विशेष महाधिवेशन गराउन हस्ताक्षर संकलन सुरु गर्छौं

विशेष महाधिवेशन गराउन हस्ताक्षर संकलन सुरु गर्छौं
तस्बिर : अशोक दुलाल

प्रस्तुति : सुरेन्द्र काफ्ले/राधा खनाल

कांग्रेस रूपान्तरण अभियान केका लागि हो ? 
रूपान्तरणको शाब्दिक अर्थ हो, वस्तुको रूप र गुणमा परिवर्तन। यो अर्थसँग कांग्रेस रूपान्तरणको विषयले सामीप्य राख्दैन। यसले व्यक्ति, समाजको अर्थसँग निकटता र सामीप्य राख्छ। अथवा सरोकार राख्छ। नेपाली राजनीतिको मियो हो, कांग्रेस। कांग्रेसकै अगुवाइमा ००७ सालको क्रान्ति भयो। त्यसयता भएका हरेक राजनीतिक परिवर्तनको सफल नेतृत्व पनि गर्‍यो। तर, अब यतिले मात्रै पुग्दैन। पार्टीले आफ्ना नीति, रणनीति, कार्यक्रम, व्यवहारमा जनतासँगको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ। नभए पार्टीको सान्दर्भिकता समाप्त हुने खतरा बढेर गएको छ। 

तपाईंले आफ्नो पार्टीसामु के चुनौती देख्नुभएको छ ? 

कांग्रेसको काँधमा एक सय एक चुनौती छन्। नयाँ पार्टीहरू उदय भएका छन्। परम्परागत राजसंस्थाको चुनौती पनि कायमै छ। पूर्वराजाले नेपालमै बसेर शान्तिपूर्ण रूपबाट आफ्ना गतिविधि बढाइरहेका छन्। अर्कोतिर राप्रपाले जनमत बढाएको छ। राप्रपा पूर्वराजासँगै उभिएको छ। ती शक्ति मिल्दा चुनौती थपिन्छन्। हामीभित्रै पनि चुनौतीका पहाड छन्। पार्टी अव्यवस्थित छ।

आन्तरिक जीवन अस्तव्यस्त छ। पार्टीका अंगहरू व्यवस्थित बन्न सकेका छैनन्। कामकाजी छैनन्। भद्दा संरचना छ। भ्रातृसंस्थाहरू अव्यवस्थित छन्। कांग्रेससँग २०४८ सालमा हजारको संख्यामा क्रियाशील सदस्य थिए। त्यतिबेलाको चुनावी परिणाम गौरवान्वित थियो। अहिले पार्टीको संरचना भीमकाय छ। तर, निर्वाचन परिणाम सोचेजस्तो आउँदैन। हामी निर्वाचनमा एक्लै जाँदैनौं। गठबन्धन गर्नुपर्छ। त्यसैले संरचनालाई चुस्त बनाउन जरुरी छ। पार्टी जनतासँग टाढिएको छ। 

कांग्रेस बारम्बार सत्तामा हुँदा पनि किन यो स्थितिमा पुग्यो त ?

पार्टीको प्राथमिकता निरन्तरको सत्ता बन्यो। आफू एक्लै जित्ने अवस्था नहुँदा अरूसँग मिलेर पनि सत्तामा पुग्ने एक मात्र उद्देश्य हुन थाल्यो। यसकारण पार्टी जनताबाट टाढिँदै गएको छ। राष्ट्रको उन्नति र प्रगति तथा जनताको हित÷कल्याण पार्टीको प्राथमिकतामा परेनन्। त्यसकारण जनतामा पार्टीप्रतिको भरोसा कमजोर हुँदै गएको छ।null

आक्रोश र असन्तुष्टि निम्त्याउने काम भएका छन्। कांग्रेसलाई अब यथास्थितिमा राख्न सकिँदैन। हामीलाई समयसापेक्ष, जनताको चाहनाअनुसार चल्ने, जनताको नजिकै उभिने र जनमानसले अपनत्व गर्ने पार्टीको रूपबाट यसलाई रूपान्तरण गर्नुपर्छ भन्ने लाग्यो। यसैकारण रूपान्तरण अभियान 
सुरु गरेका हौं। 

कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्छ। तर, आन्तरिक लोकतन्त्र कस्तो छ ? 
लोकतन्त्र भनेको बोलेर होइन, चरित्र र व्यवहारले सिद्ध गर्नुपर्छ। हामीले चरित्रको कुरा गर्ने हो भने कुलिनतन्त्रको चरित्र ग्रहण गर्दै छौं। यहाँ पैसा, नातागोता र मूल नेताका आसेपासेको बोलवाला छ। पार्टीका केही उच्चपदस्थ, राज्यका उच्चपदस्थ, पैसावाला, आफन्त, शक्तिशाली व्यक्ति र उच्च पदाधिकारीको मिलेमतोमा राज्य सञ्चालन हुन्छ। देश र जनताका समस्या सधैं ओझेलमा पर्ने गरेका छन्।

लोकतान्त्रिक सिद्धान्त बोकेको, लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने र लोकतन्त्रका निम्ति निरन्तर संघर्ष गरेको पार्टीको गौरवान्वित इतिहास छ। तर, व्यवहार र चरित्र भने लोकतन्त्र निरपेक्ष अनुभव गर्न थालेका छौं। बीपी कोइरालाले लोकतन्त्र र जनतालाई सधैं केन्द्रबिन्दुमा राख्नुभयो। उहाँले राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पार्टीको प्रतिष्ठालाई माथि उठाउनुभयो। उहाँको ध्येय समाजलाई भौतिक रूपबाट समृद्घ बनाउने, जनताको जीवनलाई सुखद बनाउने थियो। उहाँ यस्तो प्रधानमन्त्री अथवा नेता हो, जसले राजासँग भेट हुँदा ‘म १५ वर्ष प्रधानमन्त्री भएँ भने सबै नागरिकलाई मेरो परिवार सरह बनाउँछु’, भन्नुभयो। हामीले आजसम्म त्यस्तो अरू कुनै न नेता देख्या छांै, न त प्रधानमन्त्री नै भेट्या छौं। 

रूपान्तरण नेताको हो कि सिद्धान्तको ? 

कहिलेकाहीँ पार्टी नेतृत्वको व्यक्तित्वले पार्टीको व्यक्तित्वलाई उज्यालो देखाउँछ। जस्तो कि भारतमा नरेन्द्र मोदीको व्यक्तित्वले बीजेपीलाई सफलताको शिखरमा पुर्‍यायो। दिल्लीमा अरविन्द केजरीवालको व्यक्तित्वले आमआद्मी पार्टी अगाडि बढेको छ। पार्टी स्थापनापछि बीपी कोइरालाको व्यक्तित्वले कांग्रेसको छवि अतुलनीय भयो। कांग्रेस नेतृत्वको छवि अहिले त्यस्तो देखिँदैन। नेतृत्वको छविका कारण पार्टीको छवि पनि धुमिल भएको छ।

यसकारण लोकतन्त्रको भविष्यमाथि प्रश्न उठेको छ। हामीले ०४८ मा बहुमत ल्यायौं। ०५१ मा बहुमत फालिदियौं। जनताले ०५६ मा फेरि बहुमत दिए। ०५९ मा भत्काएर फालिदियौं। जनताले बहुमत दिने, हामी मिल्काउँदै गर्न थाल्यौं। त्यहीँबाट बिग्रन सुरु भयो। अरू राजनीतिक पार्टीका निम्ति हामी गुरुकुल भयौं। अरूले पनि हामीबाटै सिके। राम्रा कुरा पनि सिके। एमाले पनि बहुदलीय प्रतिस्पर्धामा आयो। उसले नि हामीबाटै सिकेको हो। 

तपाईंहरूको यो अभियान त गुट बलियो बनाउन मात्रै हो भन्ने आरोप छ नि ?  

हामीले १४औं महाधिवेशनमा जसलाई समर्थन गरेका थियौं त्यो समूहका साथीहरू यो अभियानमा बढी देखिनुभएको छ। मूलतः यसका अन्तरवस्तु र यसले अगाडि सारेका एजेन्डा समग्र पार्टी हितका निम्ति छन्। पार्टीका सबै साथीहरूले यसलाई आत्मसात् गर्नुपर्छ। पार्टीको साझा अभियानका रूपमा लिनुपर्छ। हिजो शेरबहादुर दाइ (सभापति)लाई भोट हाल्ने र हाम्रो समूहको विरोधमा उत्रिने साथीहरू पनि आउन थाल्नुभएको छ। अरू साथीहरू पनि यसमा जोडिँदै जानुभएको छ। 

तपाईं पार्टीको यो स्थितिका लागि सभापति मात्रै दोषी कि युवा महामन्त्रीको पनि कमजोरी देख्नुहुन्छ ? 
केही समयअघिसम्म सिंगो केन्द्रीय कार्यसमितिकै दोष भन्ने देखिन्थ्यो। तर, पछिल्लोपटक महामन्त्रीद्वयले ‘हामीले प्रयत्न गर्‍यौं, सभापतिजीले मान्नुभएन। हाम्रो कुरा सुन्नुभएन’ भन्ने सार्वजनिक रूपमै बोल्न थाल्नुभएको छ। उहाँहरूको कुरा सुन्दा यसको दोष सभापतिजी र सभापतिजीको समूहतर्पm जाने देखिन्छ। कि त चित्तबुझ्दो प्रतिवाद आउनुपर्‍यो। हैन भने महामन्त्रीद्वयको आरोप सत्य हो भनेर मान्नुपर्ने हुन्छ। 

दुई जना युवा महामन्त्री हुनुहुन्छ। फेरि युवाको भावनाअनुसार पार्टी चलेन पनि भन्नुहुन्छ। किन ? 

मूल कुरो पार्टीका गतिविधिमा तादात्म्य हुनुपर्‍यो। पार्टी गतिविधिले युवा चरित्रको बाघ हुन सक्नुपर्‍यो। पात्र र उमेरले हैन। बीपीको अन्तिम कालमा पनि उहाँका अभिव्यक्तिहरू युवा÷तरुणका जस्ता आउँथे। ती कुरा स्मरण गर्दा आज पनि उद्वेलित बनाउँछ। गिरिजाप्रसाद कोइरालाले ८० वर्ष उमेर काटेपछि राजसंस्थाविरुद्घ आन्दोलनको अगुवाइ गर्नुभयो। उहाँका हरेक अभिव्यक्तिबाट युवाहरू आन्दोलित हुन्थे।

उहाँकै अभिव्यक्तिबाट प्रभावित भएर परिवर्तनको जिम्मेवारीलाई अगाडि बढायौं। युवाहरूको केही संख्या केन्द्रीय कार्यसमिति या पार्टी संरचनामा उपस्थित हुनेबित्तिकै युवाको प्रतिनिधित्व भयो भन्ने अर्थमा बुझ्नु हुँदैन। पार्टी थाकेजस्तो, रुग्णजस्तो, रुढिवादी, परम्परावादीजस्तो भयो। यसरी पार्टी अगाडि बढ्नै सक्दैन। अहिले दौडिनुपर्ने आवश्यकता छ। तर, पार्टी राम्ररी उभिन पनि नसक्ने अवस्थामा छ। 

नेतृत्वलाई दोष थोपरेर युवा महामन्त्रीहरू जिम्मेवारीबाट भाग्न खोजेजस्तो लाग्दैन ? 
साथीहरूले महामन्त्रीहरूले केही गरेनन् भनेकै थिए। उहाँहरू हामीले कोसिस गर्‍यौं, सकेनौं भन्नुहुन्छ। मूल नेतृत्व दोषी छ भन्नुहुन्छ। मूल नेताको थाप्लोमा दोष थोपरेका छन्। अब मूल नेताको स्पष्टिकरण के हो त ? मूल नेता अथवा उहाँसँगै काम गर्ने साथीहरूको स्पष्टीकरण के हो ? यसको चित्तबुझ्दो जवाफ नआउँदा यसको दोष मूल नेतृत्वलाई नै लाग्ने भयो। null

कसले कसरी भनिराख्नुभएको छ, फरक कुरा हो। हामीले उहाँहरूलाई जानकारी गराएका छौं। हामीले उहाँहरूको परामर्शमा अभियान सुरु गरेका हैनौं। गरौं कि नगरौं भनेर उहाँहरूको परामर्शमा अगाडि बढेका पनि हैनौं। हामीले यसरी सुरु गर्दै छौं भनेर दुवै महामन्त्री, उपसभापति, पदाधिकारी र केन्द्रीय समितिका साथीलाई जानकारी गराएका हौं। ७७ जिल्ला, १ सय ६५ निर्वाचन क्षेत्रमा पुग्छौं। पार्टी आन्तरिक जीवनमा जरैदेखि सञ्जीवनी प्रदान गर्ने, पुनर्जीवन दिनका लागि हामी लागेका छौं। नेपाली कांग्रेसमा भविष्य छ। नेपाली कांग्रेसभित्र जीवनदायिनी शक्ति छ भन्ने कुराको सन्देश दिने। यो पार्टीप्रति भरोसा जगाउने साझा अभियान हो। यस्तो अभियान पार्टीले चलाउनुपर्ने हो। अब यसलाई नजरअन्दाज गर्ने प्रयत्न भएको हामीलाई थाहा छ। टीकाटिप्पणी पनि भएका छन्। त्यसो भयो भने विधानले दिएका अरू सुविधा प्रयोग गर्दै अगाडि बढ्छौं। 

हामी नेतृत्व हटाउने ठाउँसम्म पुग्न सक्छौं। पार्टीभित्र अविश्वासको प्रस्ताव ल्याउने व्यवस्था विधानमा छ। हाम्रो अभियानलाई नजरअन्दाज गरियो र कम आँकियो भने त्यहाँसम्म जान सक्छौं। अहिलेको योजना त्यही हो। 

यो अभियानले जनतालाई के फाइदा पुग्छ ? 

कांग्रेस लोकतन्त्रको बाघ हो। यसले नै लोकतन्त्रलाई पुनःस्थापित गर्ने काम गरेको छ। यसको उद्देश्य नै देशलाई धनी र जनतालाई सुखी बनाउने हो। त्यसैले जनतालाई यो अभियानमा सहभागी नगराई अभियानको उद्देश्य पूरा हुन्न। हामीले २५ दिनमा चार प्रदेश र केही जिल्लामा अभियान गरिसकेका छौं। हामी सात प्रदेशमै रूपान्तरणको सन्देश दिन हिँडेका छौं। दोस्रो चरणमा किसान, मजदुर, उद्यमी, पेसा व्यवसायी, महिला, विद्यार्थीसँग संवाद गर्छौं। दोस्रो चरणको अभियान गाउँकेन्द्रित हुन्छ। जनतासँग सार्थक संवाद गर्नु मूल उद्देश्य हो। 

जनताले फेरि पनि कांग्रेसलाई नै विश्वास गर्नुपर्ने आधार के त ? 

जनतालाई विश्वास दिलाउन गाह्र्रो छ। किनभने, हामी सत्तामा लामो समय बस्यौं। अरू पार्टी पनि बसे। यी नेताहरूले नै फेरि समृद्घिको नेतृत्व गर्छन् भनेर विश्वास दिलाउन गाह्रो छ। यी नेताले अवसर पाए गर्न सकेनन्। यसलाई ढाकछोप गरेर सकिँदैन। खासमा कांग्रेसमा वर्तमान नेतृत्वले पार्टी सुध्रिन्छजस्तो लाग्दैन। हामीले गरेका राम्रा कामका लागि तपाईंहरूले स्यावासी दिनुुस्। कमीकमजोरीका लागि माफी चाहन्छौं भनेर जनतालाई नभन्ने हो भने जनताको आक्रोश अझै बढ्छ। समकालीन राजनीतिमा सबै पार्टीका नेताप्रति जनताको विश्वास जिरो छ।

दक्षिण एसियाका अरू मुलुक हेर्दा मलेसियाले २० वर्षमा कत्रो छलाङ मार्‍यो। चीन, सिंगापुर, कोरिया, जापानले २०–२२ मा वर्षमा विकासको जग बसाए। हाम्रा नेताले ३३–३४ वर्ष सत्तामा बसेर के गरे भन्ने जवाफ दिनुपर्‍यो नि ! तर, उहाँहरू जवाफ दिन सक्नुहुन्न। जवाफ एउटै हो राजनीतिक रूपबाट हामीले योगदान पुर्‍यायौं त्यसका निम्ति हामीलाई धन्यवाद दिनुस्। समकालीन नेतृत्वलाई बलियो बनाएर फेरि नेतृत्वमा उनीहरूलाई नै हाबी गराउन यो अभियान हैन। 

विशेष महाधिवेशनका लागि भित्र–भित्रै हस्ताक्षर अभियान चलाइरहनुभएको भन्ने छ नि ? 
हामीले हस्ताक्षर अभियान सुरु गरेका छैनौं। यो महिना देशभरका साथीहरूको कुरा बुझ्छौं। हाम्रा कुरा पनि राख्छौं। सबैका कुरा समेटेर एउटा दस्तावेज बनाएर पार्टीलाई दिन्छौं। ९० प्रतिशत महाधिवेशन प्रतिनिधि साथीहरूले हस्ताक्षर अभियान सुरु गर्नुस् भन्नुभएको छ। अर्को चरणमा हस्ताक्षर संकलनतर्पm अगाडि बढ्ने सम्भावना छ। null

महामन्त्री गगन थापाले भन्दै आएको रूपान्तरण अभियान तपाईंहरूसँगै हो या अर्कै  ?

महामन्त्रीले पनि हामीले कोसिस गर्‍यौं, सकेनौं। अब नेतृत्व नै फेर्नुपर्छ भन्नुभएको छ। यो विषय हामीले ६ महिनादेखि खुलेरै बोल्दै आएका छौं। अब महामन्त्रीहरूको अभिव्यक्तिले पनि बाहिरबाट उठेको आवाज सही छ भन्ने सिद्घ गरेको छ। त्यसैले रूपान्तरण भनेको सबैले गर्ने हो। यो साझा कुरा हो। रुपान्तरण शेरबहादुर दाइका लागि पनि आवश्यक छ।

उहाँको सेखपछि राम्रो कांग्रेस छोड्ने कि नछोड्ने ? उहाँको दायित्व पनि राम्रो, सग्लो र बलियो कांग्रेस हस्तान्तरण गर्ने हो नि ! त्यसैले महामन्त्रीले छुट्टै पसल चलाउने र हामीले छुट्टै चलाउने भन्न यो कुनै उद्यम हैन। प्रकारान्तरले टार्गेट एउटै हो। अन्ततः उहाँहरू हामीसँगै उभिनुपर्छ कुनै गुन्जायस छैन। भित्र गर्न सक्नुभएन भने उहाँहरू बाहिर आउनुपर्‍यो। 

नेतृत्व पनि फेरिएन, विशेष महाधिवेशनमा पनि गएन भने तपाईंहरू के गर्नुहुन्छ ? 

त्यस्तो हुनै सक्दैन। हामी विशेष महाधिवेशनको माग सजिलै गर्न सक्छौं। ४० प्रतिशत हैन, ६० प्रतिशत हस्ताक्षर बुझाउँछौं। किनभने, हाम्रा भेलामा विशेष महाधिवेशनको पक्षमा कार्यकर्ताको उभार नै छ।

प्रसंग बदलौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस आरोपितलाई जोगाउन लाग्यो भन्ने छ नि ? 
कांग्रेस त्यसरी लाग्नै सक्दैन। पहिला पनि धेरै नेता भ्रष्टाचारको आरोप झेलेर, मुद्दा खेपेर जेल जीवन काटेका अनेक उदाहरण छन्। त्यसैले कांग्रेस भ्रष्टाचारीलाई जोगाउन कहिल्यै लाग्दैन। तलबै नआई नयाँ जुत्ता लगाएको देखेर बीपीले सहयोगी आफ्नै भाइलाई हटाउनुभएको थियो। गणेशमानजीमाथि नै भ्रष्टाचारको आरोप लागेर छानबिन गराउनुभयो। प्रमाणित भएन।

प्रधानमन्त्री निवासमा दुई भारी दाउराको बिल कसरी आयो भनेर छानबिन गराउनुभयो। प्रधानमन्त्री र मन्त्रीको तलब घटाउनुभयो। प्रधानमन्त्रीको २५ सयबाट १५ सय, मन्त्रीको १५ सयबाट १ हजार बनाउनुभयो। त्यो हाम्रो सुनौलो विगत हो। त्यसैले सिंगो पार्टी संस्थागत रुपबाट भ्रष्टाचारी जोगाउन लाग्दैन। तर, पार्टीभित्रका केही नेताको प्रयास जोगाउने हुन सक्छ। 

राष्ट्रपतिले निष्क्रिय नागरिकता विधेयक प्रमाणित गरेकामा तपाईं के भन्नुहुन्छ ? 
यसमा प्राविधिक र कानुनी रूपमा त्रुटि भयो। नयाँ संसद् आइसकेपछि संसदमा लगेर, छलफल गराएर संसद्ले नै राष्ट्रपतिसमक्ष पुर्‍याउनुपथ्र्यो। त्यसमा त्रुटि भयो। अब कति दिनसम्म नेपाली नागरिकलाई अनागरिक बनाएर राख्ने ? आमाबाबुले जन्मसिद्ध नागरिकता पाएका छन्।

छोराछोरी हुर्केका छन्। उनीहरूको भावी जीवनमा अवरोध भएको छ। वर्षौंसम्म कसरी झुलाएर राख्ने ? यो प्रमाणित हुनुपथ्र्यो ? अलिकति प्रक्रिया पुर्‍याइदिएको भए प्रश्न उठ्ने थिएन। प्रश्न उठाउने ठाउँ भयो। नागरिकताको समस्या मोड–मोडमा झेलिने विषय हो। 

तपाईंले प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी हेर्नुभएको छ ? 
नेपाल र भारतबीच सदियौंदेखिको सम्बन्ध हो। तर, यो बीचमा देखिएको सीमा समस्या निकै पुरानो हो। भ्रमणका क्रममा हाम्रा प्रधानमन्त्रीको कुरा सुन्दा अचम्म लाग्यो। उहाँले सीमा समस्याबारे मोदीजीले कुरा उठाइदिनुभयो, राम्रो भयो भन्नुभयो। त्यसो हो भने उहाँले के–के भन्नुभयो त ? उहाँ के गर्न जानुभएको थियो ? मैले यसो–यसो गरें भन्नुपर्‍यो नि ! उहाँले ब्ल्याक एन्ड ह्वाइटमा प्रस्ट पार्न सक्नुपर्‍यो नि ! त्यसैले समग्रमा यो भ्रमण उपलब्धिपूर्ण देखिएन। नेपाल र भारतबीच अल्झिएका समस्या सुल्झिए भन्नेमा म सन्तुष्ट छैन। एउटा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले यो कमजोरी प्रदर्शन गर्न हुने थिएन। 

कांग्रेससहितको सरकारको कार्यशैलीलाई कसरी हेर्नुभएको छ ? 
एक/दुइटा स्टन्टबाजीजस्तो छ। भ्रष्टाचारविरुद्घको अभियान १–२ वटा देखिन्छ। कार्यशैली परम्परागत छ। कुनै सरकारी अड्डाको व्यवहार फेरिएको छैन। अलिकति बजेटले राष्ट्रिय ढुकुटीलाई बलियो बनाउने लाइनमा आयो। परम्परागतभन्दा अलिक सुधारिएको देखियो। अन्य कुरा हेर्दा त्यति उत्साहित हुनुपर्ने अवस्था म देख्दिनँ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.