कर्णालीमा परिवारबाटै अपहेलित छन् फिस्टुलाका बिरामी

कर्णालीमा परिवारबाटै अपहेलित छन् फिस्टुलाका बिरामी
फिस्टुलाका बिरामीलाई उपचारका लागि ग्रामीण क्षेत्रबाट स्टेचरमा बोकेर अस्पताल लैजाँदै स्थानीय। बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर : मुगु खत्याडकी विष्णुमाया तिवारीलाई सुत्केरी हुनुअघि लामो ब्यथा लाग्यो। झन्डै २४ घण्टासम्म प्रसव पीडा खेपिन। सामान्य अवस्तामै पहिलो सन्तानलाई जन्माइन्। तर, शिशुको जन्मपछि उनमा प्रसव फिस्टुलाको समस्या देखियो। जब उनमा यो रोग देखियो, उनलाई आफ्नै घर परिवारदेखि समाजले छिःछिः र दुरदुरको व्यवहार सुरु गरे। यस्तो व्यवहारका कारण झन्डै तीन महिना उनले मानसिक तनाव बेहोरिन। यो रोग कसरी निको पार्ने भन्ने चिन्तामा परिन्। साथीमार्फत कर्णाली प्रदेश अस्पतालमा फिस्टुलाको उपचार हुने थाहा पाइन्। त्यसपछि उनी प्रदेश अस्पतालमा भर्ना भइन् र उपचार गराइरहेकी छिन्।

‘मुगुमा फिस्टुलासम्बन्धी उपचार सेवा थिएन,’ उनले भनिन्, ‘यससम्बन्धी आफूलाई ज्ञान पनि थिएन। आफूलाई फिस्टुलाको समस्या भएको भन्ने प्रदेश अस्पताल आएर मात्र थाहा पाएँ। धेरै महिला त भएको समस्या नै लुकाएर बस्छन्। फिस्टुला त परै मानिसले गनाएको थाहा पाएर बाटो नै फेर्छन्।’ आफ्नै परिवारले पनि यो समस्यालाई महिलाहरूको कमजोरीका रूपमा लिएर हेला गर्ने गरेको उनले गुनासो गरिन्। शरीरबाट आउने गन्धले आफैंलाई पनि गाह्रो अनुभूति हुने गरेको उनले सुनाइन्। 

यस्तै सुदूरपश्चिम प्रदेशको कन्चनपुरकी मन्जु भट्टलाई दोस्रो सन्तान जन्माउँदा फिस्टुलाको समस्या देखियो। झन्डै १० घण्टा प्रसव पीडाका कारण उनलाई फिस्टुलाको समस्या भयो। पहिलो शिशुलाई सामान्य रूपमै जन्म दिएकी भट्टले दोस्रो सन्तान जन्माउँदा भने प्रसव पीडा भोग्नुपर्‍यो। पहिलोपटक बच्चा जन्माउँदा ४ घण्टाको प्रसव पीडामै बच्चा जन्मिएको थियो। तर, दोस्रो सन्तान जन्माउँदा उनलाई बढी नै समय प्रसव पीडा सहनुपर्‍यो। 

nullत्यसमा पनि फिस्टुलाको समस्याले त झन् गाह्रो भएको थियो। उनले आफ्नो समस्या धेरै साथीहरूलाई भन्न पनि सकिनन्। परिवार र साथीकै सहयोगमा यसको उपचारको खोजी गरेकी उनले भनिन्, ‘महिलाहरूमा फिस्टुलाको समस्या कसरी हुन्छ ? यसको उपचार कहाँ हुन्छ भन्ने कुरा थाहा पाउनै मुस्किल छ। धेरै महिला दिदी बहिनीहरूले त यो रोग लुकाएरै बस्छन्। कत्तिलाई त यसको उपचार हुन्छ भन्ने कुराको पनि जानकारी छैन।’ 

डडेलधुराको गन्यधुरा गाउँपालिकाकी ज्येष्ठ नागरिक डम्बरी बोहरालाई फिस्टुलाको समस्या भएको ३० वर्ष भयो। उनलाई यसको उपचार हुन्छ जस्तो लागेकै थिएन। गाउँका स्वास्थ्य चौकीमा जाँदा सामान्य औषधि दिएर फर्काउँथ्ये। तर, सन्चो पटक्कै भएन। जति बेला आफूलाई फिस्टुला भएको हो भन्ने थाहा नै थिएन, उनको योनीबाट पिसाव बगेको बगै भएर गनाउँथ्यो। मानिसहरू उनलाई भेटेपछि गनायो भनेर भाग्थे। उनका बच्चा पनि भएनन्। श्रीमान्ले कान्छी श्रीमती ल्याए र उनीबाट दुईवटा छोरा जन्मिए। श्रीमान् पनि बिते। 

यो अवस्थामा उनलाई स्याहार गर्ने मानिसलाई पनि समस्या भयो। फेरि फिस्टुलाको बिमार भएकाले उनको दैनिकी थप जटिल बन्यो। उनी समाजमा छिःछिः र दुरदुरको अवस्थामा बाँच्न बाध्य भइन्। 

nullगत मंसिरमा कर्णाली प्रदेश अस्पतालमा रहेको फिस्टुला उपचार केन्द्रमा निःशुल्क उपचार हुने भन्ने कुरा उनले थाहा पाइन्। उनी आफैं उपचारका लागि डडेलधुराबाट सुर्खेत पुगिन्। हाल प्रदेश अस्पतालमा उपचाररत उनले भनिन्, ‘मैले त आफ्नो जन्दगीबाटै आस मारिसकेकी थिएँ। उपचार गर्दा निको हुन्छ भन्ने पनि थाहा थिएन। तर, अहिले यो समस्या कसैलाई नहोस् भन्ने लाग्छ।’ 

कर्णाली प्रदेश अस्पताल र आइएनएफ नेपालको साइनिङ अस्पतालको सहकार्यमा कर्णालीमा फिस्टुलाका बिरामीहरूको सन् २०१४ देखि निःशुल्क उपचार भइरहेको छ। प्रदेश अस्पतालका निमित्त निर्देशन डा.गणेश थापाले भने, ‘फिस्टुला पीडित महिलाको निःशुल्क उपचारका लागि आइएनएफ नेपालको सहकार्यले निकै राहत प्रदान गरेको छ। कर्णालीका विकट बस्तीहरू र छिमेकी प्रदेश सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सेवाग्राहीहरूले पनि यहाँबाट सेवा लिँदै आएका छन्।’ 

पश्चिम नेपालमा फिस्टुलासम्बन्धी सबैभन्दा सुबिधायुक्त निःशुल्क उपचार प्रदेश अस्पतालले दिइरहेको उनले बताए। उनका अनुसार हालसम्म यस अस्पतालबाट जम्मा ३ सय ९१ जना फिस्टुला पीडित महिलाले उपचार सेवा लिएका छन्। चालु आर्थिक वर्षमा १७ जना बिरामीहरूले उपचार सेवा लिइरहेका छन्। तर, धेरै महिलाले यो उपचारका विषयमा जानकारी नपाउँदा यसको पहुँचमा आउन सकिरहेको अवस्था नभएको उनले बताए। ‘कतिपय बिरामीहरूलाई त उपचार सेवा लिन अस्पतालसम्म आउनै आर्थिक समस्या छ। त्यसका लागि सरकारले पनि थप सुविधा दिनुपर्छ’, उनले भने। 

उपचारमा बेलायती डाक्टरको सक्रियता 

nullकर्णाली प्रदेश अस्पतालमा फिस्टुला पीडित महिलाको निःशुल्क उपचारमा स्वयमसेवक रूपमा कार्यरत बेलायती स्त्रीरोग विशेषज्ञ डा. शेली हेउड सक्रिय छिन्। उनले सन् २००३ देखि कर्णालीमा आएर तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रसूति वार्डमा बसेर निःशुल्क रूपमा सेवा सुरु गरिन्। उनले प्रसूति वार्डमा सेवा लिन आउने महिलामा फिस्टुलाको समस्या देखा पर्न थालेपछि सन् २००९ देखि सन् २०१८ सम्म बिभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिन्। शिविरमा २ सय ६६ जना महिलामा फिस्टुलाको समस्या देखिएको थियो। उनीहरू सबैको उपचार पनि डा. शेली हेउडले निःशुल्क गरिन्। त्यसपछि फिस्टुलाका बिरामीहरू बढ्दै गएपछि सन् २०१८ देखि उपचार केन्द्र नै स्थापना गरेर सेवा सुरुवात गरियो।

पश्चिम नेपालमै पहिलोपटक कर्णाली प्रदेश अस्पतालले सन् २०१८ देखि फिस्टुला पीडित महिलाको सुविधासम्पन्न उपचार सेवाको थालनी गर्‍यो। यसको नेतृत्व बेलायती डाक्टर हेउडले लिइन्। फिस्टुला उपचार केन्द्रका व्यवस्थापक कान्तप्रसाद सुवेदीले भने, ‘कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विकट बस्तीहरूमा रहेका फिस्टुला पीडित महिलाको निःशुल्क उपचार गर्ने पवित्र उद्देश्य राखी बेलायती डाक्टर शेली हेउडले सन् २००८ मा इथियोपियाबाट फिस्टुलाको शल्याक्रियासम्बन्धी तालिम लिइन्। सन् २००९ देखि तत्कालीन क्षेत्रीय अस्पताल सुर्खेतमा यो सेवाको पनि सुरुवात गरिन्। सन् २०११ देखि २०१७ सम्म कर्णालीमा कार्यरत २ हजार ३ सय ९८ जना स्वास्थ्यकर्मीहरूलाई फिस्टुलासम्बन्धी तालिम पनि दिइन्। त्यस अभियानले कर्णालीमा फिस्टुलाको पहिचान गरी उपचारका लागि पठाउने कार्यमा सहयोग पुर्‍यायो।’ 

त्यसपछि सन् २०२० देखि उनले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमासमेत फिस्टुलासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेकी छन्। प्रदेश अस्पतालमार्फत सन् २०२० देखि हालसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका महिला स्वास्थ्य स्वयंसेवीका, आमा समूह, स्वास्थ्यकर्मी, विद्यार्थी र समुदायका मानिस समेतलाई गरी २३ हजार १ सय ७६ जनालाई फिस्टुलासम्बन्धी अभिमुखीकरण तालिम पनि दिइएको छ। उपचार र सचेतनालाई सँगसँगै लिएर अभियानका रूपमा लागिरहेकी बेलायती डाक्टर हेउडले भनिन्, ‘सबैको सहयोगले फिस्टुला पीडित महिलालाई समयमा अस्पताल पुर्‍याए शतप्रतिशत रोक निको हुन्छ। तर, पाँच वर्षभन्दा बढी समय उपचार नगराए सयमा १० प्रतिशत बिरामी निको नहुन सक्छन्। यो कुरा सबैले ख्याल राख्नुपर्छ।’ 

‘सबै मिली सचेतना फैलाऔं’

प्रदेश अस्पताल सुर्खेतका स्त्रीरोग बिभाग प्रमुख डा. केशर ढकालले सबै सरोकारवालाहररू मिलेर फिस्टुलासम्बन्धी सचेतना फैलाउनु पर्ने बताए। उनले भने, ‘हरेक मानिसमा बिभिन्न समस्याहरू आउँछन्। महिलामा पनि प्रसव पीडाबाट आउने सामान्य समस्या फिस्टुला भए पनि समयमै उपचार नहुँदा गम्भीर समस्या बन्ने गरेको छ।’ बिभिन्न माध्यमबाट फिस्टुलासम्बन्धी सचेतना बस्तीस्तरमा पुर्‍याउनु आवश्यक रहेको उनले औंल्याए। समाजमा रहेको परम्परागत अन्धविश्वासका कारण फिस्टुलाको समस्यालाई बिभिन्न रूपमा परिभाषित गरिने गरेको बताउँदै उनले भने, ‘त्यस्तो होइन। बरु यस्तो समस्या देखिए समयमै अस्पताल ल्याउनुपर्छ।’

प्रदेश अस्पतालकी नर्सिङ बिभाग प्रमुख सकुन्तला सापकोटाले प्रसव फिस्टुलासम्बन्धी समस्याका बिरामी महिलालाई उपचारको पहुँचमा ल्याउन प्रदेश अस्पतालले समय–समयमा सञ्चारकर्मीहरू तथा अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने गरेको बताइन्। उनका अनुसार कर्णालीमा बिभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई यससम्बन्धी तालिम, हरेक स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण, तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र प्रसूति सेवालगायतका कार्यहरू पनि अस्पतालले गरिरहेको छ।

 तर, पनि यसको प्रचार पर्याप्त रूपमा नभएको उनको भनाइ छ। ‘महिलाले वर्षौं रोग पालेर बस्ने र जटिल भइसकेपछि मात्र अस्पताल आउने समस्या छ’, उनले भनिन्। यसको उपचारमा २० वर्षको उपलब्धि पर्याप्त देखिन्न। सन् २०३० सम्ममा फिस्टुलाको अन्त्य गर्ने सरकारको लक्ष्य छ।

के हो प्रसव फिस्टुला ?

nullलामो र कठिन सुत्केरी ब्यथाका कारण पिसाव थैली, पिसाव नली वा आन्द्रामा प्वाल पर्न जानुनै प्रसव फिस्टुला हो। कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. शुभेच्छा श्रेष्ठका अनुसार प्रसव फिस्टुला भएपछि महिलाले दिसा, पिसाव नियन्त्रण गर्न सक्दैनन् र लगातार रूपमा योनीबाट पिसाव वा दिशा बग्न थाल्छ। 

फिस्टुलाको मुख्य उपचार भनेकै शल्यक्रिया हो। समयमै उपचार गराउँदा फिस्टुला पूर्ण रूपमा निको हुन्छ। ढिलो भए उपचार गर्दा पनि निको नहुन सक्छ। डा. श्रेष्ठले प्रायः ग्रामीण समुदायका महिलामा फिस्टुलासम्बन्धी सचेतना र उपचार हुने ठाउँका बारेमा जानकारी नहुँदा उपचार सेवा लिनबाट बन्चित हुँदै आएको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.