जिम्बाब्वेविरुद्ध नेपालका दुवै ओपनर आउट, ६६ रन बनाएर फर्के आसिफ
हरारे : आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत जिम्बाब्वेविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दुवै ओपनर गुमाएको छ।
जिम्बाब्वेविरुद्ध विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल ९९ रन बनाएर आउट भएका थिए।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि ओपनिङमा उत्रिएका कुशलले ९५ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाएर वेलिङ्टन मसाकाजादाको बलमा बोल्ड हुँदा एकदिवसीय अन्तर्राष्ट्रियमा करिअरको दोस्रो शतक बनाउन एक रनले चुके।
कुशलसँग कीर्तिमानी इनिङ खेलेका आसिफ एक सय बलमा सात चौकासहित ६६ रन बनाएर मसाकाजादाको बलमा रायन बर्लको हातबाट क्याच भए।
नेपालको इनिङको शानदार सुरुआत गरेका कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान बनाएका थिए।
यसअघि ज्ञानेन्द्र मल्ल र आसिफले बनाएको एक सय ३९ रनको साझेदारीको कीर्तिमान तोडेर एक सय ७१ रनको नयाँ रेकर्ड बनाए।
अहिले ३५ ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर एक सय ८४ रन बनाएको छ। नेपालका लागि क्रिजमा कुशल मल्ल १२ रन बनाएर खेलिरहँदा कप्तान रोहित पौडेल उनलाई साथ दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !