गोरखामा पहिलो पटक 'हेपाटाइटिस बी' विरुद्ध खोप अभियान
गोरखा : हेपाटाइटिसका धेरै बिरामी रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गाउँपालिकाको समन्वयमा किमोलुङ फाण्डेशन नेपालले वडा नम्बर ३ का विभिन्न गाउँमा हेपाटाइटिस बी रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।
अभियानअन्तरगत बुधबार दुर्गमको न्याक गाउँमा शिविर सञ्चालन भइरहेको छ । मंगलबार जगत बजारमा शिविर सञ्चालन भएको थियो । पहिलो दिन ७३ पुरुष र ८७ महिला गरी कूल एकसय ६० जनामा हेपाटाइटिस बी संक्रमण रहे नरहेको परीक्षण गरिएको किमोलुङ फाउण्डेशनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए ।
परीक्षण गरिएकामध्ये ६ जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको उनले बताए । शिविरमा ४५ जना पुरुष र ६९ जना महिला गरी कूल एक सय १४ जनालाई हेपाटाइटिस विरुद्धको खोप लगाइएको लामाले जानकारी दिए ।
फाउण्डेशनले असार २ गते सा¥योकडाँडा, ३ गते बाङसिङ, ४ गते सानोफिलिम, ५ गते पाती र ६ गते सिर्दिबास स्वास्थ्य चौकीमा अभियान संचालन गर्ने अध्यक्ष लामाले जानकारी दिए । अन्य वडाहरुमा आगामि अक्टोबरमा खोप अभियान संचालन गरिने बताइएको छ । पहिलो डोज लगाएका व्यक्तिले एक महिनापछि दोस्रो डोज र ६ महिना पछि तेस्रो डोज लगाउनुपर्ने लामाले बताए ।
गाउँहरुमा हेपाटाइटिसको समस्या रहेको तर खोप अभियान सञ्चालन गर्ने नेपाल सरकारले कार्यक्रम नरहेकाले संस्थाले यसको व्यवस्था गरेको लामाको भनाइ छ । खोप अभियान सञ्चालन गर्नुअघि पालिकाका स्वास्थ्यकर्मीहरूई हेपाटाइटिस रोगसम्बन्धी प्रशिक्षण समेत दिइएको अध्यक्ष लामाले जानकारी दिए ।