साम्पाङ सन्देश

साम्पाङ सन्देश
सुन्नुहोस्

खासमा नेता भनेकै नेतृत्व गर्ने हो, आफ्नो अगुवाइमा अरूको मद्दत लिएर काम फत्ते गर्ने हो।

धरान सहरको सबैभन्दा ठूलो समस्या हो खानेपानी अभाव। यही मुद्दालाई लिएर स्थानीय चुनावमा होमिएका हर्क साम्पाङलाई धराने जनताले मेयर निर्वाचित गरिदिए। ठूला र पुराना पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा हर्कलाई कसैले प्रतिस्पर्धी ठानेकै थिएनन्। तर, जनताले उनैलाई चुनेर ठूला पार्टीहरूलाई झापडमात्रै हानेनन्, जनताको आवाज बोल्ने हर्कलाई जिम्मेवारी सुम्पिए। जसै हर्क निर्वाचित भए उनले पुराना पार्टीका उम्मेदवार पहिला–पहिला निर्वाचित हुँदाजस्तो व्यवहार देखाएनन्। चुनावमा आफूले जे प्रतिबद्धता गरेका थिए, त्यसैलाई कार्यान्वयन गर्न दिनरात नभनी लागिरहे। उनको अर्जुनदृष्टि अरू केहीमा नभएर धरानमा खानेपानीको आपूर्ति गर्नेमै रह्यो। धरानमा पानीको दैनिक माग त ३ करोड लिटर हो, चुनाव जितेयता हर्कको अगुवाइमा लाखौं लिटर पानी धरान झरिसकेको छ। पछिल्लो समय उनले कोकाहा खोलाबाट पानी धरान झारे जसका लागि ९८ दिनको श्रमदानको अभियानै चल्यो। मेयर हर्कले सुरुदेखि नै आफैं ढुंगागिटी र बालुवाको काम गरे। गैंची बेल्चा चलाए। जब कि आलोचकहरू मेयरको काम त्यो होइन भन्थे। हर्कले कसैको वास्ता गरेनन्, आफू अघि बढे र जनता उनका पछिपछि भए।

खासमा नेता भनेकै नेतृत्व गर्ने हो, आफ्नो अगुवाइमा अरूको मद्दत लिएर काम फत्ते गर्ने हो। उनको इमान्दार प्रयास र परिश्रमले पानी ल्याउने बाटोघाटोका पहरा र पत्थरहरूमात्रै होइन धेरैको मन पगाल्यो। त्यसैले करोडौं रुपैयाँको श्रमदान र देशविदेशबाट नगदै पनि जम्मा गर्न उनी सफल भए। नेपाली समाज आखिर श्रमदानको संस्कृतिले धनी समाज हो। पछिल्लो समय न अरूको मुख ताक्ने प्रवृत्ति बढेको थियो, हर्कको प्रयासले त्यही नेपाली संस्कृतिलाई पुनरावृत्त गराइदियो। 

धरानको आफ्नै प्रयास र बजेटबाट मात्रै त्यो सहरको तिर्खा मेट्ने गरी आवश्यक पानीको मात्रा पूरा हुन तत्काल सम्भव देखिएको छैन। मेयर साम्पाङले सुरुदेखि भने झैं कोसीकै पानी धरान उकाल्न संघीय सरकारले सघाउन जरुरी छ। देशको एउटा प्रमुख उपमहानगरपालिकालाई पानी पुर्‍याउने जिम्मा संघ र प्रदेश सरकारको पनि हो। ठूला पूर्वाधार र आयोजनामा प्रदेश र संघले पालिकाहरूलाई सघाउनै पर्छ। हर्कले हिँडेको बाटोले प्रदेश र संघलाई घच्घच्याएको छ। उनले धेरैवटा सन्देश एकसाथ दिएका छन्—नेता/जनप्रतिनिधिले जनताकै काममा अर्जुनदृष्टि दिने हो, नेता अघि बढे जनताले साथ दिन्छन्, अर्थात् नेताले आँटे जनताको साथको कमी हुँदैन। मात्रै काम गर्ने इच्छाशक्ति र इमान्दार प्रयासचाहिँ नेतामा चाहिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.