पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाजले गर्यो पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ। बुधबार बिहान चीनको छेन्दुक सहरबाट सिचुवान एयरलाइन्सको एयरबस- ३१९ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको रुपमा पहिलो पटक अवतरण गरेको हो।
पहिलो विमानबाट पोखरा आएका चिनियाँ पाहुनालाई पोखरेलीले भव्य स्वागत गरेका छन्। पोखरा विमानस्थल नजिकै चिनियाँ पाहुनाको स्वागतमा स्वागतद्वार बनाइएको छ। पोखराको मुख्य बजार क्षेत्रमा चिनियाँ फेस्टिभलको बारेका ब्यानर राखेर झिलिमिली बनाइएको छ।
१ जनवरी २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल झन्नै ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय उडानको रुपमा चिनियाँ चार्टड विमान अवतरण गरेको हो। पर्यटकीय सहर पोखराको फेवातालमा असार ८ र ९ गते नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल हुँदैछ। ड्रागन रेस फेस्टिभलका लागि चिनियाँ पाहुना लिएर चार्टड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो।
चिनियाँ ऋण लगानीमा बनेको पोखरा विमानस्थलमा पहिलो पटक चार्टड विमान अवतरणपछि चीनका विभिन्न सहरबाट नियमित उडान पनि छिट्टै सुरु हुने विश्वास पर्यटन व्यवसायीको छ। यो संगै भारत र अन्य मुलुकबाट पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान र अवतरण हुने विश्वास पोखराका पर्यटन व्यवसायीले गरेका छन्। यही विश्वासमा पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमान बन्नु अघि र पछि पनि पोखरामा पर्यटकीय पूर्वाधारमा लगानी बढाइरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
ड्रागन रेस फेस्टिभलको तयारी पूरा
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखराको फेवाताल किनारमा ड्रागन रेस फेस्टिभलको तयारी पूरा भएको आयोजकले बताएका छन्। पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसन महोत्सवको सह आयोजक रहेका छन्।
चिनियाँ महोत्सवले चीनमा नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्डले जनाएको छ। महोत्सवपछि पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मीले बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान महोत्सवकै लागि चिनियाँ पाहुना ल्याएर भएकोले अन्तर्राष्ट्रिय उडानकालागि पनि ढोका खोल्ने पोखरा पर्यटन परिषद्दका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
फेस्टिभलमा नेपाल र चीनका गरी १२० जना प्रतियोगीहरुको सहभागिता रहने बताइएको छ। दुई सय र पाँचसय मिटरमा गरि दुई भागमा आठ वटा डुंगाबाट रेस हुने छ। चीनबाट ल्याइएका चार वटा डुंगामा नेपाली र ४ वटा डुंगा चीनका प्रतिस्पधी रहने छन्। प्रतियोगितामा विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएका छन्।
महोत्सवमा नेपाल र चीन दुबै देशका सांस्कृतिक कार्यक्रमको साथै दुबै देशका बिभिन्न खानाका परिकार प्रदर्शन हुने छ। कार्यक्रममा सहभागी हुन चीनको लिङजी सहरबाट नगर प्रमुखसहित ६० जनाको टोली पनि पोखरा आउने बताइएको छ।
कोभिड संक्रमणपछि चीनले गत मार्च १५ देखि लागु हुने गरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। योसंगै कोभिडपछि मार्च महिनादेखि चिनियाँ पर्यटक आउने क्रम सुरु भएको छ।
यस अघि चिनियाँलगायत विभिन्न देशका पर्यटकको आगमन ठप्प भएपछि पोखरामा रहेका चिनियाँ लगानीका धेरै होटल तथा रेस्टुरेन्ट व्यवसायी विस्थापित भएका थिए। कोभिड अघि १५ वटा चिनियाँ लगानीका रेस्टुरेन्ट संचालनमा रहेकोमा अहिले ५ वटा मात्र सञ्चालनमा छन्। होटलको अवस्था पनि उस्तै रहेको चिनियाँ व्यवसायीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
