रोडस् रामपुर कर्णेल उजिरसिंह गोल्डकपको फाइनलमा

तानसेन : रोडस् रामपुर फुटबल क्लब पाल्पामा जारी कर्णेल उजिरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ।
मंगलबार तानसेनको टुँडिखेलमा भएको सेमिफाइनलमा रोडस् रामपुर फुटबल क्लब चितवनले २ गोलले फोर ब्रदर्श नवलपरासी (पश्चिम लाई पराजित गर्यो।
पहिलो गोल चितवनका १० नम्बर खेलाडी विक्की चामलिङ राईले गरे भने दोस्रो गोल १७ नम्बर खेलाडी निरज थापा मगरले गरेका थिए।
पहिलो हाफमा दुवै पक्षबाट कुनै गोल हुन नसके पनि दोस्रो हाफमा चितवनले नवलपरासी लाई दवावमा राख्दै २ गोल गरी प्रतियोगिताको फाइनलमा पुगेको हो।
मंगलबार भएको सेमिफाइनल प्रतियोगितामा रोडस् रामपुर फुटबल क्लब चितवनका १७ नम्बर खेलाडी निरज थापा मगर म्यान अफ दि म्याच भएका छन्।
थापाले नगद तीन हजार पुरस्कार पाएका छन्। संघले प्रतियोगिताको प्रत्येक दिन उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच घोषणा गरी पुरस्कृत गर्दै आएको छ।
यसैगरी बुधबारको सेमिफाइनल खेल दि फेमस महिन्द्र दल गण पाल्पा र होरोइजन फुटबल क्लब वालिङ स्याङजाबीच हुनेछ। १२ टिम सहभागी भएको प्रतियोगिताको फाइनल जेठ २७ गते शनिबार हुनेछ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
