कोसी अस्पतालमा अलग्गै काउण्टर
विराटनगर : विराटनगरस्थित कोसी अस्पतालले ज्येष्ठ नागरिक, अशक्त र गर्भवतीको सहजताका लागि बुधबारदेखि अलग्गै काउण्टर सञ्चालनमा ल्याएको छ।
उमेरले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त एवं शारीरिक रूपमा अपांगता रहेका एवं गर्भवतीलाई लक्षित गरेर अस्पतालले टिकट र बिलिङ काउण्टर तथा औषधि बिक्री कक्ष अलग्गै बनाएको हो। काउण्टरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे।
अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीका अनुसार अरू सरह घण्टौसम्म लाइनमा बसेर सेवा लिनु पर्दा लक्षित वर्गलाई निक्कै सकस हुने गरेको थियो। छुट्टै काउण्टर सञ्चालनसँगै ज्येष्ठ नागरिक, अशक्त एवं अपांगता भएका र गर्भवतीलाई सहज हुने उनले बताए। ‘लक्षित वर्गलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले अलग्गै काउण्टर सञ्चालनमा ल्याइएको हो,’ बुढाथोकीले भने, ‘सरकारी अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।’
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंह, सामाजिक अभियन्ताहरू तथा कोसी अस्पताल सुधार समितिका पदाधिकारीहरू उपस्थित थिए। अस्पतालभित्र छुट्टै काउण्टरको उद्घाटन गर्दै मेयर कोइरालाले पहिलो ओपीडी टिकट सुनसरीको इनरुवाका बीर्खबहादुर सुवेदीलाई हस्तान्तरण गरे।
उनले ३ तहको सरकार जुन भूमिकामा भएपनि सबैले जनताको सहजीकरणका लागि काम गर्नुपर्नेमा जोड दिए। विशेष अवस्थाका बिरामीलाई लक्षित गरेर अस्पतालले सुरु गरेको काउण्टरबाट सेवा प्रवाह प्रभावकारी हुने विश्वास उनले व्यक्त गरेका छन्। मेयर कोइरालाले अस्पतालले सञ्चालनमा ल्याउन लागेको एनआईसीयू र आकस्मिक कक्षको निरीक्षणसमेत गरे।
अस्पताल विकास समितिका सदस्य बुढाथोकीले अस्पतालको आकस्मिक कक्ष नजिक नयाँ ल्याब, फार्मेसी र एनआईसीयू सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिए। ‘अहिले अस्पतालमा नर्सिङ कर्मचारी, स्वीपर र कार्यालय सहयोगी समेतका जनशक्ति अभाव छ,’ उनले भने, ‘जनशक्ति व्यवस्थापन हुनासाथ ल्याब, फार्मेसी र एनआईसीयू सञ्चालन गरिने छ।’
उनका अनुसार अभाव रहेको जनशक्ति पूर्ति गर्नका लागि सिफारिससहित स्वास्थ्य मन्त्रालयसँग दरबन्दी माग गरिएको छ। तर, जनशक्ति थपका लागि गरिएको सिफारिसलाई मन्त्रालयले रोकिरहेको बुढाथोकीले बताए। ‘अस्पतालमा ठूलो संख्यामा जनशक्ति अभाव छ। करारमा भएपनि नियुक्त गर्नका लागि मन्त्रालयसँग अनुमति मागिएको थियो,’ उनले भने , ‘तर, मन्त्रालयले फाइल नै रोकिरहेको छ।’
कोरोना महामारीका बेला २८ बेडसम्म सञ्चालन गरिएको आईसीयू जनशक्ति अभावकै कारण अहिले १२ बेडमा झार्नुपर्ने अवस्था आएको बुढाथोकीले बताए। मन्त्रालयले थप दरबन्दी नपठाउँदा जनशक्ति भर्ना गरेर सेवा विस्तार गर्न नसकिएको उनको भनाइ छ।