मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिएर कोशी सरकार जोगाउने प्रयासमा एमाले
काठमाडौं : नेकपा एमालेले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएर जनता समाजवादी पार्टीलाई फकाउने प्रयास गरेको छ। मधेश सरकारबाट समर्थनफिर्ता लिएर बाहिरिएको एमालेले मंगलबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई जसपाले विश्वासको मत दिने आशा राखेर मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको हो।
एमाले महासचिव शंकर पोखरेलको संकेत पनि यसतर्फ केन्द्रित रहेको छ। मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेकाले रचनात्मक भूमिका खेल्न उनले आग्रह गरेका छन्।
महासचिव पोखरेलले बुधबार फेसबुकमार्फत भनेका छन्, ‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा(एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ। राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ।’
कोसी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ। एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्रीबाट राजिनामा दिएकी छन्। जसपाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनी एक्लो प्रदेश सांसद (प्रदेशसभा सदस्य) हुन्। गत पुस २५ गते एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा लिम्बू सहभागी भएकी थिइन्। तर, जसपाको प्रदेश समिति बैठकको निर्णयसँगै उनको मन्त्री पद गुमेको हो।
प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। तर, प्रदेशमा एमाले र राप्रपाका ४६ सांसद छन्।
सरकारमा सहभागी कुनैपनि राजनीतिक दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्रमा संसद (प्रदेशसभा)बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मत प्राप्त गर्न नसके सरकार ढल्छ। केन्द्रमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा लगायतका दलको सत्ता गठबन्धन छ। कोसी प्रदेशमा निर्णायक रुपमा जसपा रहेको छ। कार्कीले विश्वासको मत लिन नेताहरु आन्तरिक छलफलमा समेत जुटेका छन्।
कोसी प्रदेशको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। तर, प्रदेशमा एमाले र राप्रपाका ४६ सांसद छन्। केन्द्रीय गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपासँग पनि सभामुखबाहेक ४६ सांसद छन्। माओवादीका बाबुराम गौतम सभामुख छन्। दुवैतर्फ बहुमत नपुग्ने भएपछि प्रदेशमा नयाँ सरकार निर्माण असहज हुने देखिन्छ। नयाँ सरकार गठनको खेल सुरु हुँदा प्रदेश मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना रहेको पनि नेताहरूले बताउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !