प्रदूषण मापन अनिवार्य नगर्दा सवारी साधन धुवाँको मुस्लो उडाउँदै गुड्ने र वातावरण प्रदूषण बढाउँदै आएका छन्। 

गण्डकी प्रदेशमा साना सवारी साधनहरूको प्रदूषण मापन गरिए पनि धेरै धुवाँ फ्याँक्दै गुड्ने ठूला सवारी साधन बस, ट्रकको भने प्रदूषण मापन हुँदैन। साना सवारी साधनको पनि गण्डकी प्रदेश सरकारले अनिवार्य प्रदूषण मापन गरेर हरियो स्टिकर टास्नुपर्ने नियम भने बनाएको छैन। 

प्रदूषण मापन अनिवार्य नहुँदा साना सवारी साधनहरूले पनि प्रदूषण मापनमा ध्यान दिएको पाइदैन। आर्थिक वर्ष २०८९/२०८० मा यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीमा जम्मा १३८ वटा सवारी साधनले मात्र जाँचपास गरेर हरियो स्टिकर लिएको कार्यालयको तथ्यांक छ। प्रदूषण मापन अनिवार्य नहुँदा यति थोरै संख्याले मात्र जाँचपास गरेर हरियो स्टिकर लिएका हुन्।  

यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीमा बस मिबिस, मिनि ट्रक १० हजार २ सय ४ वटा दर्ता छन्। यस्तै गरी क्रेन, डोजर, एक्स्क्याभेटर, ट्रक ६ हजार ८ सय २५ वटा छन्। यस्तै गरी जिप, कार, भ्यान १८ हजार ८ सय ७, पिकअप ३ हजार ३१, माइक्रोबस १४ हजार ४ सय ५३ दर्ता छन्। टेम्पो ४६ वटा छन भने मोटरसाइकल, स्कुटर २ लाख ३४ हजार १ सय ७३ रहेको तथ्याङ्क छ। 

यस्तै गरी टेक्टर, पावर टेलरको संख्या १२ हजार ९३ रहेको छ। सस्थानका चार पाङ्ग्रे सवारी २ सय ११, सरकारी चार पाङ्ग्रे ७ सय ५, निजी चार पाङ्ग्रे सवारी ४२ हजार ४ सर ३४ रहेका छन्। यस्तै गरी सार्वजनिक चारपाङ्ग्रे १९ हजार ७ सय ६३, पर्यटन चार पाङ्ग्रे सवारी १ हजार ५ सय १७ रहेका छन्। कुल दुइ पाङ्ग्रे सवारी २ लाख ९३ हजार ८ सय ८ रहेका छन्। वैशाख महिनामा कास्कीमा थप १७४ सवारी साधन थपीएका छन्। 

पोखरामा गत बैशाख ३१ गते ट्राफिक सप्ताहको अवसरमा सवारी साधनहरूको छड्के जाँच गरिएको थियो। २५ वटा सवारी साधनको छडके चेकजाँच गरि प्रदूषण मापन गर्दा ४ वटा मात्र पास भएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका जाँचपास तथा प्राविधिक शाखा प्रमुख मेकानिकल इञ्जिनियर नवीन पौडेलले बताए। 

साना सवारी साधनको प्रदूषण मापन गर्ने पनि कास्कीमा एउटा मात्र मसिन छ। एउटै सवारी साधनको मापन गर्दा १५ मिनेट लाग्छ। अनिवार्य प्रदूषण मापन गर्ने हो भने एउटा मसिन र प्राविधिक जनशक्तिले सवारी साधनको चाप थेग्न नसक्ने पौडेलले बताए। 

ठूलो सवारी साधनको प्रदूषण मापन गर्ने देशभर कही पनि मसिन नरहेको उनले सुनाए। ठूला सवारी साधनको प्रदूषण मापन गर्ने भनेको रेसगर्न लगाउने (एक्सीलेटर बढाउन) र कालो धुवाँ आयो भने राम्रो सग सभिसिङ गर्न, एयरफिल्टर फेर्न लगायत सुधारेर आउन भन्ने  गरेको उनले सुनाए। 

सवारी साधनले किन फाल्छ धुवाँको मुस्लो ? 

सवारी साधनको नियमित रूपमा सर्भिसिङ गर्ने, इन्जिन, एयरफिल्टर चेक जाँच गरेर आवश्यकता अनुसार एयरफिल्टर फेर्ने, डिजेटरबो चार्जरको अवस्था कस्तो छ चेकजाँच गरेर समस्याको समाधान गर्ने तर्फ ध्यान दिए सवारी साधनबाट धुवाँ फाल्न क्रम रोकीने यातायात व्यवस्था कार्यालय सवारी कास्कीका जाँचपास तथा प्राविधिक शाखा प्रमुख मेकानिकल इञ्जिनियर नविन पौडेलले बताए। 

सवारी धनीले आफ्नो सवारी साधनको नियमित सभिसीङ, मसिन, एयरफिल्टरको चेकजाँच गरेर चुस्तदुस्त राख्दा मानव स्वास्थ्यका लागि हानिकारक धुवाँ नियन्त्रण भइ वातावरण स्वच्छ हुने उनले सुनाए। सवारी साधनको नियमित सर्भिसिङ गरेर चुस्तदुरुस्त राख्दा सवारी साधनको आयु पनि बढ्ने भएकोले त्यस तर्फ सवारी धनीले ध्यान दिनु पर्ने पौडेलले सुझाए। 

पोखरामा २०७५ भदौ देखि सवारी साधनको प्रदूषण मापन सुरु भएको हो। मानव स्वास्थ्यमा गम्भीर असर पर्ने सवारी साधनको धुवाँ नियन्त्रणमा गण्डकी प्रदेश सरकारले ध्यान दिएको छैन। यही कारणले  सवारी साधनबाट हुने प्रदूषणका कारण फोक्सोको समस्या, दम लगायतका समस्याबाट नागरिकले जुध्दै आएका स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन्। 

सवारी साधनबाट निस्कने धुवाँले छातीको क्यान्सर जस्ता समस्या हुन्छ –छाती रोग विशेषज्ञ डा आचार्य

सवारी साधनबाट निस्केन धुवाँले कलकारखानाबाट निस्कने धुवाँ जतिकै असर गर्ने स्वास्थ्य अधिकारीले बताएका छन्। यस्तो धुवाँले शरीरको विभिन्न अंगमा असर गरे पनि सबैभन्दा धेरै असर फोक्सोमा गर्ने छाती रोग विशेषज्ञ डा सिपी आचार्यले बताए। यस्तो धुवाँको असरका कारण श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने, निमोनिया हुने छाती रोग विशेषज्ञ डा आचार्यले बताए। धेरै समय यस्तो प्रदूषणबाट प्रभावित भएकालाई फोक्सोको क्यान्सर समेत हुने डा आचार्यले बताए। 

एयर क्वालिटी इन्डेक्स जती थोरै भयो उति स्वास्थ्यका लागि राम्रो हो तर पोखराको हावाको क्वालिटी पनि बिग्रँदो अवस्थामा रहेको उनले बताए। ० देखि ५० सम्म एयर क्वालिटी इन्डेक्स स्वास्थ्यका लागि सुरक्षित मानिन्छ। पोखरामा आजको दिनमा एयर क्वालिटी ५७ रहेको छ। यसको अर्थ पोखराको वातावरण पनि स्वाथ्यका लागि, फोक्सोका लागि हानिकारक भएको डा आचार्यले बताए। 

पोखरामा धेरै उद्योग सञ्चालनमा छैनन् र पनि एयर क्वालिटी बिग्रँदो अवस्थामा हुनु भनेको सवारी साधनबाट निस्कने प्रदूषण नै प्रमुख रहेको डा आचार्यले बताए। यस्तो धुवाँले सबैलाई असर गर्ने भए पनि पहिले नै फोक्सोको समस्या, दम, फोक्सोको क्यान्सर भएकालाई बढी असर गर्ने उनले बताए। बच्चा र बृद्धलाई अरूका तुलनामा बढी असर गर्ने पनि डा आचार्यले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.