पोखरामा यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटो फिचर)

पोखरा : पर्यटकीय सहर पोखरामा ९ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। भारतीय दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखरा रंगशालामा योग दिवस मनाइएको हो।
योग दिवसमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री सुदन किँराती, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले योगाभ्यास गरेका थिए। योग दिवसको अवसरमा भएको कार्यक्रममा पोखरेलीको राम्रो उपस्थिति थियो। युवा, युवती, वृद्धवृद्धा, विद्यार्थी लगायतले योग अभ्यास गरेका थिए।
योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगको माध्याबाट पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिए। नेपाल र भारतको सांस्कृतिक सम्बन्ध भएकोले भारतीय पर्यटको साथै अन्य मुलुलकका पर्यटकलाई योगका माध्यमबाट जोड्न सकिने बताए।
पर्यटन मन्त्री सुदन किराँतीले भारतीय नागरिकलाई प्राकृतिक सुन्दरताको अवलोकन गर्दै योग गराउने गरी पर्यटन प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए। पोखराबाटै पनि ८ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण प्रथम, धौलागिरी र मनास्लु हिमाल देखिने भएकोले सुन्दर हिमाल पर्वतको काखमा योग गर्ने गरी पर्यटकलाई आकर्षण गर्न सकिने उनले सुनाए।
टेथिस सागरदेखि हिमाल उत्पत्तिको विषय नेपाल र भारतको सम्बन्ध भौगोलिक रुपमा जोडिएको उनले सुनाए। पोखराको पर्यटन विकासका लागि पोखराबाट भारतका विभिन्न सहरसँग सिधा हवाइ उडान गर्नु पर्नेमा किराँतीले जोड दिए।
नेपालको धार्मिक पर्यटनको विकास भइ यसबाट सांस्कृतिक सम्बन्ध अझै गाढा हुने पनि उनले बताए। मानसिक तनाबबाट मुक्त हुन योग महत्वपूर्ण रहेको पनि उनले सुनाए।
कार्यममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ९ औं अन्तर्राष्ट्रिय योग दिवस पोखरामा मनाउन पाउँदा खुशी लागेको बताए। विश्वका धेरै मानिसको योगमा आकर्षण भएको पनि उनले सुनाए। पोखराका धेरै मानिस योग दिवसको कार्यक्रममा आएकोमा निकै खुशी लागेको पनि उनले बताए।
पोखरा पर्यटकका हिसावले महत्वपूर्ण सहर रहेको बताउँदै उनले भारतका विभिन्न सहरबाट पोखरामा धेरै भारतीय पर्यटक आउने गरेको उल्लेख गरे। पोखरामा अब हरेक वर्ष २१ जुनमा योग दिवस कार्यक्रम गरेर मनाउने पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस !
