अवमूल्यनमा महिलाका रैथाने ज्ञान

अवमूल्यनमा महिलाका रैथाने ज्ञान
सांकेतिक तस्बिर।

राज्यले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको सीप, ज्ञानलाई बेलैमा पहिचान गरी ठोस योजनाहरू ल्याउन जरुरी देखिन्छ।

सानो छँदा घर नजिककी छिमेकी सानिमा चुल्हो बनाउन गाउँभरिमै सिपालु मानिनु हुन्थ्यो। उहाँले बनाएको चुल्हो सितिमिति नभत्किने खालको हुन्थ्यो। ऊबेला जुन पायो त्यही बार चुल्हो बनाउँदा छिटो भत्कने र नटिक्ने मान्यता थियो। सोतोबाट ल्याएको कालो हिलो माटोमा बाबियाका टुक्राटाक्री मिसेर चुट्दै माटो शिथिल पारिन्थ्यो। अनि फलामका तार, फुटेको हाँडीको माथिल्लो भाग आदि जोडजाड गर्दै चुल्हो तयार पारिन्थ्यो।

घरमा चुल्हो बनाउने दिन हामी केटाकेटी खुुसीले भित्र–बाहिर फर्‍याक फुरुक गथ्र्यौं। सानिमा घरीघरी नचलोन भन्दै करिब एकाध घण्टामा दुईमुखे चिटिक्क परेको चुल्हो तयार पार्नुहुन्थ्यो। भान्साकै अर्को कुनामा कुँडो पकाउन, दूध उमाल्न मिल्ने अलि ठूलो मुख भएको चुल्हो पनि सँगसँगै तयार हुन्थ्यो। घरमा नयाँ चुल्हो बनेपछि आमा पनि एक डेढ वर्ष ढुक्क हुने भो भनेर खुसीले भित्र–बाहिर गर्नु हुन्थ्यो। चुल्हो बनेको भोलि, पर्सिपल्टदेखि बल्ल नयाँ चुल्होमा खाना पकाउनु हुन्थ्यो आमा। चुल्हो स्याहार्न गाईको गोबरले दिनहुँ लिप्ने, पोत्ने गर्दा भान्साको सरसफाइमा आमा विशेष ध्यान दिनु हुन्थ्यो।

ऊ बेला लाग्थ्यो, अहो ! कति सिपालु हाम्री सानिमा। मू्र्ति बनाउने काम भए कुन कुन भगवान्का मूर्ति कुँद्नु हुन्थ्यो होला ? उहाँका हातमा जादु छन् कि झैं लाग्ने। तर उहाँलाई भने घरधन्दा, मेलापात अनि गाउँलेका चुल्हो बनाउनमै भ्याइनभ्याइँ। सानिमाले जीवनकालको आधा जीवन चुल्हो बनाएर न आर्थिक उपार्जन भयो न त अन्य सीप सिक्ने अवसर पाउनुभयो। तैपनि गाउँघरमा पर्यावरणसँग मिलेर जीविका चलाउने सीपमा अभिव्यक्त हुने रैथाने ज्ञान, सीपको प्रयोग गर्न हाम्रा आमा, सानिमाहरूलाई कसैले सिकाउन पर्दैनथ्यो।

गाउँकै आफन्ती दिदी रोटीका विभिन्न परिकार बनाउन सिपालु। बिहे, व्रतबन्ध, भोजभतेर, पूजाआजा छिमेकमा रोटी बनाइदिने, बिग्रे भत्के सपार्ने जिम्मा उनकै। आफूले जानेको काममा सदैव अग्रसर हुने, नजान्नेलाई सिकाउने, जाँगरिली दिदी सधैंजसो व्यस्त। काम गर्दा केही अप्ठ्यारा आइपरे पनि आफू पछाडिका पुस्तालाई सीप सिकाउँदै स्थानीय खानाका परिकारको स्वाद संरक्षण गर्न पाउँदा उहाँ गर्व महसुस गर्नुहुन्छ। हाम्रा सानिमा, दिदी त समाजका केही प्रतिनिधि पात्र हुन्।

आफूले जानेको सीप, क्षमतालाई व्यवसायीकरण गर्न अवसर नपाएका, प्रतिभा प्रस्फुटन गर्ने उचित थलो नभेटेका महिलाहरू जहीँतहीँ घरघरमा भेटिन्छन्। मैले जानेदेखि हजुरआमाको पुस्तादेखि अहिलेसम्म बिहानको पूजापाठदेखि आधा रातको घरधन्दामा महिला नै व्यस्त हुनुपर्छ। भान्सामा पाक्ने हरतरहका खाना, मीठोचोखो पकवान, परिवार बालबच्चा व्यवस्थापन सबैतिर महिलाको महŒवपूर्ण भूमिका रहन्छ। जन्मदेखि मृत्यु संस्कारसम्मका परम्परागत सीप हुन् या गर्नुपर्ने कामसँग महिला नै जोडिएका देखिन्छन्। करेसाबारीदेखि चकटी, गुन्द्री, गलैंचा, राडीपाखी, हस्तकलाका सामग्री तयार पार्ने काममा प्रायः महिला नै अभ्यस्त हुन्छन्।

पछिल्लो समय हरेक स्थानीय सरकारले विशेषगरी वडावासी महिलालाई लक्षित गरेर विभिन्न किसिमका तालिम तथा स्थानीय सीप संरक्षणको व्यवस्था गर्न केही रकम छुट्ट्याएको छ। गत फागुनमा पोखरा महानगरपालिका वडा नं १५ ले वडावासी महिलाका लागि तालिमको आयोजना गर्‍यो। समापनमा सहभागीलाई आगामी दिनमा कस्तो तालिमको अपेक्षा राख्नुहुन्छ भन्ने अतिथिले जिज्ञासा राख्नुभयो। केहीले मादल बजाउने त केहीले घरैमा बसेर आर्थिक उपार्जन गर्न सकिने उद्यमशीलतासम्बन्धी तालिमको माग गरे।

देशमा शदियौंदेखि प्रायः महिला घरायसी कामकाजका महत्वपूर्ण कार्य सरसफाइ, हेरचाह गर्ने श्रमिकका रूपमा दिनरात खट्दा पनि न श्रमको मूल्य पाउँछन् न त श्रमिक नै मानिन्छ। बढ्दो पश्चिमी रहनसहन, देखासिकी र आधुनिकताका नाउँमा महिलाले गरेका काम ओझेलमा छन्। चाहे भान्सामा होस् या परिवारलाई स्वस्थ राख्ने घरेलु जडीबुटी अथवा औषधिका बारेमा भएका रैथाने ज्ञान, सीपका बारेमा महिला नै बढी जानकार देखिन्छन्। यस्ता सीपको जगेर्ना र हस्तान्तरण गर्न सके आगामी पुस्तालाई सहयोग पुग्नेछ। मानिस विभिन्न प्रकारका प्राकृतिक प्रकोप, द्वन्द्व, शिक्षा, स्वास्थ्य, रोजगारीको सिलसिलामा आफ्नो थातथलो छाडेर अन्यत्र बसाइ सरेर जानु पर्दा कतिपय स्थानीय सीप र संस्कृति लोप हँुदैछन्।

आधुनिकताका नाउँमा अरूको राम्रो र लाभदायी ठान्ने प्रवृत्तिले गर्दा पनि स्वदेशी, रैथाने ज्ञान र अनुभवको अवमूल्यन भएको छ। भूगोलअनुसार हरेक ठाउँका स्थानीय सीप, ज्ञान, प्रविधि हुन्छन्। जो स्थानीय समुदायले आफ्नै अनुभवले आर्जन तथा संरक्षण गर्न सक्ने हो भने नयाँ पुस्तामा सर्दै जानेछ। अन्यथा हाम्रा परम्परागत, सीप, ज्ञान हराउन या बिलाउन समय लाग्दैन। कर्कलोकै उदाहरण लिउँ। ८४ वर्ष पुगेकी हजुरआमा अहिले पनि घरका लागि गावा, मस्यौरा, तान्द्रे कर्कलो आफैं तयार गर्नुहुन्छ। उहाँको हातको स्वाद परिवारका सबैको जिब्रोमा झुन्डिन्छ। कतिपय महिलासँग अनुभवले आर्जन गरेको ज्ञानको भण्डार छ। कैयौं गाउँमै हुर्केबढेका, कुटोकोदाले समातेका, गोठालो खेतालो गरेर हुर्केका पुस्ता हौं। नेपालका हरेक गाउँका स्थानीय सीप, प्रविधि, उत्पादन थिए जो आधुनिकीकरण र सहरीकरणका नाउँमा लोप हुँदै गएका छन्। अहिलेको पुस्तालाई परम्परागत सीप र ज्ञान संरक्षणमा चासो दिलाउन र समर्थन जनाउन स्थानीय पाठ्यक्रममा यस्ता विषय समेटिनु पर्छ।

समाजशास्त्री चैतन्य मिश्र ‘बदलिँदो समाज’ नामक पुस्तकमा लेख्छन्, ‘आफ्ना परम्परागत ज्ञान, सीप र प्रविधिलाई जोगाएर अन्य समाजबाट समेत सिक्दै अगाडि बढ्ने समाजले विकासमा फड्को मार्छ।’ महिलाले गर्दै आएका कामलाई स्थानीय सरकारले कदर गर्दै जनस्तरसम्म पुर्‍याउन महिला संयन्त्र नै तयार गर्नुपर्छ। जुन वातावरण र प्रकृतिमैत्री हुन्छन्। महिलाहरूसँग भएको ज्ञान र सीपलाई उद्यमशीलतामा परिणत गर्ने अवसर पाए स्वतःस्फूर्त आत्मनिर्भर र सशक्तीकरण हुन्छ। राज्यले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको सीप, ज्ञानलाई बेलैमा पहिचान गरी ठोस योजनाहरू ल्याउन जरुरी देखिन्छ।

समाजमा आवाजहरू बुलन्द पार्दै सचेतनाहरू फैलाउनु र संविधानमा नै घरेलु श्रम, सीपको मूल्यांकन गरिनु अबको समयको माग हो। स्थानीय सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्नु साथै स्थानीय सीपको संरक्षण गर्नु हाम्रो दायित्व हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.