राजनीतिमा राष्ट्रप्रेम

अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको तीव्र ध्रुवीकरण र टकरावको असर नेपालको भू–राजनीतिमा पनि देखिएको छ।

राजनीतिमा राष्ट्रप्रेम

ब्रह्माण्ड अथाह र नित्य छ। तर यही ब्रह्माण्डभित्रको धर्ती अनि यसभित्रका पनि मानिस भने झनै अनित्य र क्षणभंगुर छौं। कुनबेला, कहाँ र कसरी हाम्रो जीवन अन्त्य हुन्छ भन्नेमा सधैं बेखबर नै रहन्छौं। उत्पत्तिदेखि आजसम्म यो रहस्य पृथ्वीले आफ्नो गर्भभित्र लुकाई नै रह्यो। प्रकृतिको यो सत्य र अनित्यताको बोध हाम्रा सार्वजनिक पदधारी त्यसमा पनि विशेषतः राजनीतिकर्मीहरूले नगरिदिएकै कारण अथवा अध्यात्मिक चेत नभएकै कारण लामो समयदेखि यो देशको राजनीति स्वकेन्द्रित, स्वलाभ र स्वअर्थकै वरिपरि घुमिरह्यो। यो गोल चक्करले केही पहुँचवालाबाहेक बाँकी सबै नेपालीको जीवन नै सीमित र संकुचित बनाइदियो। एक वाक्यमा भन्दा नेपालको राजनीति ‘म’बाट ‘हामी’मा स्थानान्तरण हुनै सकेन।

पूर्वीय सभ्यतामा इतिहासको कुनै कालखण्ड यस्तो थियो, जतिबेलाका शासकहरू आफैंमा आध्यात्मिक हुन्थे। कुनै सन्त वा आध्यात्मिक साधक दरबार आए शासकहरू आफ्नो आसन नै उनीहरूलाई छोडेर भुइँमा बस्थे। शासन सञ्चालनदेखि देशको समग्र राजनीति अध्यात्मबाट निर्दिष्ट रहन्थ्यो। शासनको केन्द्रमा देश र जनता हुन्थे। इमान र निष्ठाले राजनीतिमा उच्च महŒव पाउँथ्यो। मिथिला पनि भनेर चिनिने जनकपुरका २२औं राजा शिरध्वज अर्थात् जनक यस्तै थिए। आफ्ना गुरु अष्टावक्रबाट प्राप्त आध्यात्मिक ज्ञानको आधारमा जनक राज्य सञ्चालन गर्थे। प्रजा भनेका आफ्नै सन्तानसरह हुन् भन्ने मान्यता उनको थियो। अध्यात्मले नै राजालाई आफ्नो व्यक्तिगत स्वार्थ र स्वआर्जनलाई त्यागि जनहितमा लाग्न प्रेरित गरेको थियो। यही कारण मिथिलावासी सुखी र शासकप्रति सन्तुष्ट थिए।

७०÷७५ वर्षअघि छिमेकी मुलुक भारतको राजनीतिमा महात्मा गान्धीले पनि अध्यात्मको त्यस्तै अभ्यास गरेका थिए। सत्य र अहिंसालाई मूल मन्त्र मान्ने गान्धीको राजनीतिक दर्शनमा राष्ट्र र जनता सधैं केन्द्रमा हुन्थे। अंग्रेजलाई भारत छोड्न बाध्य बनाउनमा पनि उनकै प्रभाव मुख्य थियो। सन्त नेता भनेर पनि चिनिने कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिले पाएको एक त्यस्तै व्यक्तित्व थिए। जसको सम्पूर्ण जीवन त्याग र समर्पणले भरिएको थियो। राजनीतिलाई अध्यात्मको चस्माबाट हेर्ने उनी दुई–दुईपटक प्रधानमन्त्री हुँदासमेत व्यक्तिगत प्रयोजनका लागि राज्यको ढुकुटी छोएनन्। तर विडम्बना राजनीतिलाई फोहोर बनाएर खेल्न बानी परेका आफ्नाले नै उनलाई राजनीतिबाट सन्न्यास लिन बाध्य पारे जुन यो देशको एउटा दुःखद् दुर्भाग्य थियो।

असर र व्यापकताको हिसाबले अन्य क्षेत्रको तुलनामा राजनीति एकदमै विस्तृत र बहुआयामिक क्षेत्र हो। राजनीतिबाहेकको विषय बिग्रँदा त्यसको असर सीमित हुन्छ तर राजनीति आफैं बिग्रिए। त्यसले एउटा पुस्तामात्र होइन, आउने कयौं पुस्ताको भविष्य नै बर्बाद पारिदिन्छ। चाहेर पनि राजनीतिमा हुने हरकुनै निर्णयको प्रभावबाट नागरिक अछुतो रहन सक्दैन। परिणामस्वरूप विकृत राजनीतिले सीमा नाघेको देशमा जनता चरम निराशाबाट गुज्रिरहेका हुन्छन्। यो देशमा अहिले त्यही भइराखेको छ। यहाँ लगभग प्रत्येक जनताको मन अशान्त र अस्थिर छ। नेतृत्वप्रतिको असन्तुष्टि दिन दुई गुणा रात चार गुणाका दरले वृद्धि भइरहेको छ। देशमा विद्यमान हरसमस्याको जरा खोज्दै जाँदा राजनीतिमै गएर टुंगिने स्थिति छ।

मानिसलाई नवीन सोच आविष्कार गर्न चाहिने सामाजिक, आर्थिक र मनोवैज्ञानिक निर्धक्कताको वातावरण नेपालीले पाउन नसकेको वर्षांै भइसक्यो। आज हामी जुन तह र स्तरमा बाँचिरहेका छौं, योभन्दा धेरै माथिल्लो स्तरमा बाँचिरहेका हुनेथियौं, यदि यो देशको राजनीतिमा आध्यात्मिक चेत भइदिएको भए। स्वभावैले रिस, इष्र्या, लोभ, मोह, अहंकार, घृणा आदिले भरिएको जात हो मानिस। जीवन भोग्दै जाने क्रममा यिनै दुर्गुणहरूले उसलाई अनैतिक र अवैधानिक बाटोमा हिँड्न उक्साइरहेको हुन्छ। तर यो सब विकारबाट टाढै बसी समाजको सदस्यको रूपमा कर्तव्य र जिम्मेवारी बहन गर्न अभिप्रेरित गर्ने एकमात्र साधन अध्यात्म हो। ‘म को हुँ ?’ भन्ने मूल प्रश्नबाट सुरु भएर अध्यात्मले हरकोहीलाई आफूभित्रको आन्तरिक यात्रामा प्रवेश गराउँछ। यसले जीवनको सार र क्षणभंगुरतालाई नजिकबाट नियाल्न सघाउँछ। जसै जीवनमा क्षणभंगुरताको बोध हुँदै जान्छ तसै मानिसले आफ्नो अहंकार र स्वार्थ पनि त्याग्दै जान्छ। आजको दिनमा हाम्रो राजनीतिकर्मीलाई चाहिएको यहि हैन ?

विगत केही दशकयता अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको तीव्र ध्रुवीकरण र टकरावको प्रत्यक्ष÷अप्रत्यक्ष असर नेपालको भू–राजनीतिमा पनि देखिएको छ। छिमेकीको रूपमा विश्वका उदाउँदा दुई महाशक्तिको बीचमा सन्तुलित सम्बन्ध कायम राख्नु, सँगै अस्थिर घरेलु राजनीतिको पनि व्यवस्थापनको पनि आफैंमा जटिल विषय हो। यस्तो चुनौतीपूर्ण स्थितिमा हाम्रो राजनीतिक नेतृत्वले दैनिक आउने तनाव, दबाब र प्रभाव खेप्दै विभिन्न महŒवपूर्ण र संवेदनशील निर्णय निर्माणदेखि कार्यान्वयन र पृष्ठपोषणसम्मको कार्यलाई विवेकपूर्ण ढंगले नेतृत्व गर्नु उत्तिकै जरुरी छ। साथै यी हरेक प्रक्रियामा राष्ट्रिय स्वार्थ र जनहितलाई केन्द्रमा राख्न त झनै आवश्यक छ। यस्तो कठिन र संवेदनशील परिस्थितिलाई अत्यन्त सुझबुझ र सहजताका साथ फस्र्योट गर्न नेतृत्वमा आध्यात्मिक चिन्तनको दोस्रो विकल्प छैन।

दुई, चारजना कार्यकर्ता र सल्लाहकारकोे सानो घेराले जता डोहोर्‍यायो, त्यतै डोहोरिने गलत प्रवृत्ति आजसम्म पनि नेपाली राजनीतिमा जुकाझैं टाँसिइरह्यो। यही कारण राजनीतिले गरेका हरनिर्णयले यो देशका आमजनतालाई छुनै सकेन। विश्व राजनीतिलाई नै चकित तुल्याउने गरी परिवर्तन माथि परिवर्तनका चाङ यहाँ थपिँदै गए पनि भुइँमान्छेको झुपडीसम्म त्यो पुग्नै सकेन। ‘सबैले बलेको आगो मात्र ताप्छन्’ भन्ने उखानको सिकार भएका नेतालाई शक्ति र सत्तामा नहुँदासमेत जनताका घरघर र मनमनमा अध्यात्मले मात्र पुर्‍याउन सक्छ।

नेतृत्व विकास, तनाव व्यवस्थापन, इमोसनल इन्टेलिजेन्सजस्ता शीर्षकमा विश्वभर नै अधिकांश संगठनले कामदारलाई अध्यात्मको ज्ञान दिइरहेको छ। यस्तो परिप्रेक्ष्यमा राजनीतिमा यसको सान्दर्भिकता झन् बढी हुनेमा दुईमत नहोला। अन्त्यमा, राजनीतिलाई स्वच्छ र शुद्ध बनाउन, नेतृत्वलाई राष्ट्रप्रेमी र जनउत्तरदायी तुल्याउन अनि समग्र नेपाल र नेपालीको सुन्दर भविष्यका लागि यो देशको राजनीतिमा अध्यात्मलाई जोड्न अत्यन्त आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.